८ कात्तिक २०८३, शनिवार

विपद्‍मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग

२०८३ भदौ १८, बिहिबार
विपद्‍मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राहत तथा पुनःस्थापनाका लागि ६ लाख ११ हजार ५ सय ६० रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले दिवंगतप्रति श्रद्धाञ्जली तथा बेपत्ताको खोजी र घाइतेको शीघ्र उपचारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ। साथै, प्रभावितको उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।

सहकारीको सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। संस्थाका अनुसार ६१ हजार १ सय ५६ जना शेयर सदस्यबाट प्रतिव्यक्ति १० रुपैयाँका दरले हुन आउने रकम, कर्मचारीको एक दिनको पारिश्रमिक तथा सञ्चालक समिति र उपसमितिका बैठक भत्ताबाट प्राप्त रकमलाई सहयोगमा समेटिएको हो। अपुग रकम भने संस्थाले व्यहोरेको जनाएको छ।

बिन्धवासिनी साकोसले २०८३ भदौ १८ गते उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको हो।

विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वसँगै मानवीय धर्मसमेत भएको बिन्धवासिनी साकोसले जनाएको छ।

संस्थाले सहकारीहरू वित्तीय कारोबार र सदस्य सेवामा मात्र सीमित नभई विपद् तथा संकटका समयमा समुदायको साथमा उभिनुपर्ने सन्देशसमेत दिएको छ। साथै, आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबै सहकारी तथा सरोकारवालालाई आग्रह गरेको छ।

अभिलेख

लोकप्रिय