२२ कात्तिक २०८३, आईतवार

कहाँ छन् सहकारीका नाममा ठग्नेहरु?

२०७४ मंसिर १४, बिहिबार
कहाँ छन् सहकारीका नाममा ठग्नेहरु?

united-citizens-sanchalakharu-768x576

काठमाडौं । सहकारीमार्फत सर्वसाधारणको करोडौँ रकम ठगी गरेर फरार रहेका युनाइटेड सिटिजन्स बहुउद्देश्य सहकारी संस्थाका सञ्चालक अझै पक्राउ परेका छैनन् । बचतकर्ताले ८ करोडबढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको १६ दिन पुगे पनि दोषीलाई पक्राउ गर्न प्रहरी सक्रिय नरहेको पीडितले गुनासो गरेका छन् । बचतकर्ताले संस्थाका अध्यक्ष प्रवीणकुमार शर्मासहित ७ जनाविरुद्ध २८ कात्तिकमा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका थिए ।

उजुरीकर्तामध्ये एक पीडितले भने, ‘हामीले दुःख गरेर बचत गरेको रकम ठगेर सहकारी सञ्चालक फरार भएका छन् । प्रहरीलाई उजुरी पनि दियौँ । १६ दिन बितिसक्यो दोषी पक्राउ परेका छैनन् । प्रहरीको सक्रियतामाथि पनि हामीलाई शंका लाग्न थाल्यो ।’ उजुरी दिएकै दिन प्रहरीले माग अनुसारको सहकारी सञ्चालकहरूको ठेगाना पनि उपलब्ध गराएको उनले बताए । सहकारीका व्यवस्थापक रमेश भट्टराईले छिनछिनमा कुरा फेर्ने गरेको बताउँदै पीडितहरूले दुःखको कमाइ डुब्न लागेकोले प्रहरीले सक्रियता बढाओस् भन्ने आफ्नो चाहना रहेको उनीहरूले बताएका छन् ।

प्रत्येक बिहान उठ्नेबित्तिकै ठगी गर्ने पक्राउ परे कि परेनन् भन्ने चिन्ताले सताइरहने पीडितहरूको भनाइ छ । पीडितले प्रहरीमाथि नै शंका गरिरहेका वेला प्रहरीले भने पीडितलाई न्याय दिन सक्रियताका साथ काम गरिरहेको बताएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारतीले भने, ‘पीडितलाई न्याय दिन हामी खटिरहेका छौँ । दोषी भनिएकाहरूको खोजी जारी छ । तर, सञ्चालकहरूलाई भेटाउन सकेका छैनौँ ।’

प्रहरीको सक्रियतामाथि शंका लागे कार्यालयमै आएर हेर्न सुझाव दिँदै भारतीले भने, ‘प्रहरी सुतेर बसेको छैन, आएर हेरे हुन्छ । हामी महाराजगञ्ज, बौद्ध र इमाडोलका कार्यालयबाट खोजी गरिरहेका छौँ ।’ सहकारीका व्यवस्थापक भट्टराई आफू निर्दोष भएको दाबी गर्छन् । आफ्नै पैसा पनि सहकारीमा डुबेको बताउँदै भट्टराईले भने, ‘मेरो आफ्नै पैसा पनि डुबेको छ । सकेसम्म व्यवस्थापन गर्ने कोसिस गरिरहेको छु, सहकारीको पैसाविना धितो घर जग्गाको कारोबारमा लाएको र ऋण उठाउन नसक्दा संस्था डुबेको हो ।

सञ्चालकहरू सम्पर्कमा हुनुहुन्न । उहाँहरूसँग सम्पर्कमा जाने मेरो प्रयास हुनेछ ।’ सहकारीका सञ्चालक समिति अध्यक्ष शर्मा, सचिव सुधीरकुमार शर्मा, कोषाध्यक्ष मनोजप्रसाद उपाध्याय ढकाल, लेखा सदस्य सुरजकुमार उपाध्याय ज्ञवाली, महिला लेखा सदस्य सुशीला उपाध्याय र व्यवस्थापक रमेशप्रसाद भट्टराईविरुद्ध बचतकर्ताले सामूहिक जाहेरी दिएका थिए ।

२८ कात्तिकमा परेको जाहेरीमा सहकारी ऐन २०७४ अनुसार सहकारी कसुरअन्तर्गत १० वर्ष जेल सजाय र ४ करोड ३६ लाख बिगो असुल गरिपाऊँ भन्दै ८८ जनाले हस्ताक्षर गरेका थिए । सहकारीमार्फत सानाठूला गरी ३ सय ७७ जना ठगिएका छन् । व्यवस्थापकसहित संस्थामा ७ जना कर्मचारी कार्यरत छन् । अहिले संस्थाको कार्यालय बन्द गरिएको छ ।

-सौर्य दैनिक

अभिलेख

लोकप्रिय