७ असोज २०८३, बुधबार

सहकारीमा समर्पित तीन दशक : नेतृत्वमा बनाएको अलग पहिचान

२०८३ असोज ६, मङ्गलबार
सहकारीमा समर्पित तीन दशक : नेतृत्वमा बनाएको अलग पहिचान

ललितपुरको साविक लुभू गाविस ८ (हालको महालक्ष्मी नगरपालिका ८) शंखादेवीमा एक सामान्य कृषक परिवारमा जन्मिएका हुन्, कुमार खत्री । परिवारको माहिलो सन्तानका रूपमा जन्मिएका उनी यतिबेला सहकारी अभियन्ताका रूपमा स्थापित छन् ।

सामान्य सदस्यबाट प्रवेश गरेका उनी यतिबेला कल्याणकारी साकोस, ललितपुरको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।

आफ्नो जीवनलाई समुदायको विकास र सहकारी आन्दोलनमा समर्पित गरिरहेका उनले पाटन बहुमखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । बाल्यकालदेखि नै जिम्मेवारी, श्रम र इमान्दारिताको संस्कारमा हुर्किए उनले अध्ययनसँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तालिमसमेत प्राप्त गरेका छन् ।

नेफ्स्कुनका विविध कार्यक्रम, तथा सहकारी व्यवस्थापनसम्बन्धी प्रशिक्षणबाट उनले आफ्नो व्यावसायिक दक्षतालाई अझ निखारेका छन् ।

सहकारी यात्राको सुरुवात
२०५२ सालतिरको कुरा हो । एक लक्का जवान । केही त गर्नुपर्यो भन्ने हुटहुटी मनभरि थियो । त्यहीबेला साथी प्रेम घिमिरले उनलाई सहकारीको महत्वबारे बताए । उनैले सहकारी क्षेत्रमा पाइला बढाउन बाटो देखाए । घिमिरेले नै सहकारीका तत्कालीन सचिव लक्ष्मीप्रसाद पराजुलीसँग भेटाए । पराजुलीसँगको भेटले उनलाई यस क्षेत्रमा सक्रिय बन्न प्रेरित गर्यो। त्यही प्रेरणाले उनले सहकारी अभियानमा पाइला राखे । सुरुमा सञ्चालक समिति सदस्यको रूपमा प्रवेश गरेका उनी अब समुदायमा सहकारीको अवधारणा बुझाउन घरघर पुगेर मेहनत गर्न थाले ।

सुरुवाती दिनहरू निकै चुनौतीपूर्ण थिए । आजजस्तो साधन थिएन । सहकारीप्रति जनचेतनाको अभाव थियो, उनीहरूलाई घरघर पुगेर सहकारीबारे सम्झाउनै सकस थियो । हिसाबकिताब राख्न अर्को कठिनाइ । संस्थागत विश्वास निर्माण गर्नु सबैभन्दा ठूलो चुनौती थियो । विशेषगरी जनताको मन जित्ने काम झन् अप्ठेरो थियो । निरन्तरको लगनशीलता, मेहनत र धैर्यले उनले यी चुनौती पार गर्दै आए ।

उचाइतर्फको यात्रा
काम सुरु गरेको दुई वर्षपछि अर्थात् २०५४ सालमा उनी सोही संस्थाको सचिव बने । त्यसबेला संस्थामा आशामैयाँ श्रेष्ठ र भगवती पराजुली काम गर्थे । उनीहरूको साथ, सहयोग निकै रह्यो ।

‘२०५५ सालमा सञ्चालक समितिमा संस्थालाई राम्रोसँग सञ्चालन गर्ने र भोलिको नेतृत्व तयार गर्ने भन्ने सल्लाहअनुसार मलाई कार्यकारी सञ्चालकमा बस्न सञ्चालक समितिले निर्णय गर्यो’, उनले पुराना दिन स्मरण गरे, ‘२०५८ सालमा सञ्चालक समितिले सचिवबाट म व्यवस्थापकमा जानका लागि सुझाव दियो । मैले मानिन पछि फेरि निकै कर गरेपछि मैले स्वीकार गरें ।’

त्यतिबेला संघसंस्थाहरू अहिलेको जस्तो वित्तीय कारोवार गर्दैनथिए । संघहरूमा अहिलेको जस्तो सदस्य संख्या पनि थिएन । संघहरूमा अहिलेको जस्तो सञ्चालक हुन हानथाप/तँछाडमछाडको अवस्था थिएन ।
‘म २०५३/२०५४ सालमा ललितपुर जिल्ला बचत संघको सञ्चालक थिएँ, सहकारी भनेको त्यतिबेला भावनात्मक सम्बन्ध बढी र वित्तीय सम्बन्ध कम हुन्थ्यो’, उनले सम्झिए, ‘कतै हरियो बोर्ड देख्दा आहा ! यो त हाम्रो परिवार हो जस्तो लाग्थ्यो ।’

