४ साउन २०८३, सोमबार

‘इमान्दारिता र सिर्जनशीलता’ले दिलाएको उचाइ

२०८३ साउन ३, आईतवार
‘इमान्दारिता र सिर्जनशीलता’ले दिलाएको उचाइ

माधवप्रसाद पौडेल । यो नाम आज सहकारी क्षेत्रमा अनुभवी, दक्ष र इमानले अगाडि बढेको नामका रूपमा स्थापित छ । नवलपरासीको गैंडाकोट नगरपालिका ८ नवलपुरमा जन्मिएका पौडेलको जीवनको सत्य त के हो भने– सहकारी क्षेत्रमा पाइला राख्दा उनले कहिल्यै यसै क्षेत्रमा करियर बनाउँला भनेर सोचेका थिएनन् ।

यतिबेला विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पौडेलको यो क्षेत्रमा लागेर जीवन चलाउँछु भन्ने पनि सोच थिएन । भन्छन्, ‘त्यसबेला मनमा अनेकन प्रश्न थिए—‘के यहीँ टिक्न सकिएला ?’, ‘के यो दिगो होला ?’, ‘भविष्य के हुन्छ होला ?’ कहिलेकाहीँ लाग्थ्यो, यो क्षेत्र त्यागेर विदेश जाने कि ? सजिलो बाटो समातेर जीवन चलाउने कि ?’

युवावयका पौडेलको जीवनले मोड खोजिरहेको थियो, त्यहीबेला जसले उनलाई सहकारीमा लाग्न प्रेरित गरेका थिए, उनीहरूको कुरा मनमा गढेर बस्यो ।

पौडेलले सम्झिए, ‘उहाँहरूले भन्नुभयो– संस्था तिम्रोमात्रै होइन, समुदायको सपना हो । यसलाई बनाउने हो भने भाग्ने होइन, अझ जिम्मेवारी लिएर अघि बढ्नुपर्छ । जसले जोखिम मोल्छ, उही सफल कहलिन्छ । त्यो वाक्यले मलाई स्वदेशमै मात्र रोकेन, जीवनकै दिशा बदलिदियो ।’

आजका दिनमा सहकारी व्यवस्थापनलाई आधुनिक सोच, व्यावसायिक अनुशासन र सेवा केन्द्रित दृष्टिकोणबाट अघि बढाउँदै आएका सफल व्यवस्थापक पौडेलले त्यसबेला महसुस गरेँ— ‘सहकारी भनेको फगत जागिर होइन, समाजको सेवा हो । आम्दानीको माध्यममात्रै होइन, समुदाय परिवर्तन गर्ने अभियान पनि हो ।’

त्यसपछि उनले आफ्नो मेहनतले रंग ल्याउँदै गरेको देख्न थालेँ, सदस्यहरूले विश्वास गर्न थाले । उनले समुदायको मन जित्दै गए । सहकारीप्रति उनको पनि सोच र दृष्टि परिवर्तन हुँदै गयो ।
पिता कृष्णप्रसाद पौडेल र आमा भद्रकला पौडेलका सन्तानका रूपमा जन्मिएर सरल र संस्कारयुक्त परिवारमा हुर्केका पौडेलले स्थानीय कालिका माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन पूरा गरेर वीरेन्द्र बहुमुखी क्याम्पसबाट अर्थशास्त्र र समाजशास्त्रमा स्नातक तथा स्नातकोत्तरसम्मको अध्ययन सम्पन्न गरे ।

आर्थिक प्रणाली र सामाजिक संरचनाबारे राम्रो ज्ञान भएका उनलाई सहकारी क्षेत्रको व्यावहारिक पक्षमा काम गर्न अझ सहज बनायो । सहकारीको काम बढ्दै गयो, जिम्मेवारी थपिँदै गयो । तलब–सुविधा पनि विस्तारै बढ्न थाल्यो । त्योभन्दा पनि ठूलो सन्तुष्टिको कुरा मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन देखिन थाल्यो ।

