२६ साउन २०८३, मङ्गलबार

नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण

२०८३ साउन २५, सोमबार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्मचारी क्षमता अभिवृद्धिसँगै आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्ययोजना तथा लक्ष्य निर्धारण गरेको छ।

संस्थाले २०८३ साउन २३ गते शनिबार होटल क्रिस्टल पशुपतिमा कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विश्लेषण, आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजना निर्माण एवं लक्ष्य हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष शर्मिला शिल्पकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उच्च व्यवस्थापन तथा संस्थामा आबद्ध सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो।

कर्मचारी क्षमता अभिवृद्धि तालिमअन्तर्गत प्रख्यात लाइफ कोच, मोटिभेशनल स्पिकर, मनोवैज्ञानिक परामर्शदाता तथा कर्पोरेट विज्ञ डा. रविन कटवालले ‘Profession with Passion’ विषयमा प्रशिक्षण दिनुएको थियो। प्रशिक्षणमा कर्मचारीको कार्यप्रतिको समर्पण, जिम्मेवारीबोध, सकारात्मक सोच, नेतृत्व क्षमता, सेवामुखी व्यवहार तथा संस्थागत लक्ष्यप्रतिको प्रतिबद्धता अभिवृद्धिमा विशेष जोड दिइएको थियो।

यस्तै, संस्थाले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय अवस्था, उपलब्धि, चुनौती तथा सिकाइहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्पष्ट लक्ष्य, रणनीति र कार्ययोजना तय गरेको छ।

आगामी वर्ष संस्थाले दिगो विकास, उत्कृष्ट सेवा प्रवाह, प्रभावकारी कर्जा व्यवस्थापन, बचत परिचालन, प्रविधिमैत्री सेवा विस्तार तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखेको संस्थाका सचिव विकल्प पाठकले जानकारी दिनुभयो।

कार्यक्रमले कर्मचारीहरूको व्यक्तिगत तथा व्यावसायिक क्षमता विकाससँगै संस्थाको समग्र कार्यसम्पादनलाई थप प्रभावकारी र परिणाममुखी बनाउन योगदान पुग्ने विश्वास लिइएको सचिव पाठकको भनाई छ।

निर्धारित लक्ष्य हासिल गर्न कर्मचारी, व्यवस्थापन तथा सञ्चालकबीच प्रभावकारी समन्वय, जिम्मेवार कार्यसम्पादन र साझा प्रतिबद्धताका साथ अघि बढ्ने प्रतिबद्धता कार्यक्रममा व्यक्त गरिएको थियो।

अभिलेख

लोकप्रिय