७ जेठ २०८३, बिहिबार

सहकारी बैंक निर्वाचन: पौड्याल-घिमिरेबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी?

२०८३ जेठ ७, बिहिबार
सहकारी बैंक निर्वाचन: पौड्याल-घिमिरेबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी?

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको सञ्चालक पद (बागमती प्रदेश) का लागि हुने निर्वाचनमा परितोष पौड्याल र रामशरण शर्मा घिमिरेबीच प्रतिस्पर्धा हुँदैछ। जेठ ९ गते शनिबार हुने निर्वाचनलाई लक्षित गर्दै दुवै उम्मेदवार यतिबेला चुनावी प्रचारप्रसार, मतदाता भेटघाट तथा विभिन्न अन्तरक्रिया कार्यक्रममा सक्रिय बनेका छन्।

बैंकको विनियमअनुसार सातै प्रदेशबाट एक/एक जना सञ्चालक निर्वाचित हुने व्यवस्था छ। अन्य ६ प्रदेशमा सहमतिमै नेतृत्व चयन भइसकेको भए पनि बागमती प्रदेशमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो।

निर्वाचन समितिका अनुसार सातै प्रदेशमा एकै दिन मतदान हुनेछ। कोशी प्रदेशको मतदान विराटनगरस्थित होटल मनास्लु इनमा, मधेश प्रदेशको बर्दिबासस्थित गौतम होटलमा, बागमती प्रदेशको काठमाडौंस्थित अनुपम फुडल्याण्डमा, गण्डकी प्रदेशको पोखरास्थित दीप सागर होटलमा, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित द दरबार इन प्रालिमा, कर्णाली प्रदेशको सुर्खेतस्थित कौशिक गार्डेनमा तथा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित होटल पौवामा मतदान हुने तय गरिएको छ।

बागमती प्रदेशको सञ्चालक पदमा मात्रै निर्वाचन हुन लागेको भए पनि सातै प्रदेशका प्रतिनिधि सदस्यले मतदान गर्नुपर्ने व्यवस्था छ। मतदान भोटिङ मेसिनमार्फत गरिनेछ।

प्रतिस्पर्धामा रहेका दुवै उम्मेदवारले आफ्ना योजना र प्रतिबद्धतासहित मतदातामाझ पुगिरहेका छन्। सहकारी अभियानमा लामो समयदेखि सक्रिय परितोष पौड्याल राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा नेफ्स्कूनका पूर्वअध्यक्ष हुन्। बचत तथा ऋण सहकारी क्षेत्रमा उनको लामो अनुभव छ। सहकारी क्षेत्रमै विद्यावारिधि गरेका पौड्याल बचत तथा ऋण सहकारी अभियानमा अध्ययन, अनुभव र नेतृत्वका हिसाबले परिचित व्यक्तित्वका रूपमा चिनिन्छन् ।

त्यस्तै रामशरण शर्मा घिमिरे यसअघि पनि राष्ट्रिय सहकारी बैंकको सञ्चालकका रूपमा काम गरिसकेका छन्। उनी हाल बागमती प्रदेश सहकारी संघका अध्यक्ष हुन् भने नेपाल पर्यटन केन्द्रीय सहकारी संघका निवर्तमान अध्यक्ष समेत रहिसकेका छन्।

दुवै उम्मेदवारले सहकारी क्षेत्रको सुदृढीकरण, सदस्य संस्थाको क्षमता अभिवृद्धि, प्रविधिमैत्री सेवा विस्तार तथा बैंकको प्रभावकारी भूमिका अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्।