कमला रेग्मी पौडेलसँग वैवाहिक सम्वन्ध गाँसेका पौडेलको पारिवारिक गर्जो टार्नमा शिक्षक धर्मपत्नीको पनि निकै साथ भयो । उनलाई एकोहोरो सहकारी अभियानलाई अझ सबल बनाउन बल पुग्यो । आज फर्केर हेर्दा पौडेललाई लाग्छ— सुरुवातका ती कठिन दिनहरू नै आफ्नो जीवनको सबैभन्दा ठूलो विश्वविद्यालय रहेछ । त्यही संघर्षले उनलाई सिकायो कि सहकारी सबल बनाउनु भनेको संस्था दर्ता गर्नु होइन, मानिसको मन जित्नु हो ।

कुनै दिन सहकारीमा करियर नदेख्ने पौडेलको जीवनमा आज सहकारीको परिभाषा फेरिएको छ, उनले भने, ‘सहकारी मेरो लागि केवल पेसा होइन, एउटा यात्राको नाम हो— जहाँ विश्वास सानो बचतबाट सुरु हुन्छ, जहाँ आशा सानो ऋणबाट पलाउँछ, र जहाँ समुदायको भविष्यलाई बलियो बनाउने सपना जन्मिएको हुन्छ ।’

सीईओ पौडेलको सहकारी पथको पहिलो पाइला आफ्नै घरआँगनबाट सुरु भएको हो । समाजसेवामा समर्पित हजुरबुवा र बुवाहरूबाट उनी बाल्यकालदेखि प्रेरित थिए । बुवा, हजुरबुवाले समाजसेवामा देखाएको सक्रियताले पौडेलमा पनि सेवाभाव जागृत भइसकेको थियो । जसको परिणाम उनी विजय युवा क्लब (हाल विजय विकास केन्द्र)मा सक्रिए भए । त्यहीँबाट उनी विकू बचत तथा ऋण सहकारी संस्थासँग जोडिए ।

तर सहकारीमा आफूलाई जोडेको श्रेय उनी इन्द्रज्योति पौडेल, खेमराज सापकोटा र केशवप्रसाद सापकोटालाई दिन्छन् । आजको अवस्थामा पुर्याउने काम भने विजय विकास स्रोत केन्द्रको सहयोगले सम्भव भएको उनी स्वीकार्छन् ।

२०४८ मा स्थापना भएर २०५० साल जेठ ५ गते औपचारिक रूपमा दर्ता भएपछि विकू बचत तथा ऋण सहकारी दुई जना कर्मचारीबाट सुरु भएको थियो । जोसँग आज २०२ जना कर्मचारी छन् ।
२०४८ सालदेखि साधारण सदस्यको रूपमा जोडिएका पौडेल २०५२/०५३ सालतिर कर्मचारीको रूपमा सहकारी प्रवेश गरे । औपचारिक पद नभए पनि दिएको जिम्मेवारी सम्हाल्दै आए । त्यतिबेला संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरूले नै सबै काम सञ्चालन गर्थे ।

कामको दायरा बढ्दै गयो । उनलाई पार्ट–टाइम कामको जिम्मेवारी दिइयो, त्यो पनि स्वयंसेवकका रूपमा । उनको मेहनत, लगनशीलता र समर्पणका कारण संस्था क्रमशः विस्तार हुँदै गयो । जुन संघर्ष, धैर्य, मिहिनेत र इमान्दारिताले उनलाई कालान्तरमा विकू बचत तथा ऋण सहकारीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पुर्यायो । उनकै भूमिकाले आज विकू लाई देशकै व्यवस्थित, प्रविधिमैत्री, पारदर्शी र सदस्य केन्द्रित सहकारीमध्येको एकमात्रै बनाएको छैन, औंलामा गन्न सकिने अब्बल व्यवस्थापकको पंक्तिमा पौडललाई समेत उभ्याएको छ ।

त्यसका लागि उनले दुःख, संघर्ष, धैर्य, इमान्दारिता र कुशल व्यवस्थापनमात्रै गरेनन् । आफ्नो ज्ञानको दायरा फराकिलो बनाउने काम पनि सँगै गरिरहे ।

