३ माघ २०८२, शनिवार

‘प्रेरणादायी सहकारी नेतृत्व’ अन्तर्राष्ट्रिय अवार्ड खेम बहादुर पाठकलाई

२०८२ मंसिर ११, बिहिबार
‘प्रेरणादायी सहकारी नेतृत्व’ अन्तर्राष्ट्रिय अवार्ड खेम बहादुर पाठकलाई

काठमाडौं : सहकारी अभियन्ता खेम बहादुर पाठक ‘प्रेरणादायी सहकारी नेतृत्व’ अवार्डबाट सम्मानित भएका छन्। श्रीलंकाको कोलम्बोमा आयोजित अन्तर्राष्ट्रिय सहकारी महासंघ, आइसीए एपीको कार्यक्रममा नेपालका सक्रिय सहकारी अभियन्ता पाठकलाई नेपालको सहकारी अभियानमा गरेको योगदानको कदर गर्दै प्रेरणादायी सहकारी नेतृत्वका रुपमा अवार्ड प्रदान गरिएको हो।

नेपालको सहकारी अभियानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पाठकलाई सहकारी क्षेत्रको सुधार, विस्तार र व्यवहारिक रुपान्तरणमा गरेको योगदानका आधारमा अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गरिएको हो।

विशेषगरी ग्रामीण क्षेत्रमा सहकारी पहुँच विस्तार, सदस्य सचेतना अभिवृद्धि तथा सहकारीहरूलाई दिगो तथा जिम्मेवार व्यवस्थापनतर्फ डोर्याउन उहाँले गरेको निरन्तर प्रयासको उच्च कदर गर्दै यो अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा एशिया प्रशान्त क्षेत्रमा सहकारी अभ्यासको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरू नेपालबाट खेम बहादुर पाठक र एक जना फिलिपिन्सका सहकारी अभियन्तालाई सम्मान गरिएको थियो। नेपालका तर्फबाट प्रेरणादायी सहकारी नेतृत्वकर्ताको रूपमा पाठकले यो अवार्ड प्राप्त गरेका हुन्।

पाठकले यस सम्मानले आफूलाई अझ जिम्मेवार र प्रभावकारी रूपमा सहकारी अभियान अघि बढाउन प्रेरणा मिलेको प्रतिक्रिया व्यक्त गरेका छन् ।

केही समय यता पाठकले साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., प्रदेश संघ, जिल्ला संघ एवम् प्रारम्भिक संस्थाहरुको सहयोगमा देशव्यापी सहकारी जागरण अभियान सञ्चालन गर्दै आएका छन् ।

यो अभियानले सहकारीका सञ्चालक, सदस्य, कर्मचारीमा सहकारीको दिगोपना, आर्थिक उन्नती, सुशासन लगायतका विषयमा सकारात्मक परिवर्तन गर्न सहयोग पुगेको देखिन्छ ।

पाठक साना किसान विकास लघुवित्त वित्तीय संस्था, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिका अध्यक्ष समेत हुन् । उनी राष्ट्रिय सहकारी महासंघ नेपालका समेत उपाध्यक्ष हुन्।

अभिलेख

लोकप्रिय