सहकारीमा सदस्यको व्यवसायिक संलग्नता: स्वैच्छिक कि अनिवार्य ?
सहकारी संस्था सामूहिक हितका लागि सदस्यहरूको स्वैच्छिक सहभागितामा आधारित सामाजिक व्यवसायिक संस्था हो । कुनै पनि सहकारीको दीगो विकास सदस्यहरूको सक्रिय सहभागितामा निर्भर रहेको हुन्छ । यस लेखमा सहकारीमा सदस्यको व्यवसायिक संलग्नताको प्रकृति—स्वैच्छिक कि अनिवार्य—भन्ने विषयलाई सहकारी सिद्धान्त, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी तथा व्यवहारिक सन्दर्भमा विश्लेषण गर्ने प्रयास गरेको छु ।
अध्ययनले देखाउँछ कि सदस्यताको स्वैच्छिकता सहकारीको मूल सिद्धान्त भए तापनि, सहकारीको प्रकारअनुसार सदस्यको व्यवसायिक संलग्नता विभिन्न स्तरमा अनिवार्य आवश्यक हुन्छ । विशेषतः उत्पादनमुखी सहकारीमा व्यवसायिक संलग्नता अनिवार्यजस्तै हुन्छ भने वित्तीय र उपभोक्ता सहकारीमा सहकारी संस्थाको सफलताको आधार आर्थिक सहभागिता प्रमुख बन्छ । यो लेखले निष्कर्षस्वरूप सहकारीको प्रकृतिअनुसार सदस्य संलग्नताको सन्तुलित मोडेल आवश्यक रहेको निष्कर्ष प्रस्तुत गर्दछ ।
१. प्रस्तावना
सहकारी संस्था आधुनिक अर्थतन्त्रमा वैकल्पिक आर्थिक प्रणालीका रूपमा संसारभर स्थापित भएको छ । निजी क्षेत्रको नाफामुखी दृष्टिकोण र राज्यको नियन्त्रणमुखी दृष्टिकोणभन्दा फरक, सहकारीले सदस्यहरूको साझा आवश्यकता र हितलाई केन्द्रमा राखेर व्यवसाय सञ्चालन गर्दछ । सहकारीको मूल दर्शन “सहभागिता” हो, जसले सदस्यहरूलाई केवल सेवाग्राही होइन, स्वामित्व र निर्णय प्रक्रियाको हिस्सेदार बनाउँछ ।
सहकारीको सफलताका लागि सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य हुन्छ । तर सदस्यताको प्रकृति र सदस्यको व्यवसायिक संलग्नताको स्तरबारे स्पष्ट अवधारणाको अभाव रहेको पाइन्छ । यही सन्दर्भमा सहकारीमा सदस्यको व्यवसायिक संलग्नता स्वैच्छिक कि अनिवार्य भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
२. सैद्धान्तिक ढाँचा
२.१ सहकारीको अवधारणा
अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) अनुसार सहकारी भनेको “साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षालाई संयुक्त रूपमा स्वामित्व र लोकतान्त्रिक रूपमा नियन्त्रण गरिएको उद्यममार्फत पूरा गर्ने स्वैच्छिक संगठन” हो ।
यस परिभाषाले सहकारीका तीन प्रमुख आधार प्रस्तुत गर्दछ :
सदस्यता : स्वैच्छिक
नियन्त्रण : लोकतान्त्रिक
सहभागिता : आर्थिक
२.२ सहकारीका सिद्धान्त र सदस्य सहभागिता
ICA द्वारा स्थापित सात सिद्धान्तमध्ये दुई सिद्धान्त यस अध्ययनसँग प्रत्यक्ष सम्बन्धित छन् ।
(क) स्वैच्छिक र खुला सदस्यता
यस सिद्धान्तअनुसार सहकारीमा सदस्यता स्वैच्छिक हुन्छ । कुनै पनि व्यक्ति सहकारीको उद्देश्यसँग साझा उद्देश्य वा साझा आवश्यकता मिलेमा सदस्य बन्न सक्छ ।
(ख) सदस्यहरूको आर्थिक सहभागिता
यस सिद्धान्तअनुसार सदस्यहरूले पूँजीमा योगदान अनिवार्य हुन्छ । साथै सहकारीका सेवा वा व्यवसायमा संलग्नता हुनुपर्दछ र लाभ–हानिमा सबै सदस्य सहभागी हुन्छन् ।