औपचारिक शिक्षापछि पनि उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट तालिमहरू लिए । विशेषगरी अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) मार्फत भारत र जापानमा दुई महिनासम्म तालिम लिएर सहकारीको अन्तर्राष्ट्रिय अभ्यास, व्यवस्थापन प्रणाली र नेतृत्व विकासका सवालमा महत्वपूर्ण अनुभव हासिल गरे ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा कार्यपत्र प्रस्तुत गरे । सहकारी क्षेत्रका विषयमा अध्ययन, प्रस्तुति र विचार आदानप्रदानमा सक्रिय भए । यही सिलसिलामा उनी १२ वटा देश पुगे । तालिम तथा अवलोकन भ्रमणले उनलाई थप अब्बल बनायो ।

संघर्षले जितेको विश्वास
२०४८ सालतिर सहकारी भन्नेबित्तिकै मानिसहरूको मनमा एउटामात्रै चित्र आउँथ्यो मल, बिउ र कृषि सामग्री वितरण गर्ने साझा संस्था । बचत संकलन गर्ने, ऋण लगानी गर्ने र आर्थिक रूपान्तरणको आधार बन्ने सहकारीको कल्पना त धेरै परको कुरा थियो ।

त्यही समय जब २०४८ सालमा सहकारी ऐन र २०४९ सालमा नियमावली बन्यो । अनि बचत तथा ऋण सहकारीको बाटो खुल्यो । बाटो खुले पनि त्यो यात्रा सजिलो भने थिएन । चुनौतीका चाङ धेरै थिए ।
‘त्यसबेलाका दिन सम्झिँदा आज पनि मन भारी हुन्छ’, पौडेल भन्छन्– ‘संस्था सुरु गर्दा हामी केही युवाहरूमात्रै थियौं । जोश थियो, सपना थियो, तर समुदायलाई हामीप्रति विश्वास थिएन । सहकारीभन्दा मानिसहरू अलमलिन्थे, डराउँथे, शंका गर्थे । उनीहरूका लागि यो नयाँ कुरा थियो । न त देखाउन उदाहरण थियो, न अनुभव । हामीसँग केवल इच्छाशक्ति र निरन्तरता थियो ।’

त्यसबेला धेरैले उनीहरूलाई हाँसेर उडाए । धेरैले विश्वास गरेनन् । कतिपयले त ‘यिनीहरूले के सहकारी चलाउँछन् ?’ भन्ने शंकाले हेरे ।

तर पनि आफूहरूले हार नमानेको सीईओ पौडेल सम्झन्छन् । उनले भने, ‘हामीले बुझ्यौं, विश्वास शब्दले होइन, कर्मले जितिन्छ । त्यसपछि हामीले सानो बाटोबाट यात्रा सुरु ग¥र्यौं । सुरुमा चिनेजानेका, हामीले भनेको मान्ने, सुन्ने, हाम्रो नियत बुझ्ने व्यक्तिहरूबाट बचत संकलन ग¥र्यौं । उठेको बचत यहीँ समुदायमै लगानी गर्न थाल्यौं । त्यो लगानीले कसैको व्यवसाय अघि बढ्दा, कसैको घरको आवश्यकता पूरा हुँदा, कसैको जीवनमा आशा पलाउँदा समुदायले विस्तारै बुझ्न थाल्यो—सहकारी भनेको पैसामात्रै होइन, भरोसा र सहकार्यको सम्बन्ध रहेछ ।’

दिनहरू बित्दै गए । बचत बढ्दै गयो । सदस्य संख्या बढ्दै गयो । सहकारीप्रतिको दृष्टिकोण पनि बदलिँदै गयो । सुरुमा ‘शंका’ गर्नेहरू ‘विश्वास’ गर्न थाले ।

पहिलो उत्कृष्ट व्यवस्थापक
यो यात्रा २०६७ सालमा आइपुग्दा धेरै परिवर्तन भइसकेको थियो । समाजको सहकारीको मात्र होइन समाजको सोच र आकार पनि धेरै फराकिलो भइसकेको थियो ।

त्यहीबेला नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारी क्षेत्रमा कार्यरत उत्कृष्ट व्यवस्थापकहरूलाई सम्मान गर्ने परम्पराको सुरुवात गर्याे- ‘उत्कृष्ट व्यवस्थापक पुरस्कार’ । हरेक वर्ष संघमा आबद्ध संस्थाका व्यवस्थापकहरूमध्येबाट एक जनालाई मनोनयन गरी प्रदान गरिने यो प्रतिष्ठित पुरस्कारको पहिलो प्राप्तकर्ता बन्न सफल भए माधव पौडेल ।

