३ वैशाख २०८३, बिहिबार

सिद्धि गणेश साकोसको ३१औं साधारण सभा एउटै समयमा तीन स्थानमा सम्पन्न

४ करोड ६४ लाख नाफा आर्जन

२०८२ असोज ४, शनिवार
सिद्धि गणेश साकोसको ३१औं साधारण सभा एउटै समयमा तीन स्थानमा सम्पन्न

भक्तपुर : सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नियामकीय निर्देशनहरुको पालना गर्दै उल्लासपूर्ण सदस्य सहभागिताका साथ अतिथी रहित ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
१७ हजार ८ सय सदस्य रहेको सिद्धि गणेशले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा एकै दिन एकै समयमा साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को श्रोत तथा उपयोगतर्फ तीन अर्ब छब्बिस करोड एकतीस लाख त्रिचालीस हजार एक सय नौ रुपैयाँ र आय तथा व्ययतर्फ पच्चिस करोड चालिस लाख सन्तानब्बे हजार आठ सय पच्पन्न रुपैयाँको यथार्थ आर्थिक प्रगति प्रतिवेदन पारित गरेको थियो ।

आ.व.२०८२÷०८३ को स्रोत तथा उपयोगतर्फ ३ अर्ब ३६ करोड र आय तथा व्ययतर्फ २१ करोड ७८ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरु पारित गरेको थियो ।

सभाले सञ्चालक समितिको तर्फबाट सचिव विष्णु प्रसाद दुमरुद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आ.व. २०८२/०८३ को प्रस्तावित कार्यक्रमहरु पनि सर्वसम्मतले पारित गरेको छ ।
सभाले लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक राम प्रसाद लाखाजुद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो ।

संस्थाको सञ्चालक समितिको निर्णय अनुसार आ.ब २०८१/८२ को शेयर पूँजीमा ६ प्रतिशत करकट्टि सहितको दरले लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी संस्थाका सञ्चालक समितिको निर्णय अनुसार आ.ब २०८१/८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम मध्ये ५० लाख रकम नियमानुसार वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि साधारण सभाले गरेको छ ।
साधारण सभा अन्तर्गत अजिमा पार्टी महलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जनाबाट शुरु भएको सिद्धि गणेशमा हाल १७ हजार ६ सय सदस्य पुगेकोमा खुशी प्रकट गरे ।
विगतमा साधारण सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गर्दै आएकोमा अहिले राष्ट्रिय सहकारी प्राधिकरणले कुनै पनि किसिमको उपहार, सम्मान, भोजभतेर र परिवहन खर्च नदिनु भनेकाले सोही अनुरुप साधारणसभा मित व्ययितापूर्वक सम्पन्न गरेको जानकारी दिए।

सहकारीका कोषाध्यक्ष जयराम गोर्खालीले बदलिँदो परिस्थिति र लगानीमा भएको कमीले गर्दा ७ करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१÷८२ मा ४ करोड ६४ लाख ३२ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको जानकारी दिए। यसवर्ष खुद नाफा लक्ष्यभन्दा धेरै कम हुनुमा ऋण नोक्सानी व्यवस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम ऋण नोक्सानी व्यवस्थामा १ करोड ६९ लाख ७ हजार व्यवस्था गर्नुपरेका कारणले पनि भएको स्पष्ट पारेका थिए।

संस्थाका सञ्चालक रत्नश्वरी चवालले सचिवको प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पुँजी २६ करोड २५ लाख ४५ हजार रुपैयाँ, बचत २ अर्ब ६४ करोड २० लाख ५६ हजार, जगेडा कोष २७ करोड ५८ लाख ४५ हजार, संरक्षित पुँजी फिर्ता कोष ८२ लाख ४९ हजार ६ सय १३, सहकारी प्रवद्र्धन कोष १ लाख ६४ हजार, अन्य कोषहरु २ करोड ४५ लाख, सदस्य ऋण लगानी १ अर्ब ८२ करोड ६८ लाख २३ हजार गरी कुल ३ अर्ब २६ करोड ३१ लाख ४३ हजारको सम्पत्ति रहेको विवरण पेश गरेका थिए।

