आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
२०३९ साल जेठ १५ गते काभेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ४ डिहीगाउँमा पिता विदुर श्रेष्ठ र माता सन्तमायाँ श्रेष्ठको कोखबाट उनको जन्म भएको थियो । सामान्य मध्यम वर्गीय परिवारमा उनका एक भाइ र तीन बहिनी छन् । न्युक्लियर परिवारमा रहेका उनी श्रीमती दुई छोरी र एक छोरासाथ चन्द्रागिरि नगरपालिका–३, आयल निगम रोडमा बस्छन् । फुर्सद परिवारलाई खर्चिन्छन् । पुस्तकहरू पढ्छन, नयाँ विषयहरू खोज्छन्, नयाँ ठाउँहरू विचरण गर्छन् र कहिलकाहीँ सामाजिक क्रियाकलापमा सहभागी हुन्छन् । ‘मलाई इतिहास र जीवनोपयोगी पुस्तकहरू पढ्ने सुन्न मन पर्छ’, अभिरुचिहरू सुनाए उनले, ‘आजकलको मेरो अडिक्सन अडियो पुस्तक बनेको छ । पछिल्लो एक महिनामा मात्रै मैले तीन वटाभन्दा बढी अडियो बुक्स बुत्याएँ । पढेकाहरूमध्ये भने पेसासँग पनि मिल्दोजुल्दो भएर होला नेपोलियन हिलको थिंक एन्ड ग्रो रिचले रन्थन्यायो ।’
स्नातकोत्तरसम्मको औपचारिक अध्ययन सकेका उनी अरू प्रमाणपत्र पनि थप्न खोज्दैछन् । पेसागत विशिष्टताका लागि सन् २०१७ मा दक्षिण कोरियाको क्रेडिट युनियनहरूको केन्द्रीय संघ नाकुफोकबाट एसियन क्रेडिट युनियन लिडर कोर्स, सन् २०१६ मा एसियाली ऋण महासंघबाट डेभलपमेन्ट एडुकेटर कोर्स, त्यहीबाटै सन् २००८ मा सुशासन कार्यढाँचा, सन् २०१२ मा लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धिसम्बन्धी तालिम, सन् २०१४ मा जोखिममा आधारित सुपरिवेक्षणसम्बन्धी अन्तर्राष्ट्रिय तालिमहरू लिएका छन् । आफूलाई तिखारेका छन् । उनी म्यानेजर्स कम्पिटेन्सी कोर्सको नेपालमा पहिलो ब्याची हुन् भने सन् २००३ मा ४७२ घण्टाको तालिम सहजीकरण र तालिम निर्देशिका तयारीसम्बन्धी कोर्स पनि उनले पूरा गरेका छन् ।
पर्सनल र प्रोफेसनल जीवनको आत्मिक सन्तुष्टिसँगै उनले २०६८ र २०८० सालमा नेफ्स्कुनले प्रदान गर्ने उत्कृष्ट व्यवस्थापक पुरस्कार, २०८२ सालमा बागमती प्रदेश सहकारी संघद्वारा बागमती प्रदेशभरबाट उत्कृष्ट व्यवस्थापक सम्मान र २०७४ सालमा जिल्ला सहकारी लि. दोलखाबाट जिल्लाको उत्कृष्ट व्यवस्थापक पुरस्कार पनि प्राप्त गरेका छन् । र, देशभित्र अनि बाहिरका सहकारीका फोरमहरूमा कार्यपत्रहरू प्रस्तुत गरिसकेका छन् । हो, उनी नेपालका सुपर सीईओहरूमध्येका एक हुन् अर्थात्–चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णकुमार श्रेष्ठ ।
सहकारीः प्रवेश, प्रभाव अनि प्रेरणा
एसएलसीपछि थप अध्ययनको लागि गाउँ छोडेर पनौती झरे । सँगै करिअरको ‘कार’ पनि गुडाउनुपर्छ भनेर अवसरको ‘ट्रायल’ दिन थाले । त्यही मेसोमा एक दिन काम विशेषले उनको घर पुगेका उनलाई पढाउने एक जना गुरुले सोधे, कृष्ण, काम गर्ने हो ?
काम खोजिरहेका कृष्णकुमारले नाइँ किन भन्थे र । ‘त्यसो हो भने सहकारीमा कोसिस गर’ भनी एउटा सहकारीमा रोजगारीको अवसरबारे गुरुले बताइदिनुभयो । कृष्णकुमारले केही समय विचार गरेर दरखास्त दिए । परीक्षा भयो उनी छानिए ।
यो २०५६ सालतिरको कुरा हो । त्यो सालको असोज २० गतेबाट उनी सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.मा जागिरे भए । उनले भने, ‘मैले सुरुदेखि नै पढाइ र करिअर सँगै अघि बढाएँ ।’ सामुदायिक साकोसमा उनी समुदाय सहजकर्ता थिए । पद भने बचत तथा ऋण उत्प्रेरक थियो । संस्थाको कार्यक्षेत्रभित्र घर घर, टोल टोल र गाउँ गाउँमा जान्थे, सहकारीको कुरा गर्थे, बचत गर्न प्रेरित गर्थे, ऋण लिन सुझाउँथे । उनी सम्झन्छन्, ‘मेले त्यतिखेर धेरे सदस्य बचतकर्ताहरूलाई सामुदायिक साकोसमा आबद्ध गराएको थिएँ ।’
सहकारीमा काम गर्दा परेको प्रभाव कुष्णकुमारले यसरी साटे, ‘मेरो जीवनमा सहकारी क्षेत्रमा काम सुरु गर्दा देखिएका चुनौतीपूर्ण परिस्थितिहरूले नै मलाई सबैभन्दा अधिक प्रभावित पार्याे । विशेषगरी बचत नै गर्न नजान्ने, सानो सानो रकम चाहिँदा पनि जोहो गर्न नसक्ने, आज कमायो आजै सक्ने, कमाइभन्दा धेरै खर्च गर्ने तथा औपचारिक वित्तीय पहुँचबाट बञ्चित समुदायका सदस्यहरूको संघर्षले मलाई गहिरोसँग छोयो । यसले मलाई करिअरको सुरुवाततिर नै सहकारी भनेको केवल संस्थामात्र नभएर समाज परिवर्तनको माध्यम हो भन्ने अनुभूति गरायो ।’
