१६ भदौ २०८३, मङ्गलबार

बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग

२०८३ भदौ १६, मङ्गलबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले दुःख व्यक्त गर्दै विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ।

सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व र सामुदायिक विकास कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५३ हजार २२२ रुपैयाँ सहयोग गरेको हो।

संस्थाका अध्यक्ष केशवप्रसाद ढकाल र प्रबन्धक रविन्द्र रानाद्वारा जारी सूचनाअनुसार उक्त रकममध्ये संस्थाको तर्फबाट २ लाख २२ हजार २२२ रुपैयाँ र कर्मचारीहरूबाट ३१ हजार रुपैयाँ योगदान गरिएको हो।

सहकारिताको मूल मर्म नै समुदायको सुख–दुःखमा साथ दिनु भएकाले विपत्तिको यस घडीमा पीडित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा आफ्नो तर्फबाट सहयोग गरिएको संस्थाले जनाएको छ।

प्राकृतिक विपत्तिबाट भएको मानवीय क्षति र नागरिकको पीडा कुनै एक परिवार वा समुदायको मात्र नभई सबैको साझा दुःख भएको उल्लेख गर्दै संस्थाले कठिन समयमा एकअर्काको सहारा बन्नु नै मानवताको महत्वपूर्ण दायित्व भएको जनाएको छ।

सगुन साकोसले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

संस्थाले विपत्तिको घडीमा राहत तथा पुनःस्थापनाका लागि नागरिक, व्यवसायी, उद्योग, बैंक तथा विभिन्न संघ–संस्थालाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नसमेत अपिल गरेको छ।

अभिलेख

लोकप्रिय