त्यही आदर्श र स्नेहले उनलाई सहकारी अभियानमा तान्यो । उनको नेतृत्व शैली सहभागितामूलक, पारदर्शी र सुशासनमा आधारित छ । निर्णय प्रक्रियामा सामूहिकता, उत्तरदायित्व र नैतिकताको उच्च प्रयोग गर्ने उनको शैलीले संस्थालाई स्थायित्व र विश्वास दिलाएको पनि छ ।

नेतृत्व शैली

सहभागितामूलक र पारदर्शिता, संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नु उनको मुख्य दर्शन हो । त्यसैले उनले जहिले सामूहिक निर्णय, निर्णयको पालना, सदस्य र सञ्चालकप्रति उत्तरदायी, निर्णयको नैतिक र कानुनी दायित्व वहन गर्नैपर्छ भन्ने सिद्धान्तलाई प्राथमिकतामा राखेका छन् । आफूले निर्णय गर्नुपर्दा पनि यही मान्यताको अनुसरण गर्छन् ।

उनले कहिल्यै पद र शक्तिको रवाफ महसुस गरेनन् र गराएनन । जहिले संस्थाका सदस्यको विश्वास, उच्च व्यवस्थापनसँग निरन्तर छलफल र कर्मचारीहरूलाई क्षमताअनुसार जिम्मेवारी दिने काम गरे । कर्मचारीलाई आवश्यकताअनुसारको तालिम र भ्रमणको व्यवस्था मिलाउनुलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठाने । जसले गर्दा आज उनी उत्कृष्टमध्येका एक व्यवस्थापकमा गनिन पुगेका छन् ।

उपलब्धि र सफलता
उनको नेतृत्वमा संस्थाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । उनी नेतृत्वमा आएयता संस्थाको आफ्नै भवन ठडिन सकेको छ । एक्सेस ब्रान्ड प्राप्त गर्न सफल भएको छ । तीनै तहको सम्बद्ध संघहरू र राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट संस्थाको रूपमा सम्मान प्राप्त गर्न सक्नुको श्रेय पनि उनकै पोल्टामा जान्छ । संस्थाको सदस्यलक्षित सेवालाई सुधार्दै ३६५ दिन सेवा प्रदान गर्नु, डिजिटल प्रविधि (मोबाइल बैंकिङ, एसएमएस, क्यूआर) को प्रयोग र बिहानी सेवाका लागि काउन्टर सेवाजस्ता नयाँ प्रविधि प्रयोगमा ल्याएका छन् ।

चुनौतीसँग जुध्ने क्षमता
समस्याको विश्लेषण गर्ने, एउटै उपायमा नअल्झिएर विकल्पहरू खोज्ने र समाधानको लागि उत्तम विकल्प प्रयोगमा ल्याउने उनको स्वभाव नै बनेको छ ।

‘सकारात्मक परिणाम आए निरन्तरता दिने नभएर अर्को विकल्प प्रयोगमा ल्याउने मेरो बानी नै हो’, उनले भने । संस्थामा जस्तोसुकै संकट आए पनि कत्ति पनि अआत्तिने बरु त्यसलाई अवसरमा परिणत गरेर अघि बढ्नु उनको विशेष क्षमता नै हो भन्दा हुन्छ ।

सञ्चालकहरूको सामूहिक राजीनामा जस्ता कठिन परिस्थितिमा पनि उनले संयमता अपनाउँदै संस्थालाई स्थिर राखे । नियामकीय कडाइलाई स्वीकार गर्दै सुधारमा जोड दिए । कैयौँ आलोचनालाई सुझावका रूपमा लिएर त्यसलाई शान्त पार्दै व्यवस्थापन गर्ने क्षमता र कार्यशैलीकै कारण उनले आफू र संस्थालाई अब्बल सावित गरेरै छाडे ।

जसले गर्दा आर्थिक सबलीकरणका लागि नियमित बचतलाई प्रोत्साहन गरिरहे । सुशासनका लागि विभिन्न नीति र कार्यविधि निर्माणसमेत गरे ।

सामाजिक उत्तरदायित्व

सीईओ खत्रीले सहकारीलाई केवल आर्थिक कारोबारको संस्थाका रूपमा मात्रै हेरेनन्, बुझेनन् । यसलाई एक सामाजिक परिवर्तनको गतिलो माध्यमका रूपमा लिए । समुदायमा व्याप्त गरिबी निवारणका लागि लघु कर्जा, सरल कर्जा, साना व्यवसायीलाई कम ब्याजदरमा लगानी गरेर सदस्यलाई उद्यमीमात्र बनाएनन् । समयसमयमा तालिम सञ्चालन, व्यवसाय केन्द्रित अभिमुखीकरण कार्यक्रम चलाएर सक्षम पनि बनाए ।