त्यो क्षण उनका लागि असाधारण थियो । संस्थाको कामकै सिलसिलामा उनी अफिस बाहिर थिए, अचानक फोन बज्यो । फोन गर्ने व्यक्ति थिए नेफ्स्कुनका तत्कालीन अध्यक्ष ऋषिराज घिमिरे । छोटो कुराकानीमै उनले एउटा यस्तो खबर सुनाए, जसले माधव पौडेलको जीवनमा अविस्मरणीय मोड ल्यायो । उनी ‘उत्कृष्ट व्यवस्थापक पुरस्कार’ विजेता पहिलो व्यक्ति बन्न पुगे ।

त्यो सुखद खबरले उनी भावुक भए । त्यो केवल पुरस्कारको सूचनामात्र थिएन, त्यो त वर्षौंदेखिको संघर्ष, समर्पण र मेहनतको प्रतिफल थियो । उनले गरेको संघर्ष र पीडा एकै क्षणमा मत्थर भयो ।

प्रविधिमा पायोनियर
पुरस्कारको लायक बन्नुमा मिहिनेत, संघर्ष, इमान्दारितामात्र थिएन । परम्परागत ढाँचाबाट विकू बचत तथा ऋण सहकारी संस्थालाई फरक बाटोमा डो¥याउनुको प्रतिफल पनि थियो । त्यो थियो प्रविधिमैत्री रूपान्तरण । यो सबै परिवर्तनको केन्द्रमा थिए प्रमुख कार्यकारी अधिकृत माधव पौडेल । जसले संस्थालाई समय अनुकूल अघि बढाउने दृढ अठोटका साथ नयाँनयाँ प्रविधि भित्र्याउन आज पनि निरन्तर पहल गर्दै आएका छन् ।

वित्तीय क्षेत्रमा नयाँ प्रविधि भित्रिनेबित्तिकै उनी त्यसलाई कसरी सहकारीमा लागू गर्न सकिन्छ भन्ने खोजमा रहन्छन् । उनका यी प्रयासहरूमा संस्थाको सञ्चालक समिति र सहकर्मीहरूको पनि पूर्ण साथ रहन्छ । यही सहकार्यले संस्थालाई प्रविधिमैत्री बनाउँदै अग्रपंक्तिमा उभ्याएको पनि छ ।

सिर्जनशीलता र नवप्रवर्तनमा विश्वास गर्ने यस संस्थाले विशेषतः सहकारी क्षेत्रमा पहिलो पटक एटीएम सेवा, मिस्ड कल बैंकिङ, मोबाइल ट्रेलर सेवाजस्ता नवीन प्रविधिको सुरुवात गरेको छ । जसले संस्थाको सेवालाई सहज, छरितो र भरपर्दो बनाएको छ ।

नयाँ सोच : ‘ऋण क्लिनिक’

सीईओ पौडेल एक दिन घरमै बसिरहेका थिए । मनमा अनेक कुरा खेल्ने क्रममा अचानक एउटा फरक र नयाँ अवधारणा फुर्याे- ‘ऋण क्लिनिक’ ।

स्वास्थ्य शिविरमा हुने भिड उनले धेरैपटक नजिकबाट देखेका थिए । रोगीमात्र होइन, निरोगी मानिसहरू पनि स्वास्थ्य जाँच गर्न शिविरमा जाने गर्छन् । कहिल्यै चेकअप नगरेका मानिसहरूसमेत निःशुल्क शिविरमा सहभागी भएको दृश्यले उनलाई गहिरो गरी छोएको थियो । त्यही अनुभवबाट प्रेरित हुँदै माधवको मनमा प्रश्न उठ्यो— यस्तै प्रकारको ‘ऋण क्लिनिक’ पनि सम्भव होला त ?