संस्थाका व्यवस्थापक शिला गोसाइँले नियमनकारी निकायबाट विभिन्न समयमा जारी भएका निर्देशन र मापदण्डको परिपालना गरेकै कारण सिद्धि गणेश सहकारी सुरक्षित रहेको र जनताको मनमनमा बस्न सफल भएको बताईन ।

कार्यक्रममा सञ्चालक राजन लाखाले ३ वटा क्षेत्रगत साधारण सभाले १०/१० जना सदस्यहरुलाई निर्णय प्रमाणिकरण गर्ने व्यक्तिको रुपमा चयन गरेको जानकारी दिए। सिद्धि गणेश सहकारी संस्थाको ३१औं वार्षिक साधारण सभा अन्तर्गत कमलविनायक स्टार बैंक्वेटमा संस्थाका सचिव विष्णु प्रसाद दुमरुको सभापतित्वमा कार्यक्रम सम्पन्न गरी १० बुँदे निर्णयसमेत पारित गरेको छ ।

कार्यक्रममा पूर्व अध्यक्ष तथा बचत उपसमितिका संयोजक कृष्ण गोविन्द लाखाजुले आव २०८१/८२ को आर्थिक प्रगति प्रतिवेदन र आव २०८२/८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । उनले गत आवमा शेयरअन्तर्गत ७२ लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको उल्लेख गर्दै, उपयोग सम्पत्ति तर्फ १३ करोड ५० लाख रुपैयाँ छुट्याइएको जानकारी दिए। सञ्चालक समितिका सदस्य तुल्सिदास दुमरुले आव २०८१/८२ को प्रगति प्रतिवेदन र आव २०८२/८३ का प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । उनले सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकाको पालना, नीतिगत संशोधन तथा आगामी गतिविधिहरुबारे स्पष्ट पारे ।

कार्यक्रममा लेखा समितिका सदस्य हेरा ख्याजुले सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभापति एवम् सचिव विष्णु प्रसाद दुमरुले सिद्धि गणेश सहकारी संस्थाले अन्य सहकारीभन्दा बढी भरपर्दो र पारदर्शी ढंगले काम गर्दै आएको बताए।

कार्यक्रममा सदस्य रमेश दुमरु, रञ्जन प्रजापति, चिरीमैया लाखाजु, सुन्दर मानन्धरसहितका बचतकर्ताको उपस्थिति थियो ।

यसैबीच संस्थाको क्षेत्र नं ५ र ६ को साधारण सभा महेश्वरी बैक्वेट थुसाचामा सम्पन्न भयो । साधारणसभामा उपाध्यक्ष विष्णुराम दुमरुले सरकारमा बसेकाहरुको राम्रो सुझबुझ नभएका कारण सहकारी संस्थाहरु समस्यामा पर्दै आएको बताए । सहकारी संस्थाहरुलाई व्यवस्थित गर्ने नाममा देशभरका सहकारी संस्थाहरुलाई एउटा नियम लागू गर्न खोज्नु उपयुक्त नभएको उनंको भनाई थियो ।

उनले खर्च कटौतीको नाममा हालसालै सहकारी बाहिरका अतिथिहरु ल्याएर साधारणसभा गर्न नपाउने वन्दोवस्त गर्नु पनि उचित नभएको बताए । यसो हुँंदा विज्ञका कुराहरु सुन्न नपाउने भई ज्ञानको दायरा खुम्चित गएको उनले बताए।

साधारण सभामा संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले स्थानीयले चलाएको सहकारी भाग्न सक्दैन बताउँदै त्यस्ता सहकारीमा रकम जम्मा गर्न डराउनु नपर्ने बताए । साधारण सभामा सञ्चालकहरु रामचन्द्र दुमरु, राधेश्याम सैंजू, सपना कवांलगायतले आफ्नो धारणा राखेका थिए।

अभिलेख

लोकप्रिय