सुरुवाती संघर्षहरू
सुरुवाती दिनहरू कम चुनौतीपूर्ण थिएनन् । कृष्णकुमार सम्झन्छन् ‘सामुदायिक साकोस त्यतिखेर भरखरै ग्रोथ गर्दै थियो । ब्यालेन्स सिट १०/१५ लाखभित्र थियो । सदस्य संख्या दुई सय प्लस थियो । त्यसैले काम लगभग स्वयमसेवी झैं थियो । त्यसमाथि सीमित स्रोतसाधन, समुदायमा सहकारीप्रतिको विश्वासको आयातन र व्यवस्थापनसम्बन्धी अनुभवको अल्पता संघर्षका बेस्ट फ्रेन्ड थिए ।’ उनले सदस्यहरूलाई सहकारीको मर्म बुझाउने, बचत तथा ऋणप्रति जिम्मेवार बनाउने र संस्थागत अनुशासन कायम गर्ने काममा आफूलाई खर्चिए । साथै, प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा संस्थालाई स्थायित्व दिनु अर्को महत्वपूर्ण चुनौती थियो । त्यतिखेरसम्म त्यहाँ उनीभन्दा वरिष्ठ दुई जना कर्मचारी कार्यरत थिए । उनी सम्झन्छन्, ‘त्यसबेला उहाँहरू, तत्कालीन सञ्चालकहरू र समुदायको साथ, सहयोग र विश्वासले मलाई चुनौतीहरूको सामना गर्दै अझ सिक्ने, नेतृत्व क्षमता विकास गर्ने र सदस्य केन्द्रित काम गर्न प्रेरणा दियो ।’

डेढ वर्षमै छोड्ने मुडमा
सहकारी प्रवेशको करिब एक डेढ वर्षपछि नै उनी क्षेत्रनै छोड्ने मुडमा पुगेका थिए । खासमा उनी अलमलमा थिए । ‘यो क्षेत्र दिगो होला कि नहोला भन्ने दोधारमा थिएँ म’, उनी भन्छन्, ‘एक मनले सहकारी क्षेत्रबाट बिदा लिने सोचमा पुगेको थिएँ तर त्यतिखेर सामुदायिकका अध्यक्ष दीपक थापाले मलाई आश्वस्त पार्नुभयो । उहाँले करिअर बनाउन उपयुक्त क्षेत्र सहकारी हो भनेर । मलाई विभिन्न तालिमहरूमा पनि पठाउनुभयो । म आफूले पनि आफूलाई निखार्दै लगेँ, दुःख गर्दै गएँ । र, परिणामतः व्यवस्थापन प्रमुखको जिम्मेवारी पाएँ । संस्था ग्रोथ हुँदै गयो । गरेका कामहरू सफल हुँदै गए । सञ्चालकहरूले विश्वास गर्नुभयो । सदस्यहरूले भरोसा गर्नुभयो । विस्तारै सेवासुविधा र स्रोतसाधनहरू पनि राम्रो हुँदै गयो र यो क्षेत्रमा दिन, महिना र वर्षहरू बितेको पत्तो नै भएन ।’ यसबीच धेरै अन्य क्षेत्रहरूबाट रोजगारीका आकर्षक अफरहरू आए पनि समुदायसँग जोडिएर काम गर्ने नशाले सहकारी छोड्न नसकेको उनी बताउँछन् ।
सफलताहरूको सिँढी उक्लँदै
सामुदायिक साकोसमा उनले करिब १६ वर्ष काम गरेँ । त्यहाँ संस्थागत विकासमा खुब परिश्रम गरे । साथ पनि पाए, सफल पनि भए । ‘मेरो कार्यकालमा सामुदायिक साकोसले नेपालमा पहिलो पल्ट ब्रोन्ज स्तरको अन्तर्राष्ट्रिय एक्सेस ब्रान्डिङ प्राप्त गर्यो,’ उनले सफलताको सुस्केरा हाले, ‘करिब एक अर्ब नजिकको कुल सम्पत्ति र १२ हजार जना सदस्य पुगेँ । त्यस अवधिमा सामुदायिकले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार र मुलुककै उत्कृष्ट साकोस सम्मान प्राप्त गर्यो भने म उत्कृष्ट व्यवस्थापक ठहरिएँ । त्यसपछि मैले दोस्रो व्यवस्थापन नेतृत्व तयार पारेर अलि जोखिम लिएर काम गर्ने मनसायले दोलखा जिल्लाको जनसचेतन साकोस रोजेँ ।’ त्यो उनको दोस्रो सत्र थियो सहकारीमा ।
जनसचेतना साकोसमा उनले करिब तीन वर्ष काम गरे । त्यसबीच, व्यवस्थापकीय सूधारका उल्लेखनीय काम भएको उनले सुनाए । ‘निष्क्रिय कर्जा घटाउन, वित्तीय संरचनाहरू व्यवस्थापन गर्न, संस्थागत पुँजी वृद्धि गर्न राम्रो मेहनत गरेँ,’ उनले भने, ‘वासलात र सदस्य संख्या उल्लेख्य बढ्यो । अमेरिका निवासी एक जना सहृदयी मित्र डा. शंकर घिमिरेको सहयोगमा Western Illinois University (जहाँ शंकर घिमिरेजी प्राध्यापन गर्नुहुन्छ) का विद्यार्थीहरू संलग्न गराई इम्प्याक्ट सर्भे गर्ने कार्य गरियो । यस सर्भेक्षणले दोलखा जिल्लाभित्र जनसचेतन साकोसका सदस्यहरूको जीवनस्तर सुधार्नको लागि उक्त संस्थाको भूमिका रहेको पुष्टि गर्यो । त्यस अवधिमा जनसचेतनले पनि सिल्भर स्तरको अन्तर्राष्ट्रिय एक्सेस ब्रान्ड प्राप्त गर्यो ।’
