१० असार २०८३, बुधबार

विश्वास, पारदर्शिता र सहकार्यको सन्देश दिँदै ज्योति मिर्मिरेले मनायो २७औँ वार्षिक उत्सव

२०८२ चैत १०, मङ्गलबार
विश्वास, पारदर्शिता र सहकार्यको सन्देश दिँदै ज्योति मिर्मिरेले मनायो २७औँ वार्षिक उत्सव

काठमाडौं : काभ्रेपलाञ्चोक जिल्लाको पनौतीलाई आधारभूमि बनाएर दुई दशकभन्दा बढी समयदेखि सहकार्य, विश्वास र आत्मीयताको यात्रामा अघि बढिरहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७औँ वार्षिक उत्सवलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई भावनाको संगमका रूपमा भव्य रूपमा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारी केवल आर्थिक कारोबारको माध्यम मात्र नभई जीवनका हरेक क्षणमा साथ दिने भरोसायोग्य संरचना भएको सन्देश प्रवाह गरिएको थियो। सो अवसरमा ६१७ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सदस्यहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले गर्नुभएको थियो भने उपाध्यक्ष कान्छीमैया थापाले आत्मीय स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाले उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट विद्यार्थी तथा लक्ष्यमा अब्बल सेवा केन्द्रलाई सम्मान गर्दै सफलता सामूहिक प्रयासको परिणाम भएको सन्देश दिएको छ।

यसैगरी, बनेपा सेवा केन्द्रका कर्मचारी सुदीप तिमल्सिनालाई यस वर्षको ‘उत्कृष्ट कर्मचारी’ घोषणा गर्दै सम्मान गरिएको थियो । उक्त सम्मानलाई संस्थाले इमान्दार श्रम, समर्पण र संस्थाप्रतिको निष्ठाको कदरका रूपमा लिइएको छ ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ, नेपाल पत्रकार महासंघका पदाधिकारी, वर्तमान अध्यक्ष तथा कोषाध्यक्ष, पूर्व अध्यक्ष, प्रारम्भिक संस्थाका प्रतिनिधि, कोअपरेटिभ म्यानेजर्स क्लबका सचिव तथा कार्यसमिति सदस्य, साथै पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो । अतिथिहरूले ज्योति मिर्मिरे सामूहिकलाई विश्वास, पारदर्शिता र सदस्यप्रतिको उत्तरदायित्वमा अडिग संस्थाको रूपमा प्रशंसा गरेका थिए।

ज्येष्ठ नागरिक भत्तालाई बचतसँग जोड्ने सोच, समयप्रति प्रतिबद्ध कार्यशैली र प्रविधिमैत्री अभ्यासहरूले संस्थालाई भविष्यतर्फ उन्मुख बनाउँदै लगेको संकेत गरेको छ। साना–साना बचतहरूलाई ठूलो आशामा रूपान्तरण गर्दै, व्यक्तिगत सपनालाई सामूहिक यात्रामा बदल्ने लक्ष्यसहित संस्था अघि बढिरहेको छ।

२७औँ वार्षिक उत्सवले सहकारी संस्था केवल आर्थिक कारोबारको थलो नभई सम्बन्ध, भरोसा र सहकार्यको माध्यम भएको पुष्टि गरेको छ, जसले समुदायलाई जोड्दै, सशक्त बनाउँदै र अघि बढाउँदै आएको छ। उक्त कार्यक्रम सञ्चालक समिति, उपसमिति, कर्मचारी तथा सदस्यहरूको उल्लेख्य सहभागितामा सम्पन्न भएको थियो।

अभिलेख

लोकप्रिय