३ वैशाख २०८३, बिहिबार

सयपत्री साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

२०८२ असोज ५, आईतवार
सयपत्री साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

भक्तपुर : भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ९ स्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन संस्थापक ज्येष्ठ सदस्य बुद्धिबहादुर ङाखुसीले गर्नुभएको थियो । सभामा संस्थाका अध्यक्ष हरिगोपाल बासुकलाले पछिल्लो समय सहकारी अभियानले समस्या र चुनौतीहरु सामना गरिरहेको बताउनुभयो ।

सहकारीको मर्म, भावना र स्वालम्बनबाट विचलित भई सञ्चालित सहकारी संस्थाहरु संकटमा परेको भन्दै उहाँले समुदायमा आधारित भएर सुशासनमा सञ्चालित सहकारी संस्थाहरु समस्यामा नपरे स्पष्ट पानुभयो ।

सदस्यहरुले खाई नखाई सुरक्षित भविष्यको लागि गरेको बचत र सदस्यहरुको विश्वास माथि खेलबाड गर्ने सहकारी संस्थाहरुका कारण सबै सहकारी संस्थाप्रति नै आमनागरिकले हेर्ने दृष्टिकोण नकारात्मक हुनु चिन्ताको विषय रहेको उहाँको भनाइ थियो ।

संस्थाका सचिव सत्यराम थुयाजूले आ.व. २०८१/८२ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद मचामसीले आर्थिक प्रतिवेदन, ऋण उपसमितिका संयोजक नारायणभक्त थुयाजूले ऋण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बाबुकाजी माकजूले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गनुभएको थियो । उक्त प्रतिवेदनहरु माथि छलफलसँगै सदस्यहरुबाट उठेका प्रश्नहरुको सम्बन्धित पक्षबाट जवाफ दिइएपछि सभामा प्रस्तुत प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

सचिव थुयाजूबाट प्रस्तुत आ.व. २०८१/०८२ को प्रगति प्रतिवेदन, बचत तथा ऋण नीतिमा गरिएको संशोधन, विनियम पुनर्लेखन एवं आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मचामसीबाट प्रस्तुत आ.व. २०८१/०८२ को आर्थिक प्रतिवेदन तथा आ.व. २०८२/०८३ को अनुमानित बजेट, आ.व. २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन र आ.व. २०८१/०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सभाबाट सर्वसम्मत पारित गरिएको थियो ।

यसैगरी, सभाबाट आ.व. ०८२/०८३ को लेखापरीक्षण गर्न आर.टी.श्रेष्ठ एन्ड एसोसिएट्सका रमेश थापा श्रेष्ठलाई लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण, आ.व. ०८१/०८२ को खुद नाफालाई विनियमबमोजिम कोष बाँडफाँड गरी व्यवस्था गरिएको शेयर लाभांश कोषबाट सदस्यहरुलाई करसहित १५ प्रतिशतबराबर शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो ।

त्यसैगरी, संरक्षित पुँजी फिर्ता कोषबाट ऋणमा प्राप्त ब्याजको आधारमा ६० प्रतिशत र बचतमा दिएको ब्याजको आधारमा ४० प्रतिशतका हिसाबले रकम वितरण गर्ने प्रस्ताव पनि सभाबाट सर्वसम्मत पारित भएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र बासी, देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजू, संस्थाकी उपाध्यक्ष रामकेशरी बासुकला र व्यवस्थापक सत्यराम त्वातीले मन्तव्य राख्नुभएको थियो ।

अभिलेख

लोकप्रिय