भोलिपल्ट उनले उक्त अवधारणा कार्यालयमा सहकर्मीहरूसँग सेयर गरे । साथीहरूले सकारात्मक प्रतिक्रिया दिए । त्यसपछि टोली कार्यविधि निर्माणमा जुट्यो । सबैसँग छलफल गर्दै ‘ऋण क्लिनिक’ कार्यक्रमका विशेषता, उद्देश्य, मोड्युलहरू, सदस्य र संस्थालाई हुने लाभ समेटेर पाँच पृष्ठको विस्तृत कार्यविधि तयार गरियो । कार्यविधि पास भएपछि कार्यक्रम सञ्चालन गरियो र जो निकै उत्साहपूर्ण भयो ।
२०८२ साल फागुन १५ देखि चैत १० गतेसम्म सञ्चालन गरेको क्लिनिकमा ११ हजार जना सदस्यहरूले प्रत्यक्ष उपस्थित भई ऋण परामर्श सेवा लिए । करिब तीन हजार जना पुराना ऋणी सदस्यहरूले आफ्नो ऋणको अवस्थाबारे परामर्श लिँदै ब्याजदरमा विशेष छुटसमेत प्राप्त गरेका थिए ।

क्लिनिक अवधिमा करिब एक हजार नयाँ सदस्यहरूले संस्थाबाट व्यावसायिक तथा व्यक्तिगत ऋण लिएर आर्थिक यात्रा सुरु गर । त्यस्तै, ‘सदस्य लोयल्टी रिवार्ड’ सुविधा अन्तर्गत १५० जना पुराना ऋणी सदस्यहरूले अन्य ३०० जना नयाँ सदस्यलाई ऋणका लागि सिफारिस गर्दै आफूले भुक्तान गरिरहेको ब्याजदरमा थप ०.२५ प्रतिशत छुटको दोहोरो लाभ लिए । त्यसैगरी, १५ सय सदस्यले चैत महिनाभित्र ऋण लिने गरी नाम दर्ता गराए ।

‘ऋण क्लिनिक’मार्फत सदस्यहरूले केवल वित्तीय सहयोगमात्र नभई नयाँ व्यापार, व्यवसाय तथा उद्यम सुरु गर्न आवश्यक प्राविधिक परामर्शसमेत प्राप्त गरे । संस्थाले कार्यक्रमको विशेष सुविधाअन्तर्गत क्लिनिक अवधिभर संस्थाले सेवा शुल्कमा १०० प्रतिशत छुट, ऋणका सम्पूर्ण सेवामा मौजुदा ब्याजदरमा ०.५ प्रतिशतदेखि ०.९९ प्रतिशतसम्म छुट, नियमित किस्ता बुझाउनेलाई ब्याज रकममा ५ प्रतिशत छुट, युवा उद्यमी तथा ज्येष्ठ नागरिकका लागि विशेष ब्याज सहुलियतजस्ता सुविधा प्रदान गर्यो ।

दबाब र तनाव व्यवस्थापन
सहकारीको नेतृत्व गर्नु भनेको केवल योजना बनाउने र लक्ष्य पूरा गर्ने जिम्मेवारी पूरा गर्नुमात्र होइन । निरन्तर निर्णय, जोखिम व्यवस्थापन र मानवीय सम्बन्धको सन्तुलन मिलाउनु पनि हो । जहाँ दबाब र तनाव स्वाभाविक हुन्छ । तर माधव पौडेलको कार्यशैली र जीवनशैली हेर्दा, उनी तनावलाई चुनौती होइन— व्यवस्थापन गर्न सकिने प्रक्रिया ठान्छन् ।

विकू बचतमा व्यवस्थापन स्वायत्तता स्पष्ट छ । यहाँ बोर्ड र व्यवस्थापनबीच जिम्मेवारीको रेखा प्रस्ट छ । बोर्डले संस्थाभरि झन्डै ६१ वटा नीति तथा कार्यनीतिहरू कार्यान्वयनमा ल्याएको छ, जसको नियमित अनुगमन र मूल्यांकन पनि बोर्डकै तहबाट हुने गर्छ । व्यवस्थापन पक्षले नियमित रिपोर्टिङ गर्ने प्रणाली छ, वर्षभरका लागि लक्ष्य तोकिन्छ र सोही लक्ष्यअनुसार कार्यसम्पादनको मूल्यांकन हुन्छ ।

