२१ भदौ २०८३, आईतवार

ज्योति मिर्मिरेको सदस्य सेवा केन्द्र स्थानान्तरण, स्थानीय विकासमा सहकार्य गर्ने प्रतिबद्धता

२०८३ भदौ २१, आईतवार
ज्योति मिर्मिरेको सदस्य सेवा केन्द्र स्थानान्तरण, स्थानीय विकासमा सहकार्य गर्ने प्रतिबद्धता

काभ्रेपलाञ्चोक (बेथानचोक) : सहकारीको सेवा केवल बचत गर्ने र ऋण लिने सीमामा रहँदैन । सदस्यको आवश्यकता बुझ्दै सीप, उद्यम र स्वरोजगारसँग जोडेर आर्थिक रूपमा सक्षम बनाउने दायित्व पनि सहकारीकै हो। यही सोचलाई व्यवहारमा उतार्ने उद्देश्यसहित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बेथानचोक-२ स्थित सदस्य सेवा केन्द्र स्थानान्तरण गर्दै स्थानीय जनप्रतिनिधि र सदस्यसँग अन्तर्क्रिया गरेको छ।

संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्व तथा बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. २ र ५ का वडा अध्यक्षसहित जनप्रतिनिधि, सञ्चालक समिति, सेवा केन्द्र सञ्चालन उपसमिति, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख तथा शेयर सदस्यहरूको सहभागिता थियो।

कार्यक्रममा सहकारी र स्थानीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै स्थानीय आर्थिक सम्भावनालाई सदस्यको समृद्धिसँग जोड्ने विषयमा विशेष जोड दिइयो।

प्रमुख अतिथि तारा राना तिमल्सिनाले सदस्य केन्द्रित सेवा, उद्यमशीलता प्रवर्द्धन र उत्पादनमूलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सहकारी सुशासन र वित्तीय अनुशासन कायम गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निर्देशन तथा नियामकीय व्यवस्थाको पालना गरेर अघि बढ्न उनले संस्थालाई सुझाव दिनुभयो।

वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले सहकारीमार्फत सीप, उद्यम र स्वरोजगार प्रवर्द्धन गरी स्थानीय नागरिकको आर्थिक आत्मनिर्भरता बढाउन सकिने बताए। सदस्यलाई सहज वित्तीय सेवा प्रदान गर्ने संस्थाको अभियानमा वडा कार्यालयको निरन्तर सहयोग रहने उनले प्रतिबद्धता जनाउनुभयो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले ज्योति मिर्मिरेले सदस्यलाई केवल बचतकर्ता वा ऋणीका रूपमा नभई आर्थिक गतिविधिको सक्रिय साझेदारका रूपमा विकास गर्न खोजेको बताए। स्थानीय स्रोत, साधन र सम्भावनाको पहिचान गरी कृषि, पशुपालन, घरेलु तथा साना उद्यमजस्ता उत्पादनमूलक क्षेत्रमा सहकारीमार्फत सहजीकरण गर्ने संस्थाको प्राथमिकता रहेको उहाँको भनाइ छ।

त्यस्तै, अध्यक्ष उद्धव सापकोटाले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौतीसँगै सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको महत्व बढेको बताए। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठनसँगै नियमनलाई थप व्यवस्थित बनाउने प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले संस्थाले नियामकीय व्यवस्था र सुशासनलाई आत्मसात् गर्दै सदस्यको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गरिरहेको बताउनुभयो।

सेवा केन्द्र संयोजक चन्द्रप्रसाद तिमल्सिनाको सञ्चालन तथा रामप्रसाद तिमल्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नयाँ स्थानबाट बेथानचोक क्षेत्रका सदस्यलाई अझ सहज, छिटो र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सेवा केन्द्रको स्थानान्तरणलाई संस्थाले भौतिक स्थान परिवर्तनका रूपमा मात्र नभई सदस्यसँग अझ नजिक पुग्ने र स्थानीय आर्थिक विकासमा सहकारीको भूमिका विस्तार गर्ने अवसरका रूपमा लिएको छ। सहकारी, स्थानीय सरकार, जनप्रतिनिधि र सदस्यबीचको सहकार्य बलियो बनेमा स्थानीय स्रोत र सम्भावनालाई उत्पादन तथा रोजगारीसँग जोड्न सकिने विश्वाससमेत कार्यक्रममा व्यक्त गरिएको छ।

अभिलेख

लोकप्रिय