६ चैत २०८२, शुक्रबार

ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय सहकारी बैंकद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन

२०८२ चैत ४, बुधबार
ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय सहकारी बैंकद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन

ललितपुर : राष्ट्रिय सहकारी बैंक ले ग्लोबल मनी विक २०२६ को अवसरमा “वित्तीय साक्षरता कार्यक्रम” सञ्चालन गरेको छ। बैंकले ‘Smart Money Talks’ भन्ने नाराका साथ सोमबार भर्चुअल माध्यममार्फत सञ्चालित कार्यक्रमले सदस्य सहकारी संघ संस्थाको वित्तीय व्यवस्थापनमा सहयोग पुग्नुको साथै वित्तीय साक्षरता सम्बन्धी चेतना, ज्ञान र सिपको अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सहकारी संस्थाहरू आर्थिक सशक्तीकरणका महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले सहकारी संस्थामा आबद्ध सञ्चालक, कर्मचारी तथा प्रतिनिधिहरूले आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरताबारे सचेत गराउनुपर्ने बताउनुभयो।

उहाँका अनुसार वित्तीय साक्षरताले व्यक्तिलाई आम्दानी व्यवस्थापन, खर्च नियन्त्रण, बचत तथा लगानीको सही योजना बनाउन आवश्यक ज्ञान र सीप प्रदान गर्छ। यसले व्यक्तिलाई आफ्नो आर्थिक अवस्था बुझ्न, वित्तीय लक्ष्य निर्धारण गर्न र भविष्यका लागि सुरक्षित आर्थिक मार्गचित्र तयार गर्न सहयोग पुर्‍याउँछ। अध्यक्ष गिरीले सहकारीका सदस्यहरूलाई वित्तीय साक्षरताबारे सचेत गराउन सके सहकारी संस्थाहरूको वित्तीय अनुशासन र पारदर्शिता बढ्ने तथा सदस्यहरूको आर्थिक जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहकारी प्रशिक्षक कुवेर निरौलाले वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण गर्दै वित्तीय योजना, बचतको महत्व, आय-व्यय व्यवस्थापन, कर्जाको सदुपयोग तथा वित्तीय जोखिम व्यवस्थापनजस्ता विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो। उहाँले डिजिटल कारोबारलाई प्राथमिकता दिइ डिजिटल वित्तीय सेवाहरूको प्रयोग प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रमको समापन गर्दै बैंकका निवर्तमान अध्यक्ष रमेश पोखरेलले वित्तीय साक्षरता आजको समयको महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले सहकारी क्षेत्रमार्फत समुदायस्तरमा वित्तीय शिक्षाको पहुँच विस्तार गर्न सके आर्थिक समावेशीकरण र दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

बैंकको व्यवसाय विकास डिभिजनका प्रमुख मधु रायमाझी ले सञ्चालन गर्नुभएको कार्यक्रममा देशभरका विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरू, सञ्चालक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सन् २०१२ देखि १७६ भन्दा बढी मुलुकमा मनाइँदै आएको ग्लोबल मनी विक मुख्यतः किशोर-किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले सञ्चालन गरिएको विश्वव्यापी अभियान हो ।

राष्ट्रिय सहकारी बैंकले पनि यस अभियानलाई सहकारी क्षेत्रसँग जोड्दै आफ्ना शाखा कार्यालयहरूमार्फत देशभर वित्तीय साक्षरता कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। बैंकका अनुसार सहकारी संस्थामार्फत समुदायस्तरमा वित्तीय शिक्षाको पहुँच बढाउँदै आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने जनाएको छ।

अभिलेख

लोकप्रिय