यसले स्पष्ट गर्छ कि सहकारीमा सदस्यता केवल औपचारिक हैसियत होइन, आर्थिक र व्यवसायिक सहभागिताको प्रक्रिया हो ।
३. सदस्यको व्यवसायिक संलग्नताको अवधारणा
सदस्यको व्यवसायिक संलग्नता भन्नाले सहकारीको उद्देश्यसँग सम्बन्धित आर्थिक गतिविधिमा सदस्यको प्रत्यक्ष सहभागितालाई जनाउँछ । यसलाई तीन तहमा वर्गीकृत गर्न सकिन्छ :
क. प्रत्यक्ष उत्पादन सहभागिता (Producer Participation)
ख. सेवा उपयोग सहभागिता (User Participation)
ग. पूँजीगत सहभागिता (Capital Participation)
यी तीन तह सहकारीको प्रकारअनुसार फरक–फरक रूपमा लागू हुन्छन् ।
४. अन्तर्राष्ट्रिय अभ्यास
४.१ उत्पादनमुखी सहकारी
क. भारतको अमूल सहकारी
अमूल सहकारी दुग्ध उत्पादक किसानहरूद्वारा स्थापित उत्पादन सहकारी हो । यहाँ सदस्य बन्न दुग्ध उत्पादन र सहकारीमार्फत दूध बिक्री–वितरण अनिवार्य सर्त हुन्छ । यसले उत्पादन सहकारीमा सदस्यताको आधार उत्पादनसँग प्रत्यक्ष सम्बन्ध रहेको देखाउँछ ।
ख. जापानको कृषि सहकारी
जापानको कृषि सहकारी प्रणालीमा किसान मात्र सदस्य बन्न सक्छन् । उत्पादन, वित्तीय सेवा र बजार व्यवस्थापन सहकारीमार्फत सञ्चालन हुन्छ । यहाँ व्यवसायिक संलग्नता अनिवार्य प्रकृतिको हुन्छ । सदस्यले उत्पादन गरेको कृषि उपज अनिवार्य रूपमा सहकारीको संलग्नतामा मात्र बिक्री–वितरण गर्न पाउने व्यवस्था कानुनतः गरिएको छ ।
ग. इजरायलको किबुज र मोशाद
इजरायलको किबुज प्रणाली सामूहिक उत्पादनमा आधारित छ, जहाँ सदस्यको उत्पादन सामूहिक स्वामित्वमा हुन्छ । मोशाद प्रणालीमा व्यक्तिगत उत्पादन भए पनि बजार व्यवस्थापन बिक्री–वितरण सहकारीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । यी मोडेलहरूले सदस्यको व्यवसायिक संलग्नता संस्थागत रूपमा अनिवार्य बनाएको देखाउँछन् ।
४.२ उपभोक्ता सहकारी
रोचडेल सहकारी उपभोक्ता सहकारीको प्रारम्भिक उदाहरण हो । यहाँ सदस्यता स्वैच्छिक भए तापनि, सहकारीको सेवा उपयोग सदस्यको आर्थिक सहभागिताको मुख्य आधार थियो । वस्तु खरिद नगर्ने सदस्यको आर्थिक सहभागिता कमजोर हुने भएकाले व्यवहारिक रूपमा सेवा उपयोग आवश्यक थियो ।
४.३ वित्तीय सहकारी
वित्तीय सहकारी (Credit Union, SACCOs) मा सदस्यको व्यवसायिक संलग्नता अनिवार्य हुँदैन । तर बचत, ऋण र अन्य वित्तीय सेवाको उपयोगमा सहभागिता आवश्यक प्रकृतिको हुन्छ । सेवा उपयोगमा सदस्यको सहभागिता रहेन भने यी संस्थाहरू दीर्घ रूपमा सञ्चालन र सफल हुन सक्दैनन् । वित्तीय सहकारीको अस्तित्व नै बचत र ऋण कारोबारमा आधारित हुन्छ ।
५. नेपालको सन्दर्भमा विश्लेषण
नेपालमा सहकारीको विकास तीव्र रूपमा भएको छ । सहकारी संस्थाको संख्या वृद्धि भए तापनि सदस्यको सक्रिय सहभागिता कमजोर रहेको पाइन्छ । आधारभूत तहमा सही सहकारी शिक्षाको अभावमा यो प्रणालीको दुरुपयोग गर्ने प्रयास हालका समयमा बढ्दो रूपमा देखिएको छ ।
५.१ कानुनी अवस्था
नेपालको सहकारी ऐन, २०७४ ले सदस्यताको आधार “सहकारीको उद्देश्यसँग सम्बन्धित व्यक्ति” भनेर परिभाषित गरेको छ । तर व्यवसायिक संलग्नताको स्पष्ट मापदण्ड निर्धारण गरिएको छैन ।
