१० मंसिर २०८३, बिहिबार

सहकारी क्षेत्रका चुनौती र सुधारको मार्गदर्शनसहित ‘सहकारी अबको बाटो’ सार्वजनिक हुँदै

२०८३ मंसिर १०, बिहिबार
सहकारी क्षेत्रका चुनौती र सुधारको मार्गदर्शनसहित ‘सहकारी अबको बाटो’ सार्वजनिक हुँदै

काठमाडौं : सहकारी क्षेत्रका विद्यमान समस्या, चुनौती र समाधानका उपाय समेटिएको पुस्तक ‘सहकारी अबको बाटो’ सार्वजनिक हुने भएको छ। डा. शहदेव बस्नेतद्वारा लिखित उक्त पुस्तक आगामी मंसिर १२ गते शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गर्न लागिएको हो।

शिखा बुक्सको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान, पुस्तकालय हल कमलादीमा शनिबार दिउँसो १ः२० बजे पुस्तक सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

पुस्तक ‘सहकारी अबको बाटो’ मा सहकारी क्षेत्रका वर्तमान चुनौतीको विश्लेषण गर्दै आगामी दिनमा सहकारी आन्दोलनलाई कुन दिशामा अघि बढाउनुपर्छ भन्ने विषयमा मार्गदर्शन गर्ने प्रयास गरिएको छ।

पुस्तकमा मुख्यतः आठवटा विषय समेटिएका छन् । सहकारीका आधारभूत ज्ञान, सहकारी एकीकरण तथा प्राप्ति (मर्जर एन्ड एक्विजिसन), वित्तीय साक्षरता, आत्मसम्मान पुनर्स्थापना मोडेलसहित ऋण असुली प्रक्रिया, ऋण असुली न्यायाधिकरण (डीआरटी) प्रक्रिया, सहकारी कालोसूची प्रक्रिया, सहकारीमा सम्पत्ति शुद्धीकरण र जोखिम व्यवस्थापन यसका प्रमुख विषय हुन्।

यी विषयमार्फत सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्याको पहिचान गर्दै तिनको समाधानका लागि आवश्यक व्यावहारिक ज्ञान, विधि र मार्गदर्शन प्रस्तुत गरिएको लेखकले बस्नेतले बताउनुभयो।

विशेषगरी ऋण असुली, संस्थागत जोखिम व्यवस्थापन, सम्पत्ति शुद्धीकरण र सहकारी एकीकरणजस्ता विषयलाई समेटिएकाले पुस्तक सहकारीका सञ्चालक, व्यवस्थापक, कर्मचारी तथा सहकारी क्षेत्रसँग सम्बन्धित सरोकारवालाका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

सहकारी आन्दोलन अहिले सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत विश्वसनीयताको चुनौतीबाट गुज्रिरहेको अवस्थामा पुस्तकले सुधारको बाटो पहिल्याउन सहयोग पुर्‍याउने लेखकको अपेक्षा छ ।

सहकारी क्षेत्रलाई विद्यमान समस्या र चुनौतीबाट बाहिर निकाल्दै दिगो, व्यवस्थित र विश्वासिलो दिशामा अघि बढाउन पुस्तक एउटा कोशेढुङ्गा साबित हुने लेखकको विश्वास छ।

लेखक बस्नेतको यो दोस्रो पुस्तक हो । यसअघिको पुस्तक ‘सहकारी ज्ञानसागर’ले सहकारी क्षेत्रका समस्या र नीतिगत सुधारका विषयलाई प्राथमिकता दिएको थियो।

डा. शहदेव बस्नेत प्युठान नगरपालिका–१, प्युठान (खेरा) निवासी हुन् । हाल काठमाडौंमा बसोबास गर्दै आएका उनी बैंकिङ, वित्तीय व्यवस्थापन, जोखिम व्यवस्थापन तथा सहकारी क्षेत्रका जानकार हुन् । बैंक तथा वित्तीय क्षेत्रमा उनीसँग १५ वर्षभन्दा बढीको कार्यअनुभव छ ।

उनले नेपालका वाणिज्य बैंकहरूको कर्जा कार्यसम्पादन, जोखिम व्यवस्थापन अभ्यास तथा नाफासम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । उनीसँग वित्त विषयमा एमबीए र बैंकिङ कानुनमा एलएलबीको शैक्षिक योग्यता पनि रहेको छ ।

अभिलेख

लोकप्रिय