१६ जेठ २०८३, शनिवार

काभ्रेमा ‘सहकारी क्षेत्रमा एआई प्रयोग’ विषयक एकदिवसीय तालिम सम्पन्न

२०८२ मंसिर २४, बुधबार
काभ्रेमा ‘सहकारी क्षेत्रमा एआई प्रयोग’ विषयक एकदिवसीय तालिम सम्पन्न

काभ्रे : जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा “सहकारी क्षेत्रमा AI (Artificial Intelligence) को प्रयोग” विषयक एकदिवसीय तालिम बुधबार सम्पन्न भएको छ। संघका शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति संयोजक शान्ती लामा तामाङको सभापतित्वमा तथा संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा प्रविधि विज्ञ सन्दिपराज भाटले सहजकर्ताको भूमिकामा रहँदै सहकारी क्षेत्रका विविध काममा एआई प्रविधिको प्रभावकारी उपयोगबारे प्रशिक्षण दिइएकाे थियो।

तालिममा एआईमार्फत सहकारी संस्थाको सुशासन, सेवा प्रवाह, वित्तीय व्यवस्थापन, जोखिम विश्लेषण तथा सदस्य–संवाद प्रणालीलाई कसरी प्रविधिमैत्री र प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। एआई आधारित डेटा विश्लेषण, लेखा व्यवस्थापन, सूचना प्रशासन, स्वचालित सदस्य सेवा तथा कागजी कार्यको डिजिटल रूपान्तरणबारे सहभागीहरूलाई प्रयोगात्मक रूपमा प्रशिक्षण दिइएको संघले जनाएको छ।

कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा काभ्रे जिल्लाका विभिन्न सहकारी संस्थाबाट ३२ जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम संचालन संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले गर्नुभएको थियाे।

अध्यक्ष अमन पोटे श्रेष्ठले शुभकामना मन्तव्य दिँदै सहकारीलाई दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन प्रविधि अभिमुखता अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयाे । सचिव प्रकाश बञ्जाराले प्रविधिका सकारात्मक–नकारात्मक दुवै पक्ष हुने भएकाले सिकाइको सही उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे । कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाले एआईसम्बन्धी तालिमले कर्मचारी र संस्थागत व्यवस्थापन दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयाे ।

समापन सत्रमा उपाध्यक्ष तथा शिक्षा–तालिम उपसमिति संयोजक शान्ती लामा तामाङले सहकारीहरूलाई आधुनिक प्रविधि उपयोगमार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्न संघ सदैव सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

तालिमबाट सहभागीहरूले आवश्यक सीप, ज्ञान र आत्मविश्वास प्राप्त गरेको तथा तालिमपछि संकलित सुझाव–अनुभवले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम निर्माणमा सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले जानकारी दिनुभयाे।

अभिलेख

लोकप्रिय