१८ वैशाख २०८३, शुक्रबार

एकीकृत फ्रेण्डसिप साकोसको ११औं साधारण सभा सम्पन्न, कुल सम्पत्ति १ अर्ब ४३ करोड नाघ्यो

लेखामा संयोजकमा प्रेम बहादुर खत्री र सदस्यमा अजित कुमार श्रेष्ठ निर्वाचित

२०८२ कात्तिक २, आईतवार
एकीकृत फ्रेण्डसिप साकोसको ११औं साधारण सभा सम्पन्न, कुल सम्पत्ति १ अर्ब ४३ करोड नाघ्यो

काठमाडौं : जिरी न.पा.-५, जिरी, दोलखा स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। शनिबार संस्थाको मुख्य कार्यालयको सभाहलमा एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा संस्थाका अध्यक्ष भुमिराज खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रम संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले सञ्चालन गर्नु भएको थियो भने उपस्थित सम्पूर्णलाई संस्थाका कोषाध्यक्ष उद्धव कुमार कार्कीले स्वागत मन्तव्यमार्फत स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले सभाको निर्णयहरुलाई प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थामा रिक्त रहेको लेखा सुपरीवेक्षण समिति संयोजक र सदस्य पदमा निर्वाचनमार्फत प्रेम बहादुर खत्री संयोजक र अजित कुमार श्रेष्ठ सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा उहाँहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको थियो । 

कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, एकाई सभाहरूबाट छनौट हुनु भएका कुल २७ जना प्रतिनिधिहरू तथा संस्थामा कार्यरत व्यवस्थापन समूहको उपस्थिति थियो । निर्णय प्रमाणित सभामा विभिन्न मितिमा सम्पन्न एकाइ बैठकमा पेश भएका प्रतिवेदनहरु र प्रस्तावहरु उपर आवश्यक छलफल सहित निर्णय पारित गरिएको छ । छलफलमा उठेका प्रश्नहरुको संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतज्यूले सम्बोधन गर्नुभएको थियो ।

२०४८ सालमा सुन्दर पर्यटकीय नगरी जिरीमा तत्कालीन फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट शुरुवात भएको यस सहकारीको यात्रामा २०७१ सालमा ९ वटा सहकारी र त्यसपछि विभिन्न समयमा ७ वटा गरी १६ वटा सहकारी एउटै परिवारमा एकीकृत भई अनवरत रुपमा सदस्य र समुदायको हितमा अघि बढिरहेको छ ।

समुदायको आर्थिक उन्नति र सदस्यको जीवनस्तर उकास्न गुणस्तरीय सेवा दिने दिगो, प्रतिस्पर्धी र उत्कृष्ट वित्तीय सहकारी बनाउने सपनाका साथ विभिन्न स्तरीकरणका कार्यक्रममा आवद्ध रही समय सापेक्ष र सदस्यको आवश्यकता बमोजिमको सेवा सुविधाहरु प्रदान गर्दै संस्थाले आजको स्थान प्राप्त गर्न सफल भएको संस्थाका अध्यक्ष खड्काले बताउनुभयो ।

जिरीमा मुख्य कार्यालय भई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौँ जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चालित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि., दोलखा जिल्लामा सबै भन्दा धेरै सहकारीहरु बीच एकीकरण भई एकीकरण अभियानमा अग्रणी भूमिका खेल्ने संस्थाको रुपमा परिचित छ ।

संस्थाले हालसम्म दोलखा जिल्लामा ६ वटा, रामेछाप जिल्लामा ७ वटा र काठमाडौँ जिल्लामा १ वटा गरी कुल १४ स्थान र ४४ जना कर्मचारीसहित आफ्ना सदस्य र समुदायलाई बचत, ऋण, बीमा र रेमिट्यान्स जस्ता वित्तीय सेवा र सदस्य स्वास्थ्य, सुरक्षा, शैक्षिक, सम्मान, ज्येष्ठ सदस्य सम्मान, समाजिक उत्तरदायित्व वहन, वित्तीय शिक्षा, तालिम आदि कृयाकलापहरु सञ्चालन गरीरहेको छ ।

आ.व २०८१/०८२ मा संस्थाको सेयर पुँजी ११ करोड २७ लाख, बचत १ अर्ब २१ करोड, लगानी १ अर्ब र कुल सम्पत्ति १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । संस्थामा १६ हजार ३ सय ६८ जना सदस्य छन् ।

अभिलेख

लोकप्रिय