८ वैशाख २०८३, मङ्गलबार

सहकारीहरुलाई कृषि उत्पादन र उद्यमशिलतामा केन्द्रीत हुन आग्रह

२०७० फागुन १९, सोमबार
सहकारीहरुलाई कृषि उत्पादन र उद्यमशिलतामा केन्द्रीत हुन आग्रह

सर्लाही, १९ फागुन । सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारीहरुको पूँजीलाई कृषि उत्पादन र उद्यमशिलतामा लगाउन आग्रह गरेका छन् । सर्लाहीको सदरमुकाम मलंगवामा सोमबार आयोजित सहकारी नियामक निकाय र अभियानकाका अगुवाहरुवीच सम्पन्न अन्तरक्रिया कार्यक्रममा न्यौपानेले उक्त आग्रह गरेका हुन् ।

सहकारीहरु धेरै पैसा गन्नेमा मात्रै केन्द्रीत भएको र यसले अर्थतन्त्रमा खासै योगदान नपुर्याउने भन्दै सामुहिक कृषिजन्य तथा औद्योगिक क्रियाकलापमा लाग्नुपर्ने न्यौपानेको कथन थियो । न्यौपानेले वैदेशिक रोजगारीभन्दा स्वरोजगारीमा सहकारीले लगानी बढाउनुपर्छ, रेमिट्यान्सले अन्ततः मुलुकलाई पराधीन बनाउने बताउँदै गाँऊ गाँऊमा व्यवसायिक खेती, पशुपालन र उद्यमशिलताका अभ्यास गरेर वैदेशिक रोजगारमुक्त गाँऊ बनाउन सके स्थानीय अर्थतन्त्र सवल भई मुलुक आत्मनिर्भर बनाउन सकिने बताए ।

समस्याग्रस्त सहकारीको छानविन आयोगले काम गरिरहेको बताउँदै फट्याई र बदमासी गर्नेलाई नछाडिने तथा त्यस्तो प्रवृत्तिलाई समाजमा उजागर गर्न सके राम्रा काम गर्ने सहकारीहरुको प्रवद्र्धन हुने उनको भनाई थियो । त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारी क्षेत्र नेपाली समाजको रुपान्तरणको अभिन्न विकल्पको रुपमा विकास भई रहेको बताए । सहकारीहरुको प्रभावकारी व्यवस्थापन र नियमनका लागि विद्यमान सहकारी कानूनमा परिमार्जन र छुट्टै बचत तथा ऋण सहकारी ऐनको आवश्यकता औंल्याए । कार्यक्रममा सहकारी विभागका योजना अधिकृत सुरेश जोशी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, जिल्ला कृषि सहकारी संघका अध्यक्ष मानबहादुर खडका, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुण्यप्रसाद उपाध्याय, डिभिजन सहकारी कार्यालय सर्लाहीका प्रमुख रामलक्षण राय, बाराका प्रमुख महेन्द्र राउतलगायतले बोलेका थिए ।

अभिलेख

लोकप्रिय