माधवका अनुसार, बोर्डले गर्नुपर्ने र व्यवस्थापनले गर्नुपर्ने काममा कुनै अस्पष्टता छैन । यही स्पष्टता नै संस्थाको स्थायित्व र कार्यसंस्कृतिको आधार हो । ‘जब कामको दायरा र जिम्मेवारी प्रस्ट हुन्छ, कर्मचारीलाई अनावश्यक दबाब र मानसिक बोझ कम हुन्छ’, पौडेलले भने, ‘विकूमा काम गर्दा कर्मचारीहरूले तनाव झेल्नुपर्ने अवस्था आउँदैन । दबाब र तनाव कहिल्यै भएन ।’

कहिलेकाहीँ काम गर्ने शैली, सोच्ने तरिका वा जिम्मेवारीको बोझका कारण तनाव उत्पन्न हुन सक्ने उनी भन्छन् । तर तनावलाई दबाएर राख्नु समाधान नहुने भएकाले त्यसलाई व्यवस्थापन गर्नु नै सही उपाय भएको उनी बताउँछन् ।

तनाव कम गर्न उनी नियमित रूपमा बिदा लिएर रिफ्रेस हुन्छन् । वातावरण बदल्ने र आफूलाई मानसिक रूपमा हल्का बनाउने अभ्यास गर्छन् । तर उनको तनाव व्यवस्थापनको सबैभन्दा बलियो उपाय भनेको पुस्तक पढ्ने बानी हो । आफूलाई अनुशासित बनाउन उनलाई ‘महिनामा कम्तीमा दुईवटा पुस्तक पढ्नैपर्छ ।’ अझ विशेष कुरा त के भने, पढिसकेपछि त्यसको सार अरूसँग सेयर गर्ने बानी उनले संस्थाभित्र विकास गराएका छन् ।

उनको दैनिकीमा अर्को महत्वपूर्ण अनुशासन छ— सुत्नुअघि एक घण्टा पुस्तक पढ्ने । यो बानी केवल ज्ञान बढाउने माध्यममात्र होइन, दिनभरको थकानलाई शान्त पार्ने मानसिक औषधि पनि बनेको छ ।
शारीरिक स्वास्थ्यलाई उनले मानसिक स्वास्थ्यको आधार मानेका छन् । त्यसैले उनी हरेक दिन १० किलोमिटर हिँड्ने गर्छन् । खानपानमा पनि उनी अत्यन्त संयमी छन् । उनी शाकाहारी हुन् र पछिल्लो १५ वर्षदेखि प्रत्येक आइतबार उपवास (फास्टिङ) बस्ने गरेको सुनाउँछन् ।

उनको जीवनशैलीमा नशा र अस्वस्थ आदत छैन । कार्यालयबाहेकको समय उनी सामाजिक संघसंस्थामा दिने गर्छन्, जसले उनको समयलाई उद्देश्यपूर्ण बनाउँछ र मनलाई सन्तुष्टि दिन्छ । खेलकुद र अनुशासन उनको जीवनको अर्को पहिचान हो । पहिले उनी भलिबल र फुटबलका राम्रो खेलाडी थिए । उनी सितोरिया कराँतेको ब्ल्याक बेल्ट हुन् । यो तथ्यले माधवको व्यक्तित्वमा रहेको अनुशासन, धैर्य र आत्मनियन्त्रणको परिचय दिन्छ ।

संघर्ष : ५० पैसाबाट बचत संकलन
विकू बचतका सीईओ माधव पौडेलका लागि सुरुवाती दिनहरू सजिला थिएनन् । सहकारी अभियानप्रति जनचेतना न्यून भएको समयमा घरघर पुगेर बचत संकलन गर्नु नै ठूलो चुनौती थियो ।

त्यो समय सदस्यहरूले बचत गर्दा प्रायः पुराना, च्यातिएका नोटहरू दिने गर्थे । कहिलेकाहीँ थाहा भएर वा नभएर नक्कली नोटसमेत आउने गरेको अनुभव उनीसँग छ ।

सहकारीमा बचत गर्ने भनेको पुराना वा थोत्रा नोट दिने चलनजस्तै बनेको थियो । यस्तो अवस्थाले कहिलेकाहीँ उनलाई आफूले रोजेको क्षेत्रप्रति नै बैराग लागेर नआएको होइन ।