‘हामीले वातावरण संरक्षणका क्षेत्रमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि उत्तकै काम गर्यौं’, उनले भने, ‘त्यसका लागि अभियन्ता बनेर होइन ऐन, नियम, विनियम, नीतिभित्र रहेर दैनिक कार्य सञ्चालन गरेका छौं ।’

त्यसका लागि उनी मनले चिताएको होइन साधारणसभा, रणनीतिक योजना, सञ्चालक समितिको निर्णयअनुसार अघि बढ्छन् । पारदर्शिता उत्तिकै अपनाउँछन् ।

यो सबै गर्नमा उनलाई सदस्य नै मालिक हुन् भन्ने भावले प्रेरित गर्छ । लोकतान्त्रिक सहभागिता, लाभको न्यायोचित वितरण अर्थात् सदस्यहरूद्वारा सदस्यको लागि र सदस्यकै हितमा सहकारी केन्द्रित हुनुपर्छ भन्ने उनको आदर्श हो ।

भविष्यप्रतिको दृष्टि
अप्ठेरो, अस्थिरता र घाटा स्थायी हुँदै होइन, संस्था जीवन्त प्रक्रिया हो भन्ने उनको दृढ मान्यता छ । मुख्य कुरा आन्तरिक पुँजीलाई वृद्धि गर्नेतर्फ उनी र उनको संस्थाको उद्देश्य केन्द्रित छ । उनलाई यो पनि थाहा छ कि सहकारी अभियानको भविष्य सुखद नहुन सक्छ ।

‘तर पवित्र उद्देश्य र नियत सफा राखेर समयको मागसँगै प्रविधिमैत्री र परिस्कृत हुने हो भने भविष्य कम उज्ज्वल पनि छैन’, सीईओ खत्रीले भने ।

नयाँ पुस्तालाई उनी विश्वासको वातावरण सिर्जना गर्दै र प्रविधिमैत्री सेवा, हाइटेक र हाई टचको अवधारणा लिएर अगाडि बढियो भने भविष्य उज्ज्वल छ भन्न रुचाउँछन् ।

निजी कुरा
संस्थालाई कर्मको धर्ती सम्झने उनी घरलाई मन्दिर ठान्छन् । परिवारसँग रमाउनु र करेसाबारीमा काम गर्नु उनका लागि निकै अनुपम क्षण लाग्छ । त्यसबाहेक उनी पढ्न रुचाउनेमध्येमा पर्छन । रामायण, महाभारतलगायत दर्शनशास्त्र र जीवन दर्शनका पुस्तक पढ्नु उनको आदत नै हो । व्यक्तिका रूपमा नेल्सन मण्डेला, महात्मा गान्धी उनका मनपर्ने आदर्श व्यक्तित्व हुन ।

हनुमान चालिसाजस्तो मन्त्र उनी सधैं गुनगुनाउँछन् । जीवनमा आइपर्ने समस्या र तनाव व्यवस्थापन उनी बिहान पूजा आराधना र साँझ ध्यान गरेर निस्तेज पार्छन् । बिदाका दिन खेतबारीमा भुलिनु उनको रुचि हो ।

सन्देश
नयाँ सहकारी नेतृत्वकर्तालाई उनी पदको घमण्ड नगरी, लोभ र स्वार्थ नराखी काम गरेमा एक दिन सफलताको सिँढी चढिने ग्यारेन्टी गर्छन् । उनी आफू पनि कार्यरत संस्थाको शतप्रतिशत सदस्यको दायित्वको जिम्मेवारी लिने प्रण गर्छन् ।

उनी सफल सीईओ हुनुमा पदले नभएर प्रभावले सम्भव हुने बताउँछन् । आफूमात्र होइन अरुलाई पनि सफल बनाउनु नै वास्तविक सफलता हुने उनको मत छ ।

सम्मान तथा पुरस्कारहरू


उत्कृष्ट व्यवस्थापक (नेफ्स्कून) आ.व. २०७३/०७४
उत्कृष्ट व्यवस्थापक (प्रोस्कून) २०७९/०८०
उत्कृष्ट व्यवस्थापक (बागमती प्रदेश सहकारी संघ) २०८०/०८१
उत्कृष्ट सहकारी संस्था (नेफ्स्कून) २०७५/०७६
उत्कृष्ट सहकारी संस्था (बागमती प्रदेश सहकारी संघ) २०७९/०८०
उत्कृष्ट सहकारी संस्था (ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.) २०७२/०७३
उत्कृष्ट सहकारी संस्था (राष्ट्रिय सहकारी बैंक लि.) २०६९

अभिलेख

लोकप्रिय