५.२ व्यवहारिक अवस्था
नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश सहकारीहरूले वित्तीय प्रकृतिको कारोबार गरेका छन् । यहाँ सदस्यहरू प्रायः सहजै ऋण लिने वा बचतमा अधिक ब्याज पाउने उद्देश्यले सदस्य बनेको पाइन्छ । सहकारी सञ्चालनको मर्म र सोअनुसारको व्यवहार प्रयोगमा निकै कमजोर अवस्था रहेको छ । उत्पादनमुखी तथा उपभोक्ता सहकारी कमजोर अवस्थामा रहेका छन् ।
५.३ प्रमुख समस्या
निष्क्रिय सदस्यताको वृद्धि
सहकारी र बैंक तथा वित्तीय संस्था बीचको सीमारेखा अस्पष्ट हुनु
उत्पादन (किसान) र बजार (बिक्री–वितरण) बीच कमजोर सम्बन्ध
बहुउद्देश्यीय सहकारी सञ्चालनबारे अस्पष्ट बुझाइ
६. चर्चा
सहकारीको मूल दर्शन स्वैच्छिक सहभागितामा आधारित भए तापनि, यसको सफलताका लागि सदस्यको सक्रिय सहभागिता अनिवार्य आवश्यक हुन्छ । यदि सदस्य केवल औपचारिक रूपमा मात्र सदस्य रहे भने सहकारीको अस्तित्व नै संकटमा पर्छ ।
यसैले सहकारीमा सदस्यताको दुई तह देखिन्छ :
कानुनी सदस्यता (Legal Membership)
कार्यात्मक सदस्यता (Functional Membership)
कार्यात्मक सदस्यता भनेको सदस्यको वास्तविक आर्थिक र व्यवसायिक सहभागिता हो ।
७. निष्कर्ष
यस अध्ययनले देखाउँछ कि सहकारीमा सदस्यको व्यवसायिक संलग्नता न त पूर्ण रूपमा स्वैच्छिक मात्र हुन्छ, न त सबै सहकारीमा अनिवार्य नै हुन्छ ।
सहकारीको प्रकृतिअनुसार :
उत्पादन सहकारीमा व्यवसायिक (बिक्री) संलग्नता अनिवार्य हुन्छ ।
उपभोक्ता सहकारीमा सेवा उपयोग व्यवहारिक रूपमा आवश्यक हुन्छ ।
वित्तीय सहकारीमा संलग्नता स्वैच्छिक भए तापनि आर्थिक (बचत र ऋण) सहभागिता अनिवार्य प्रकृतिको हुन्छ ।
यसर्थ, सहकारीको दीगो विकासका लागि सदस्यताको स्वैच्छिकता र व्यवसायमा सहभागिताको अनिवार्यताबीच सन्तुलन आवश्यक छ ।
८. सिफारिस
नेपालको सहकारी प्रणालीलाई प्रभावकारी बनाउन निम्न उपायहरू आवश्यक छन् :
क. सहकारीका प्रकारअनुसार ऐन–कानुन निर्माण
ख. सक्रिय सदस्यताको अवधारणा विकास
ग. सहकारी ऐनमा सदस्य संलग्नताको स्पष्ट मापदण्ड निर्धारण
घ. उत्पादन र उपभोक्ता सहकारीको प्रवर्द्धनमा राज्यको स्पष्ट मापदण्डसहित लगानी
ङ. औपचारिक शिक्षा (माध्यमिक तह) मा सहकारी शिक्षाको अनिवार्य विस्तार
९. उपसंहार
सहकारी संस्था केवल आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, सामाजिक आन्दोलन पनि हो । यसको सफलता सदस्यहरूको सक्रिय सहभागितामा निर्भर हुन्छ । संस्थामा आवद्धता सदस्यताको स्वैच्छिकता सहकारीको लोकतान्त्रिक आधार भए तापनि, व्यवसायमा सहभागिता बिना सहकारीको अस्तित्व सम्भव हुँदैन । यसैले सहकारीमा सदस्यको व्यवसायिक संलग्नता सहकारीको प्रकारअनुसार सन्तुलित रूपमा व्यवस्थापन गर्ने नीति आजको आवश्यकता भएको स्पष्ट हुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काठमाडौं महानगरपालिकाको आग्रह: सहकारीमा बचत अघि पाँच कुरा अनिवार्य जाँच्नुहोस्
५ फाल्गुन २०८२, मंगलवार
सहकारीमा सदस्यको व्यवसायिक संलग्नता: स्वैच्छिक कि अनिवार्य ?
५ फाल्गुन २०८२, मंगलवार