विकू सहकारीले दैनिक प्रतिव्यक्ति ५० पैसाबाट बचत संकलन सुरु गरेको थियो । त्यही उठाउन गाउँ–टोलमा पुग्दा ‘ऊ एक मोहोर आयो’ भन्दै जिस्क्याउने, ५० पैसा उठाएर समाज परिवर्तनको कुरा गरेको भन्दै उडाउने प्रवृत्ति सामान्यजस्तै थियो ।

तर, ती सबै चुनौती र उपहासका बाबजुद पनि अभियान रोकिएन । आज त्यही ५० पैसाबाट सुरु भएको यात्रा संस्थागत रूपमा स्थापित हुँदै सफलताको उदाहरण बनेको छ ।

सफलताको सूत्र
सहकारी क्षेत्रमा सफलता खोज्नेहरूका लागि सबैभन्दा पहिलो र महत्वपूर्ण आधार इमान्दारिता हो । सहकारी अभियन्ता माधव पौडेल भन्छन्, ‘मूलमन्त्र इमान्दारिता हो- संस्थासँग मात्र होइन, आफैंप्रति पनि इमान्दार हुनु आवश्यक छ ।’

उनका अनुसार, जब व्यक्ति आफ्नै काम, सोच र व्यवहारप्रति इमान्दार हुन्छ, तब उसले गर्ने हरेक निर्णयमा पारदर्शिता र विश्वसनीयता देखिन्छ । यही गुणले दीर्घकालीन रूपमा विश्वास निर्माण गर्छ, जुन सहकारीजस्तो सामूहिक प्रणालीको मुख्य आधार हो ।

सदस्यहरूको बचत, लगानी र भविष्यसँग जोडिएको यो क्षेत्रमा काम गर्ने व्यक्तिले इमान्दारिता गुमायो भने संस्थाको जग नै कमजोर बन्न सक्ने उनी बताउँछन् । पौडेलको अनुभवमा इमान्दारिता केवल नैतिक मूल्यमात्र नभई व्यावसायिक सफलता प्राप्त गर्ने मूल मन्त्र हो ।

उनी सिजनशीलतालाई सफलताको अर्को महत्वपूर्ण सूत्रका रूपमा व्याख्या गर्छन् । ‘सिर्जनशीलता बिनासहकारी क्षेत्र अगाडि बढ्न सक्दैन,’ उनी भन्छन्, ‘बदलिँदो समय, प्रविधि र बजारका चुनौतीसँग जुध्न नयाँ सोच, नवप्रवर्तन र फरक शैलीले काम गर्ने क्षमता अनिवार्य हुन्छ ।’

सहकारी क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि उनको स्पष्ट सन्देश छ— ‘इमान्दार बनौं, सिर्जनशील बनौं । यही नै सफलताको सूत्र हो ।’

मानव विकासका चार आयाममा विकू
अन्य संस्थाभन्दा कु फरक किन छ ? सीईओ पौडेलले भने, ‘हाम्रा हरेक कार्यक्रम समुदाय केन्द्रित हुन्छन् । सदस्यहरूले ओनरसिप लिने कार्यक्रमहरूमा मात्रै हामी फोकस गर्छौँ । सदस्यलाई जे आवश्यक पर्छ विकुले त्यस्ता कार्यक्रममात्र गर्छ भन्ने छाप सदस्यहरूमा पर्दै आएको छ ।’

नसक्ने कामका लागि उनले सहकारी शिक्षा जारी राखेका छन् । जुन शिक्षामार्फत संस्थाले ती आवश्यकताहरू पूरा गर्न नसक्नुको नीतिगत कारणबारे स्पष्ट पार्दै आएको छ । समाज विकासका चार आयाममा विकू बचतले काम गर्दै आएको छ । ती हुन् बालबालिका, युवा, महिला र वृद्धवृद्धाका क्षेत्र । यी चार आयाममा फरकफरक खालका कार्यक्रम संस्थाले सञ्चालन गरेको छ ।

बालबालिका केन्द्रित छुनुमुनु कार्यक्रम, महिला केन्द्रित ‘महिलासँग विकू सभ्यता कार्यक्रम’, युवा केन्द्रित ‘कर्णधार’ कार्यक्रम र ज्येष्ठ/अग्रज सदस्यसँग ‘विकू आशीर्वाद’ कार्यक्रम संस्थाले सञ्चालन गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय