१७ भदौ २०८३, बुधबार

भोटेकोशी बाढीपीडितको राहतमा रामकोट साकोसको हातेमालो

२०८३ भदौ १७, बुधबार
भोटेकोशी बाढीपीडितको राहतमा रामकोट साकोसको हातेमालो

काठमाडौं : सहकारिताको मूल मर्म आपसी सहयोग, सहकार्य, एकता र समुदायप्रतिको उत्तरदायित्वमा निहित छ। सदस्यको आर्थिक तथा सामाजिक हितमा मात्र सीमित नरही समुदाय र समाजको सुख–दुःखमा साथ दिनुपर्ने सहकारीको यही मान्यतालाई व्यवहारमा उतार्दै धादिङस्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ८० हजार १० रुपैयाँ सहयोग गरेको छ।

२०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकमयोगदान गरेको हो।

बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति संस्थाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सहकारी संस्थाहरू बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई समुदायको आवश्यकता र संकटमा समेत जिम्मेवार साझेदार बन्नुपर्ने मान्यतालाई आत्मसात् गर्दै सञ्चालक समिति, कर्मचारीहरु, सदस्यहरुबाट उक्त सहयोग गरेको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त ‘समुदायप्रतिको सरोकार’ तथा पारस्परिक सहयोगको भावनालाई आत्मसात् गर्दै गरिएको यस योगदानले सहकारी संस्थाको सामाजिक भूमिकालाई समेत उजागर गरेको छ। विपद्को समयमा एकअर्काको दुःखमा साथ दिनु नै सहकारिताको वास्तविक अर्थ भएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

अभिलेख

लोकप्रिय