दुबै उम्मेदवार आफ्ना-आफ्ना अनुभव, एजेण्डा र सहकारी क्षेत्रमा लामो संलग्नताका कारण बलिया प्रतिस्पर्धीका रूपमा देखिएका छन् । परितोष पौड्याल नीति, सुशासन र सहकारीमैत्री सुधारका एजेण्डासहित अघि बढिरहेका छन् भने रामशरण शर्मा घिमिरे संस्थागत अनुभव, सदस्य केन्द्रित सेवा र व्यवहारिक कार्यान्वयन क्षमतासहित मैदानमा छन् । दुवैको आ–आफ्नै आधार र समर्थन भएकाले बागमती प्रदेशको यो निर्वाचनलाई सहकारी वृत्तमा विशेष चासोका साथ हेरिएको छ । निर्वाचन नजिकिँदै जाँदा सहकारी वृत्तमा बागमती प्रदेशको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।

पौड्यालका एजेण्डा : सुशासन, पारदर्शिता र डिजिटल रुपान्तरणमा जोड

प्रतिस्पर्धी उम्मेदवार परितोष पौड्यालले सुशासन र पारदर्शितालाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन्। सहकारी क्षेत्रमा पछिल्लो समय सुशासन र पारदर्शितामाथि प्रश्न उठिरहेका बेला उनले यी मूल्य र मान्यतालाई पुनः स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सहकारीमै विद्यावारिधि गरेका पौड्यालले राष्ट्रिय सहकारी बैंकलाई थप उत्तरदायी, पारदर्शी र सदस्यमैत्री संस्थाको रुपमा विकास गर्ने लक्ष्यसहित ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।

नेपाल राष्ट्र बैंक तथा सहकारी विभागको नियामकीय दायराभित्र रहेर बैंक सञ्चालन गर्नुपर्ने भएकाले सुशासन र पारदर्शिता अपरिहार्य रहेको उनको भनाइ छ। सञ्चालक समितिलाई अनुकरणीय बनाउने दाबी गर्दै उनले बैंकको वित्तीय कारोबार, बोर्ड गभर्नेन्स र व्यवस्थापकीय पक्षलाई थप जिम्मेवार र जवाफदेही बनाइने बताएका छन्।

‘सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर सहकारी बैंकलाई वित्तीय समावेशीकरण, वित्तीय स्थायित्व र वित्तीय पहुँच विस्तारमा अग्रणी बनाउने गरी काम गर्नेछौं,’ पौड्यालले भने।

उनले ‘सशक्त सहकारी, विश्वसनीय बैंक, समृद्ध नेपाल’ भन्ने नारासहित सहकारीमैत्री नीति निर्माण, युवा तथा नवप्रवर्तन केन्द्रित अभियान, डिजिटल बैंकिङ विस्तार, सदस्य संस्था लक्षित सेवा प्रभावकारिता तथा क्षमता विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।

पौड्यालका ९ बुँदे प्रतिबद्धता
१) सहकारी मैत्री नीति, ऐन, नियमावली संशोधन तथा स्थिरताका लागि पहल गर्ने
२) वित्तीय स्थायित्व तथा सुदृढीकरण
३) पारदर्शिता तथा सुशासन
४) युवा तथा नवप्रवर्तनमा केन्द्रित अभियान
५) सहकारी बैंकिङको डिजिटल रुपान्तरण
६) सदस्य संघ संस्था केन्द्रित प्रभावकारी बैंकिङ सेवा तथा शिक्षा, तालिम, क्षमता विकासका कार्यक्रम संचालन गर्ने
७) समस्याग्रस्त तथा समस्याउन्मुख सहकारीलाई सहजीकरण गर्दै समाधानमुखी नीति अवलम्बन गर्ने
८) कर्मचारीहरुको सशक्तीकरण तथा वृत्तिविकासको प्रत्याभूति गर्ने
९) स्वनियमनको मर्म आत्मासाथ गर्दै एकद्वार नियामक निकायमा जोड दिने ।

घिमिरेको जोड: सदस्य केन्द्रित सेवा, सुशासन र सशक्त सहकारी बैंक
सहकारी क्षेत्रमा लामो अनुभव सँगालेका रामशरण शर्मा घिमिरेले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई सहकारी क्षेत्रमा देखिएका विद्यमान चुनौती समाधान गर्दै राष्ट्रिय सहकारी बैंकलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यसहित रहेको बताएका छन्।

