जुम्ली स्याउको उत्पादनदेखि बजारसम्मका समस्या सभामुखसमक्ष
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालसँग जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख ऋषिराम पाण्डेले भेट गरी जुम्लाको स्याउ उत्पादन, बजारीकरण तथा कृषि क्षेत्रको अवस्थाबारे जानकारी गराउनुभएको छ।
भेटका क्रममा पाण्डेले जुम्लामा करिब ४ हजार २५० हेक्टरभन्दा बढी क्षेत्रफलमा स्याउ खेती हुँदै आएको जानकारी दिनुभयो। कुल क्षेत्रफलमध्ये करिब १ हजार ८ सयदेखि २ हजार हेक्टर क्षेत्रफलमा रहेका स्याउका बोटले हाल उत्पादन दिइरहेका छन् भने बाँकी क्षेत्र नयाँ रोपिएका बिरुवाको अवस्थामा रहेको उहाँले बताउनुभयो। अनुकूल मौसम भएमा जुम्लामा वार्षिक १८ हजारदेखि २० हजार मेट्रिक टनसम्म स्याउ उत्पादन हुने गरेको उहाँको भनाइ छ।
जुम्ली स्याउको बजारीकरणमा कर्णाली राजमार्ग बारम्बार अवरुद्ध हुनु तथा ग्रामीण सडकको अवस्था कमजोर रहनु प्रमुख चुनौतीका रूपमा रहेको पाण्डेले बताउनुभयो। सडक अवरोधका कारण ढुवानीमा ढिलाइ हुँदा स्याउ बाटोमै कुहिने तथा बिग्रिने समस्या रहेको उहाँले जानकारी दिनुभयो। पर्याप्त र आधुनिक शीतभण्डारको अभावमा किसानले उत्पादन हुनेबित्तिकै सस्तो मूल्यमा स्याउ बिक्री गर्नुपर्ने बाध्यता रहेको पनि उहाँले बताउनुभयो।
त्यस्तै, स्याउको वैज्ञानिक ग्रेडिङ तथा गुणस्तरीय प्याकेजिङको अभाव, पूर्ण रूपमा नपाक्दै स्याउ टिपेर बजारमा पठाउने प्रवृत्ति, किसानको प्रत्यक्ष बजार पहुँचको कमी, बिचौलियाको प्रभाव, प्रशोधन उद्योगको सीमितता तथा जुम्ली स्याउको एकीकृत ब्रान्डिङ र भौगोलिक पहिचानको अभावजस्ता समस्या रहेको पाण्डेले सभामुखलाई जानकारी गराउनुभयो।
चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले ग्रामीण अर्थतन्त्र, कृषि प्रवर्द्धन तथा साना किसानको जीवनस्तर सुधारमा योगदान पुर्याउँदै आएको उहाँले बताउनुभयो। सहकारीले साना किसानलाई स्याउ, ओखर, सिमी, मार्सी धान तथा पशुपालनका लागि कृषि कर्जा उपलब्ध गराउनुका साथै स्याउको ग्रेडिङ, प्याकेजिङ, जुस तथा सुकुटी प्रशोधनका लागि प्राविधिक र बजारीकरण सहयोग गर्दै आएको छ।
त्यसैगरी, सहकारीले स्याउको मूल्य स्थिर राख्न शीतभण्डार तथा भण्डारण प्रविधिको प्रवर्द्धन गर्नुका साथै उन्नत जातका बिरुवा, जैविक मल तथा आधुनिक कृषि औजार सदस्य किसानलाई अनुदान वा सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको जानकारी गराइएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार
सुयोग्य साकोसको साधारण सभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित
४ आश्विन २०८३, आईतवार