सहकारीमा तेस्रो इनिङको सुरुवात कृष्णकुमारले २०७५ सालदेखि काठमाडौं थानकोट चेकपोष्टस्थित चन्द्रागिरि साकोसबाट गरे । ‘यहाँ अलि कडा मेहनत गरिरहेको छु’, अवस्था चित्रण गरे उनले, ‘पछिल्लो समय सहकारी क्षेत्रमा देखा परेको विचलनहरूले गर्दा राम्रोसँग सञ्चालन भएका संस्थाहरूलाई चुनौती महसुस भएको छ । देशको राजधानी काठमाडौं उपत्यकाबाट सहकारीको असल अभ्यासको सन्देश जाने गरी कार्य गर्ने प्रयास गरिहेका छौं । वित्तीय सूचकांकहरूमा सुधार गर्ने कार्यमा जोड दिएर काम भइरहेको छ । संकटको समयमा समेत अविचलित भई संस्थालाई टिकाउँदै अगाडि लगिएको छ । सदस्य सेवालाई विशेष प्राथमिकता दिँदै डिजिटल रूपान्तरणमा सेवाहरूलाई ढालिएको छ ।’
पछिल्ला उपलब्धिहरूको फेहरिस्त उनले लगाए, ‘एटीएम, मोबाइल बैंकिङ, डिपोजिट मेसिन, ट्याब बैंकिङमात्र नभएर पछिल्लो समय सार्वजनिक यातायात भाडासमेत डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रविधि चन्द्रागिरि साकोसले नेपालमै पहिलो पल्ट सुरुवात गरेको छ । यस अवधिमा संस्थाले काठमाडौं जिल्लाभरको उत्कृष्ट संस्था सम्मान, उत्कृष्ट व्यवसाय पुरस्कार, संकटमा सेवासम्बन्धी पुरस्कार, देशभरिको उत्कृष्ट व्यवस्थापक पुरस्कार आदि पुरस्कार तथा सम्मान प्राप्त गरेको छ । चन्द्रागिरि साकोसले यस अवधिमा पाँच वटा अन्य सहकारी संस्थाहरूसँग एकीकरण गरेको छ ।’
सफलता साझा प्रयासमा
हालसम्म तीन वटा उत्कृष्ट सहकारी संस्थाको व्यवस्थापन अनुभव बोकेका कृष्णकुमार आफ्नो नेतृत्व शैली वा दर्शन सदस्य केन्द्रित, पारदर्शी सहभागितात्मक भएको बताउँछन् । कुनै सहकारी संस्थाको सफलतामा सबैभन्दा बढी भूमिका व्यवस्थापनको हुन्छ । सहकारीका सञ्चालक, सदस्यहरू, कर्मचारीहरू र सरोकारवालाहरूको पनि उत्तिकै योगदान हुन्छ । र वास्तवमा सहकारीको सफलता भनेको यो सबै पक्षको साझा प्रयास हो भन्छन् उनी । नेतृत्व भनेको निर्देशन दिने र अधिकारको प्रयोग गर्नेमात्र हैन । यो त आफ्नो टिमलाई प्रेरित गर्ने, जिम्मेवारीहरूको उचित बाँडफाँड गर्ने र एकताबद्ध भएर साझा लक्ष्य हासिल गर्ने प्रक्रिया हो । कृष्णकुमार यसलाई सही ठान्छन् र भन्छन्, ‘मैले सधैं आफूले काम गरेको सहकारी संस्थाहरूलाई दिगो, उत्तरदायी, नवप्रवर्तनशील बनाउने दिशामा विशेष जोडले काम गरेको छु ।’
निर्णय–आवेशमा होइन आवश्यकताको आधारमा
संकट नै नेतृत्वको असली परीक्षा हो । कृष्णकुमारको हकमा उनी संकटको बेलामा आफूलाई सबैभन्दा बढी शान्त बनाउने प्रयास गर्छन् ताकि निर्णय लिँदा आवेशमा आएर हैन कि आवश्यकताको आधारमा लिन सकियोस् । अर्कोतर्फ, समस्याहरूको वस्तुगत विश्लेषण गरी आवश्यकताको आधारमा कतिपय अवस्थामा शीघ्र निर्णय लिनुपर्दा पनि विवेकपूर्ण ढंगले जिम्मेवारी सम्झिएर काम गर्ने गरेको उनी सुनाउँछन् ।
‘साधारणतया म निर्णय गर्दा नैतिकता, कानुनी अनुपालना र संस्थाको स्थायित्वलाई ध्यानमा राखेर गर्छु,’ उनी भन्छन्, ‘सही कुराको निर्णय लिने क्रममा अरु रिसाए पनि म प्रभावित हुन्नँ । गलत लागेको कुरामा म ढुक्कसँग नो भन्न सक्छु । मसँग रिसाएका र खुसी भएका सबैसँग सन्तुलित व्यवहारको प्रयास गर्छु । कसैसँग व्यक्तिगत अहम् राख्दिनँ । उनीहरूलाई म प्रायः माफ गर्छु । निर्णयहरू तथ्य, तथ्यांक र अवस्थाको समीक्षा गरेर गर्छु । कुरा म प्रायः सबैको सुन्छु तर निर्णय गर्ने बेला प्रभावित नभई सही निर्णय गर्ने प्रयास गर्छु ।’

दबाब र तनावमा उनी सबैभन्दा बढी समय व्यवस्थापनमा ध्यान दिन्छन् । भन्छन्, ‘समय व्यवस्थापनका लागि म ज्येन यागरको वर्क लेस, डु मोर किताबबाट प्रभावित छु । यसको अलावा दैनिक गरिने बिहानीको हिँडाइ, मनलाई शान्त पार्न गरिने योग प्राणायामले पनि धेरै सहयोग गरेको महसुस हुन्छ । कहिलेकाहीँ म कार्यस्थलमै २/३ मिनेट भए पनि आँखा चिम्लेर श्वासप्रश्वासको अभ्यास र शारीरिक क्रियाकलापसमेत गर्छु ।’
मानिसहरूको क्षमता पहिचान गरेर उपयुक्त जिम्मेवारी र अवसरहरू दिने उनको बानी छ । टिम निर्माणको लागि कर्मचारीहरूको बीचमा विश्वास, सम्मान र स्पष्ट संरचनालाई मुख्य आधार मान्छन् । कर्मचारीहरूले करियर देख्ने नीतिगत व्यवस्थाको प्रयास कृष्णकुमार गर्छन् । कार्यसम्पादनमा आधारित उत्प्रेरणात्मक वातावरण सिर्जना गर्छन् । ‘जस्तै म अहिले काम गरिरहेको चन्द्रागिरि साकोसमा’, उनले असल अभ्यास सुनाए, ‘हरेक महिना कार्यसम्पादनको आधारमा स्टार अफ द मन्थ पुरस्कारबाट कर्मचारीहरूलाई पुरस्कृत गर्ने गरेको छौं ।’
संस्थागत सुधारका परिकारहरू
चन्द्रागिरि साकोसभित्र वित्तीय अनुशासन र पारदर्शितालाई सुदुढ गरिएको दाबी सीईओ कृष्णकुमार दाबी गर्छन् । संस्था सञ्चालनका लागि आवधिक रणनीतिक योजना, वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी बजेट र कार्यक्रमको सीमाभित्र रही कार्यहरू गर्दै आएको उनले बताए ।
त्यसैगरी संस्थाले व्यावसायिक योजना, व्यवसाय निरन्तरता योजनासहित संकटको समयमा समेत सदस्यहरूको सेवा निरन्तरताको सुनिश्चित हुने प्रणाली सृदृढ गरेको छ । अनि, मुख्य कुरा संस्थाले जोखिम व्यवस्थापनमा विशेष ध्यान दिएको छ । ‘निष्क्रिय कर्जा घटाउन धेरै मेहनत भएको छ,’ उनले सुनाए, ‘साथै व्यवस्थापन र नेतृत्वका भूमिकालाई स्पष्ट रूपमा परिभाषित गरी एकअर्काको भूमिकामा हस्तक्षेप नहुने वातावरण निर्माण भएको छ ।’
सदस्यहरूमा संस्थाप्रति अपनत्व भाव विकास गर्न भएका प्रसायहरूबारे कृष्णकुमारले भने, ‘चन्द्रागिरि साकोसमा सदस्य भएपछि एक तहसम्मको सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रयास गरेका छौं । जस्तै एम्बुलेन्स सेवा, शववाहन सेवा निःशुल्क रूपमा प्रयोग गर्न पाउने, त्यसैगरी वार्षिक ५० हजारसम्म उपचार खर्च सुविधा प्राप्त हुने, ७ देखि ९ हजारसम्म सुरक्षित मातृत्व सुविधा प्राप्त हुने, मृत्यु हुँदा २० हजारसम्म काजक्रिया खर्च प्राप्त हुने र घातक रोगहरूमा समेत सुविधा प्रदान गर्ने गरिएको छ ।’
सफल सहकारी: असल सीईओ
सहकारीलाई सफल बनाउन समुदायप्रतिको चासो, सदस्य केन्द्रित दृष्टिकोण, नवप्रवर्तन तथा सुशासनलाईलाई मुख्य रणनीति बनाइनु पर्दछ । यो चन्द्रागिरिका सीईओ कृष्णकुमारको ठम्याइँ हो । ‘यति भयो भने सहकारीमा काम गर्ने कर्मचारीहरूले पूर्ण रूपमा समर्पित भएर काम गर्दछन्, ‘उनी भन्छन्, ‘सदस्यहरूको बचतलाई सुरक्षितपूर्वक सदस्यहरूलाई नै लगानी गरिन्छ । कुनै पनि सञ्चालक वा कर्मचारीले संस्थाको रकम हिनामिना गर्न नसक्ने प्रणाली अवलम्बन गरेका छौं ।’ प्रत्येक निर्णय र सेवा सदस्यहरूको हितलाई केन्द्रमा राखेर गर्ने गरिएको बताउँदै सदस्यहरू केवल सेवाग्राहीमात्र हैनन्, सहकारीका मालिक र साझेदार हुन् भन्ने सोचलाई व्यवहारमा उतार्न खोजिएको उनले बताए ।

त्यस्तै, प्रविधिमा पनि चन्द्रागिरिले मिहेनत गरेको सहकारी वृत्तमा चर्चा हुने गरेको छ । संस्थाले प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ । कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, एटीएम, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, सार्जजनिक यातायात भाडामा डिजिटलाइजेसन गरी सदस्यहरूलाई प्रविधिमा आधारित सेवामा जोडे पनि कानुन अनुकूलता भने अझै काँडा भएको उनले बताए ।
संस्थागत सफलताका मानकहरू प्रस्तुत गर्दै उनले आन्तरिक नियन्त्रण प्रणालीको प्राथमिकतालाई जोडे । सुशासनका दृष्टिकोणले पनि यी प्रयास र अभ्यासहरू अनुकरणीय रहेको दाबी उनको छ । ‘संस्थाको लेखा सुपरिवेक्षण समितिको सिफारिसमा चार्टर्ड एकाउन्टेटलाई आन्तरिक लेखा परीक्षक नियुक्त गरेका छौं,’ कृष्णकुमारले कहे, ‘बाह्य लेखा परीक्षक साधारणसभाबाट नियुक्त गर्ने गरेको छौं । हरेक महिना वित्तीय तथा अन्य प्रतिवेदनहरू सदस्य र सर्वसाधारणको जानकारीको लागि सार्वजनिक रूपमा प्रकाशित गर्ने गरेका छौं । वार्षिक प्रतिवेदनहरू वेभसाइटमा अपलोड गरेका छौं । संस्थाको मुख्यमुख्य क्रियाकलापहरू फेसबुक पेजमार्फत साझा गर्ने गरेका छौं ।
आर्थिक वर्षको सरुवातकै दिन सञ्चालक समितिबाट व्यवस्थापन प्रमुखलाई र व्यवस्थापन प्रमुखबाट मातहतका कर्मचारीहरूलाई कार्यसम्पादन जिम्मेवारी प्रदान गरिने प्रणाली स्थापित गरेका छौं । हरेक कर्मचारी वार्षिक लक्ष्य लिएर काम गर्ने परम्परा रहेको छ । आफूले गरेका प्रगतिहरू हरेक महिना व्यवस्थापन प्रतिवेदन मार्फत बुझाउनुपर्ने व्यवस्था रहेको छ । नियामक, केन्द्रीय छाता संघ तथा सरोकारवाला निकायहरूमा मासिक रूपमा प्रतिवेदनहरू बुझाउने गरिएको छ । जिम्मेवार पदमा रहेका सञ्चालक र कर्मचारीहरूले जिम्मेवारी पूरा भए, नभएको सम्बन्धी जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । जसको लागि संस्थामा सुशासन नीति तर्जुमा गरिएको छ ।’
यो त भयो संस्थाको सफलताको कुरा, सँगै प्रश्न आउँछ असल सीईओको हो ? कृष्णकुमार भन्छन्, ‘मेरो दृष्टिमा असल सीईओ भनेको संस्थालाई मात्र सफल बनाउनु हैन, सदस्य, सञ्चालक, कर्मचारी र समुदाय सबैको विश्वास जित्न सक्ने व्यक्ति हो ।’ सीईओको भूमिका संस्थाभित्र सिस्टम निर्माण गर्ने र त्यसलाई प्रभावकारी तवरबाट कार्यान्वयन गर्ने गराउने हो । स्पष्ट नीति, बलियो आन्तरिक नियन्त्रण र उत्तरदायित्व सुनिश्चित गर्ने वातावरण निर्माण गर्नु पर्दछ । साथै निर्णय प्रक्रियालाई तथ्य र तथ्यांकमा आधारित र सहभागीमूलक बनाउँदै संस्थाभित्रको टिमलाई सुशासनतर्फ अभिमुख गराउनु पर्दछ । ‘सीईओको व्यक्ति चरित्रको कुरा गर्नुपर्दा,’ कृष्णकुमार भन्छन्, ‘ऊ लोभलाचबाट मुक्त, उच्च नैतिकवान्, इमान्दार र उदाहरणीय हुनु पर्दछ ।’
दिगो विकासमा चन्द्रागिरि
सहकारीको भूमिकाकै चर्चा गर्दा दिगो विकासको पनि यो ‘एक्टिभ एक्टर’ हो । पृथ्वीले खोजेको, राज्यले चाहेकोे र समयले मागेको विषयमा चन्द्रागिरि साकोसले पनि योगदान गर्दै आएका छ । सीईओ कृष्णकुमार बताउँछन्, ‘हामीले सहकारी मार्फत साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँदै उद्यमशीलता प्रवद्र्धन गरेका छौं । आयआर्जन बृद्धिका लागि विभिन्न सीपमूलक तालिम, सदस्यहरूको सामाजिक सुरक्षा लागि निःशुल्क एम्बुलेन्स तथा शववाहन सेवा, स्वास्थ्य उपचार, काजकिरिया, सुरक्षित मातृत्व, छात्रवृत्तिजस्ता सदस्य राहतका क्रियाकलापहरू सञ्चालन गरेको छौं । कृषि कार्य तथा परियोजना एवं नगदे बालीहरू उत्पादनको लागि कृषि तथा उद्यमी ऋण लगानी गरेका छौं । आफ्नै सहकारी मार्टभित्र पोलिक्लिनिक सञ्चालनमा सहजीकरण गरी सदस्यहरूलाई सहुलियत स्वास्थ्य सेवा प्रवाह साथै राजधानी काठमाडौंका केही अस्पतालहरूमा समेत स्वास्थ्य सेवा लिँदा सुलभ तवरले छुट पाउने प्रबन्ध मिलाएका छौं । त्यसैगरी यातायात भाडामा समेत छुट तथा सहुलियतको व्यवस्था गरेका छौं । सदस्यहरूको स्वास्थ्य उपचारको लागि सदस्य राहत कोषको स्थापना गरी वार्षिक ५० हजारसम्म उपचार सुविधाको व्यवस्था गरेका छौं । युवा केन्द्रित रोजगारी अभिवृद्धिका लागि सहुलियत ब्याजसहितको युवा उद्यमशीलता ऋण तथा उच्च शिक्षा हासिल गर्नको लागि शैक्षिक ऋणको व्यवस्था रहेको छ ।
महिलाहरूको सम्पत्ति र उद्यमशीलतामा अग्रसरता वृद्धिको लागि सहुलियत दरमा महिला समृद्धि कर्जाको व्यवस्था गरेका छौं । सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिमा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेका छौं भने सञ्चालक समितिमा युवाहरूको समेत सुनिश्चितता गरेका छौं । सदस्यहरूको घरघरमा खानेपानीको धाराको व्यवस्था गर्न स्थानीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँग सहकार्य गरी सदस्यहरूको घरमा धारा जडान गर्ने कार्यमा सहायता गरिएको छ ।
संस्थाले सदस्यहरूमा सोलार, गोबरग्याँस, साना जलविद्युत् आयोजना, विद्युतीय सवारीसाधन आदिजस्ता वैकल्पिक ऊर्जा र वैकल्पिक ऊर्जा प्रवद्र्धन प्रोत्साहत गर्ने गरेको छ । सदस्यहरूको सक्रिय सहभागिता, निर्णय प्रक्रियामा संलग्नता, नाफाको न्यायोचित वितरण र समाज एवम् वातावरण प्रतिकूल नहुने आर्थिक क्रियाकलाप सञ्चालनमा जोड दिइएको छ । राष्ट्रियस्तरका जिल्ला, प्रदेश केन्द्रीयस्तरका सहकारी संघ तथा विषयगत सहकारी संघ तथा अन्तर्राष्ट्रिय रूपमा एसिया प्रशान्त क्षेत्रस्तरीय सहकारी महासंघमा आबद्ध भई असमानता न्यूनीकरणमा औपचारिक अनौपचारिक रूपमा आवाज उठाउँदै आएका छौं । वृक्षरोपण, सरसफाइ, सफा पिउने पानीको कार्यक्रम सञ्चालन गरिएका छन् । यसरी चन्द्रागिरि साकोसले गरिबी निवारण, उद्यमशीलता तथा वातावरण संरक्षणलगायत १७ वटा दिगो विकास लक्ष्यमध्ये १३ वटा लक्ष्य पूरा गर्नमा आफ्नो तर्फबाट योगदान गरिरहेको छ ।’
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक
चन्द्रागिरि साकोसको पछिल्लो चारवर्षे रणनीतिक व्यावसायिक योजनाअनुसार आ.व. २०८५/८६ को अन्तसम्ममा सदस्यको संख्या ३१ हजार र कुल सम्पत्ति ५ अर्ब १७ करोड पुग्ने अनुमान गरेका छौं । यस अवधिमा पूर्ण रूपमा डिजिटल कारोबारको अनुपात ७० प्रतिशत पुर्याउने, निष्क्रिय कर्जा ३ प्रतिशतभित्र सीमित गर्ने, सदस्यहरूको सन्तुष्टीस्तर ९० भन्दामाथि कायम राख्ने, कार्य सञ्चालन लागत २० प्रतिशतले न्यून गर्ने, कर्मचारीहरूको कार्यसम्पादन स्तर ३० प्रतिशतले वृद्धि गर्ने, नेतृत्वमा फिट एन्ड प्रोपर टेस्टिङ गर्ने, फाइल प्रोसेसिङ समय ३० प्रतिशतले घटाउने, कर्मचारी सन्तुष्टी स्तर ८५ प्रतिशतभन्दा माथि कायम राख्ने, प्रतिकर्मचारी ४० घण्टाको तालिम प्रदान गर्ने, युवाहरूको पहुँच ३० प्रतिशतले वृद्धि गर्ने, व्यवसाय विकास सेवाको लागि आवश्यक केन्द्र स्थापना गर्ने र साइबर जोखिम नियन्त्रण गर्ने प्रणाली अवलम्बन गर्ने लक्ष्य रहेको छ ।

त्यो टर्निङ पोइन्ट
कोभिड—१९ लाई चन्द्रागिरि साकोसले पनि कहिल्यै बिर्सन सक्दैन । त्यो संकट, समस्यासँगै समाधान पनि लिएर आयो । एक किसिमको डिपार्चर गरायो सहकारीको सनातनी कार्यशैलीमा । कृष्णकुमारले भने, ‘त्यसबेला हामीले सावधानीपूर्वक सँगै प्रभावकारितामा कमी नल्याई सदस्य सेवा गर्यौं । सोही समयमा हामीले संस्थाका सेवाहरूमा डिजिटल रूपान्तरण गर्यौं । त्यो समयको माग थियो, बाध्यता थियो र निर्विकल्प थियो । एटीएम सुरु गर्यौं। मोबाइल बैंकिङमा नेपालमै पहिलो पल्ट रेमिट्यान्स सुविधालगायत अन्य धेरै फिचरसहितको सेवा त्यही बेलामा सुरु गर्यौं । डिजिटल सेवाको क्रम अगाडि बढ्दै गएर आज चन्द्रागिरि साकोसका सदस्यहरू सार्वजनिक यातायात सेवासमेत डिजिटल माध्यमबाट प्रयोग गर्ने गर्दछन् । दैनिक हुने कुल कारोवारमध्ये ५० प्रतिशतभन्दा बीढ डिजिटल माध्यमबाट हुने गरेको छ । कुल सदस्यहरूमध्ये आधाभन्दा बढीले मोबाइल बैंकिङ सेवा प्रयोग गर्दछन् । यसरी हेर्दा डिजिटल सेवाहरूको विस्तार सँगै सदस्य सेवामा उल्लेख्य बृद्धि भएको छ ।’
यति हुँदाहुँदै पनि सहकारीमा डिजिटल रूपान्तरणमा बग्रेल्ती चुनौती रहेको उनको अनुभव बोल्छ । उपयुक्त कानुनी प्रावधानहरूको अभावका कारण जबरजस्ती डिजिटल रूपान्तरणमा सहकारीहरू अघि बढ्नुपर्ने बाध्यता उनले बताए । कृष्णकुमार भन्छन्, ‘हाल सहकारी संस्थाहरूले प्रदान गरिरहेको डिजिटल सेवा टाउकोबाट घुमाएर कान समाए जस्तो भएको छ । स्पष्ट कानुनी वातावरणको अभावमा प्रविधिमा आधारित सेवाहरूको दुरुपयोगबाट हुने जोखिमहरूको लागि कानुनी उपायहरूको अस्पष्टता छ । प्राकृतिक र गैरनाफामूलक कृत्रिम व्यक्तिमात्र सहकारी सदस्य बन्न सक्ने कानुनी व्यवस्थाको कारण हालै जारी भएको सहकारी विभागको निर्देशनले सानासाना व्यवसायीहरूले आफ्नो पसल, व्यवसायको लागि प्रयोग गर्दै आइरहेको क्यूआरको प्रयोगमा अवरोध सिर्जना गरेको छ । त्यसकारण सीमा तोकेर भए पनि सहकारीको सदस्यको एकल स्वामित्वमा रहेको साना तथा मझौला उद्योग, पसल, फर्म आदिको सहकारीमा खाता खोली कारोवार गर्न पाउनु पर्दछ जस्तो लाग्छ ।’
आलोचना होइन अवसर
नियामकीय कडाइ र सार्वजनिक आलोचनाहरू पनि खेप्नुपर्ने हुन्छ । त्यसलाई आफूले सुधारको अवसरको रूपमा लिएको उनले बताए । ‘चन्द्रागिरि साकोसमा हामीले कानुनी प्रावधानहरूको पूर्ण पालना गर्दै संस्थागत अनुशासनलाई अझ मजबुत बनाउने प्रयास गरेका छौं,’ उनले भने, ‘यसैगरी सार्वजनिक आलोचनालाई पनि सकारात्मक रूपमा ग्रहण गर्दै सहकारीको इम्प्याक्ट देखिने गरी काम गर्ने अठोट गरेका छौं । पारदर्र्शी जानकारी प्रवाह र सहकारीको मूल मर्मबमोजिम गरेका कार्यहरू उजागर गर्दै सहकारी क्षेत्रको विश्वास पुनस्र्थापना गर्न योगदान पुर्याइरहेका छौं ।’
असफलताहरूले प्रायः धैर्य हुन, सिकाइलाई निरन्तरता दिन, समयमै सही निर्णय लिन सिकाइरहेको हुन्छ । असफलताको समयमा धैर्य हुन सक्यौं भने चुनौतीहरूलाई अवसरमा बदल्न सकिन्छ । म खासगरी आफ्नो टिमसँग सहकार्य गर्ने, दीर्घकालीन सोचका साथ अघि बढ्ने काम गर्ने गर्दछु ।
समस्या समाधानको सूची
सहकारीको नाममा अवाञ्छित व्यक्तिहरूले गरेको मनपरी, नियामक निकायको उदासीनता तथा सदस्य बचतकर्ता र आम सर्वसाधारणको लोभको कारण सहकारी क्षेत्रमा देखिएको बेथिति नै आजको सहकारी क्षेत्रमा देखिएको गम्भीर समस्या हो । यसमा कसैको दुईमत छैन । कृष्णकुमार यो स्वीकार्छन् र उनी थप समस्याहरूसँगै तिनको समाधानको सूची पनि प्रस्तुत गर्छन् । ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई स्रोतसाधन सम्पन्न बनाएर द्रुत गतिमा नियमन र सुपरिवेक्षण कार्य अगाडि बढाउन दिनुपर्छ ।
बचत तथा कर्जा सुरक्षण कोषको व्यवस्था गर्ने, कर्जा सूचना केन्द्रमा सहकारीहरूको आबद्धतासँगै शीघ्र सञ्चालनको प्रक्रिया अगाडि बढाउने, ऋण असुली न्यायाधिकरणलाई थप स्रोतसाधन सम्पन्न र सशक्त बनाएर सहकारीको ऋण असुलीको प्रक्रिया शीघ्रातिशीघ्र अगाडि बढ्ने वातावरण बनाउने, सञ्चालकहरूको लागि फिट एन्ड प्रोपर निर्देशिका जारी गर्ने, सही एकीकरणलाई प्राथमिकता दिने–नक्कली एकीकरणलाई निरुत्साहन गर्ने, कर नीतिमा परिमार्जन गर्ने, सही दिशातर्फ अगाडि बढिरहेका सहकारीहरूको सम्बन्धमा सकारात्मक वातावरण बनाउने, बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरूलाई गैरवित्तीय क्रियाकलापमा लगानी गर्न नउक्साउने, सहकारीभित्र मौलाएको राजनीतिक हस्तक्षेप नियन्त्रण गर्ने र संघ, प्रदेश र स्थानीय तहका सहकारी नियामकहरूको क्षमता वृद्धि गर्नेजस्ता कार्यहरू गर्नुपर्दछ,’ उनी भन्छन् ।

राज्यको आँखा पर्नुपर्छ सहकारीमा
आफ्नो अहिलेसम्मको कार्यकालमा कुनै पनि संस्थामा त्यस्तो ठूलो संकटका सामना उनले गर्नु परेको छैन । अर्थतन्त्रमा आएको बदलाब र राज्यको नीतिले सिर्जना गर्ने असामञ्जस्यताका कारण आउने चुनौतीलाई भने छाता संघहरू मार्फत र विभिन्न फोरमहरूमा आवाजहरूको माध्यबाट पैरवी गर्ने कामहरूमा ‘कृष्णकुमारहरू’ लागिपरेका छन् । पछिल्लो केही वर्षहरूदेखि केही सहकारीहरूमा देखिएका समस्याको कारण आम सहकारीहरूलाई गलत नजरबाट हेर्ने अवस्था जुन बनेको छ त्यसले भने उनी ठूलो समस्या ठान्छन् ।
‘साँच्चै राम्रोसँग काम गर्ने सहकारी संस्थाहरूलाई यसले भने अप्ठ्यारोमा पारेको छ,’ उनी भन्छन्, ‘यद्यपि, सदस्यहरू निकट रही इमानदारीपूर्वक संस्था सञ्चालन गरेको कारण संस्थामा ठूलो असर चाहिँ परेको छैन । त्यसैले मलाई के लाग्छ भने सहकारी सिद्धान्तभित्र रही सही दिशामा सञ्चालन भइरहेका सहकारी संस्थाहरूलाई सुरक्षित बनाउन राज्यले विशेष ध्यान दिनुपर्छ ।’
सहकारीको सामाजिक भूमिका
उनको बुझाइमा बचत तथा ऋण सहकारी केबल वित्तीय संस्थामात्र होइन, यो सामाजिक रूपान्तरणको एक महत्वपूर्ण माध्यम हो । यसले सदस्यहरूलाई आर्थिक, सामाजिक रूपले सक्षम बनाउनुको साथै सामाजिक एकता, विश्वास र सहकार्यको भावना विकास गर्छ । समुदायप्रति उत्तरदायी रहनुपर्ने सहकारीको सिद्धान्तनै भएको हुँदा सहकारीको जन्मसँगै सामाजिक भूमिका जोडिएर आएको हुन्छ । हाल दिगो विकास लक्ष्य पूरा गर्नमा समेत सहकारीले भूमिका खेल्नुपर्ने कुरामा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । यसर्थ समुदायमा समावेशी विकास, समान अवसर र आत्मनिर्भरता प्रवद्र्धनमा सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनको ठम्याइँ छ ।
सहकारीको भविष्य