घिमिरेका अनुसार सहकारी क्षेत्रको एकमात्र बैंक भएकाले राष्ट्रिय सहकारी बैंकको भूमिका आगामी दिनमा अझै महत्वपूर्ण बन्नेछ। पछिल्लो अध्यादेशले बचत तथा ऋणको कारोबार गर्ने संघहरूलाई तीन वर्षभित्र वित्तीय कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरेपछि ती संस्थाहरूको वित्तीय कारोबारको मुख्य केन्द्र सहकारी बैंक बन्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। त्यसैले बैंकलाई अझ सशक्त, सुरक्षित र मजबुत बनाउन आवश्यक रहेको उनले बताए।
१० बुँदे प्रतिवद्धता जारी गर्दै घिमिरेले सदस्य केन्द्रित सेवा विस्तार, सुशासन, पारदर्शिता र जवाफदेहिता, सहकारीहरूको क्षमता अभिवृद्धि, डिजिटल प्रविधि विस्तार तथा सुरक्षित, दिगो र उत्कृष्ट सहकारी बैंक निर्माणलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

प्रतिबद्धतामा सदस्यहरूको हकहित संरक्षण, सेवा–सुविधा र प्रविधि सुधार, युवा तथा महिलाको सहभागिता वृद्धि, सहकारी मूल्य–मान्यता र सिद्धान्तको संरक्षण, बैंक व्यवस्थापन र सदस्यबीच सहकार्य सुदृढीकरण तथा इमानदारी र निष्पक्षतामा आधारित कार्यशैलीलाई प्राथमिकतामा राखेका छन्। घिमिरेले मददाताहरुलाई भनेका छन्, ‘तपाईंहरूको विश्वासलाई सम्मान गर्दै राष्ट्रिय सहकारी बैंकको सर्वाङ्गीण विकासका लागि निरन्तर जिम्मेवार र प्रतिबद्ध भएर काम गर्नेछु ।’

घिमिरेका १० प्रतिवद्धता
१) सदस्यहरुको हकहित, समस्या र सुझावलाई प्राथमिकताका साथ उठाउन गर्नेछु ।
२) बैंकको पारदर्शिता, सुशासन र उत्तरदायिालाई सुद्ध बनाउन सक्रिय भूमिका निर्वाह गर्नेछु ।
३) बैंकको सेवा९सुविधा, पहुँच र प्रविधि सुधारका लागि निरन्तर आवाज उठाउनेछु ।
४) युवा महिला तथा सबै सदस्यको सहभागिता वृद्धि गर्न विशेष पहल गर्नेछु ।
५) सहकारीमा पारदर्शी सेवा र सुशासनका लागि आवश्यक कदम चाल्नेछु ।
६) सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै संस्थाको गरिमा र विश्वसनीनतालाई अझ सशक्त रूपमा कायम राख्नेछु ।
७) बैंक व्यवस्थापन र सदस्यबीचको सुमधुर सम्बन्ध र सहकार्यलाई उच्च स्तरमा कायम राख्नेछु ।
८) बैंक व्यवस्थापन र सदस्यबीचको सुमधुर सम्बन्ध र सहकार्यलाई उच्च स्तरमा कायम राख्नेछु ।
९) तपाईहरूको अपार विश्वासलाई सम्मान गर्दै सधैँ इमानदारी, निष्पक्षता र जिम्मेवारीपूर्वक काम गर्ने परिपाटी कायम राख्नेछु ।
१०) सबै सदस्यहरूको हकहित संरक्षण गर्दै राष्ट्रिय सहकारी बैंकको सर्वाङ्गीण विकासका लागि प्रतिबद्धता र निरन्तर प्रयास कायम राख्नेछु।

अभिलेख

लोकप्रिय