उनी सहकारीको भविष्य राम्रो दख्छन् । अबको केही समयभित्र नराम्रो अभ्यास गर्ने सहकारीहरू या सुध्रन्छन् या सिद्धिन्छन् भन्छन् । नियामक निकायले तोकेको विवेकशील मापदण्ड पूरा गर्न सक्ने र सदस्यहरूलाई निरन्तर सेवा दिन सक्ने सहकारी संस्थाहरूले पुनः सहकारी छवि रिस्टोर गर्ने कृष्णकुमारको विश्वास छ । सहकारीको लागि सेवा दिन अझै ठूलो बजार खाली हुने सम्भावना उनी देख्छन् । भन्छन्, ‘बैंकहरू अब प्रायः बाणिज्य बैंकहरूमा परिणत हुँदै जाने सम्भावना छ । फाइनान्स कम्पनी, लघुवित्त संस्था, विकास बैंकहरूले सेवा दिनको लागि लक्षित वर्गलाई सहकारीले सेवा दिनु पर्ने दिन आउँछ भन्ने लाग्छ । सहकारीले कुल गाहस्थ्य उत्पादनमा आफ्नो स्पष्ट योगदान देखाउनेछ । सहकारीहरू साँच्चै नै सामाजिक रूपान्तरणको वाहकको रूपमा रहनेछन् ।’
‘उडबी’ हरूलाई उपदेश
सहकारीको नेतृत्व कुनै टेकन फर ग्रान्टेड होइन । यो सबैलाई ज्ञात भएकै ज्ञान हो । यो केवल पद हैन, सेवा र जिम्मेवारी हो भन्छन् कुष्णकुमार । उनी ठान्छन्–सहकारीको नेतृत्व वर्तमान समयमा चुनौतीपूर्ण छ । हुन पनि हो । सहकारी भन्नेबित्तिकै सशंकित हुने तीतो सत्य छ । तसर्थ आवश्यक नीतिगत व्यवस्था, सुशासन, सक्षम व्यवस्थापन र सदस्यको विश्वासलाई पहिलो प्राथमिकता दिएर काम गर्नेहरू मात्रै सहकारीमा सफल हुन सक्ने उनी बताउँछन् । सीईओ बन्ने होडमा रहेका, लाइनमा रहेका वा तयारीमा रहेकाहरूलाई उनी सम्झाउँछन्, ‘नेतृत्वको सधैं प्रशंसामात्र हुँदैन कतै आलोचना पनि भइरहेको हुन्छ भन्ने बुझ्नु पर्दछ । मानिसहरू नीति, नियम बनाएर कडा अनुशासनमा काम गर्ने भन्छन् तर आफ्नो लागि ती नीति नियममा सहजता खोज्ने गर्दछन् । सहकारीको नेतृत्वले मानिसभित्र हुने यही दोहोरो चरित्र बुझेर काम गर्न सक्नु पर्दछ ।’
नयाँ पुस्तालाई सहकारीलाई चाहिएको छ । त्यसले मात्र सहकारीलाई ऊर्जावान् र सक्रिय बनाउँछ । त्यसका लागि प्रविधिमैत्री सेवाहरूमा जोड दिनुपर्ने उनको राय छ । ‘नयाँ पुस्ताको भावना बोल्न सक्ने सञ्चालकहरू हुनु आवश्यक पनि छ’ उनी भन्छन्, ‘कर्मचारीहरूमा पनि नयाँ पुस्तालाई जोड्दै लानु पर्दछ । यसको साथै छिटो र सहज सेवा प्रवाह, पेपरलेस सेवा, युवा लक्षित प्रोडक्टहरूको विकास र उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रमहरू पनि गर्दै जानु पर्दछ ।’
र, अन्त्यमा कृष्णकुमार सहकारी अभियानप्रति सार्वजनिक प्रतिबद्धता सुनाउँछन्, ‘सहकारीका सदस्यहरूको विश्वास जोगाउने, संस्थालाई दिगो र विश्वासिलो बनाउने र नियामकीय मापदण्डमा संस्थालाई अनुकूलित र जोखिम न्यून गर्दै अविछिन्न रूपमा अगाडि बढ्ने नमुना सहकारी संस्था निर्माण गर्नु नै हो । सहकारीको साखलाई पुनस्र्थापित गर्न आफ्नो तर्फबाट सकेको योगदान गर्नेछु ।’
अन्तर्राष्ट्रिय सफलता
कृष्णकुमारले व्यवस्थापकीय नेतृत्व गरेको चन्द्रागिरि साकोस विश्व ऋण परिषद् (ओकू) बाट पुरस्कृत भएको छ ।
चन्द्रागिरिले ओकूबाट जुलाई २१ मा डिजिटल ग्रोथ अवार्ड २०२६ प्राप्त गरेको छ । सदस्यलाई प्रविधि सहजतामार्फत सेवाको गुणस्तरीयता र चुस्तता कायम गर्न सफल भएको आधारमा चन्द्रागिरि साकोस पुरस्कृत भएको हो । ओकूबाट अवार्ड प्राप्त गर्ने चन्द्रागिरि नेपालकै पहिलो संस्था हो ।

सदस्य सेवामा डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, सेवा प्रवाहलाई छिटो, सहज र विश्वसनीय बनाएको तथा संस्थागत डिजिटल रूपान्तरणमा देखाएको प्रगतिलाई मूल्यांकन गर्दै ओकूले चन्द्रागिरि साकोसलाई यस वर्षको डिजिटल ग्रोथ अवार्ड प्रदान गरेको हो । यस अवार्डका लागि विश्वभरका सदस्य संस्थाबीच प्रतिस्पर्धा भएको थियो ।
अवार्डले संस्थाको प्रविधिमैत्री सेवाप्रतिको प्रतिबद्धतालाई थप ऊर्जा दिएको प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए। उनले यो सम्मान संस्थाका सदस्य, सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा साझेदार सबैको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि अझ गुणस्तरीय र नवप्रवर्तनयुक्त सेवा प्रदान गर्न प्रतिबद्ध रहने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार
विश्व ऋण परिषद्को ‘डिजिटल ग्रोथ अवार्ड’ जित्दै चन्द्रागिरि साकोसले रच्यो इतिहास
५ श्रावण २०८३, मंगलवार
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार