ललितपुर बचत संघले मनायो ३२औं स्थापना दिवस
काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले ३३औं वर्षमा प्रवेश गरेको छ । २०५० साल असोज ३ गते पाँच वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको भेलाबाट संघ गठन गरिएको थियो ।
संघले शुक्रबार एक कार्यक्रमको बीच लगनखेल स्थित कार्यालयमा संस्थापक अध्यक्ष रोहिणी जोशी समेतको उपस्थितीमा स्थापना दिवस मनाएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष रामशरण घिमिरे, सञ्चालक समितिका पूर्व र वर्तमान समिति, विभिन्न उपसमिति, कर्मचारी र विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । जेन जी आन्दोलनपछि मुलुकमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गरी कार्यालयमै स्थापना दिवस मनाएको संघका अध्यक्ष रामहरि बजगाईले बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष बजगाईले वर्तमान समिति संघको दीगोपना, संस्थागत सुशासन, पारदर्शिता लगायतमा प्रतिवद्ध रहेको बताए ।

त्यस्तै उनले अभियानको नेतृत्वमा प्रारम्भिक संस्था चलाउने व्यक्ति नभएकाले यस क्षेत्रको समस्या समाधानमा गम्भीर नभएको आरोप लगाए। अभियन्ताहरुलाई प्रारम्भिक सहकारी संस्थाको पीडा थाहा नभएको भन्दै उनले ऋण असुलीमा हुन नसक्दा बचत फिर्तामा समस्या भए पनि सबै संस्थाका सञ्चालक फटाहा हुन् भन्ने भाष्य समाज निर्माण भएको बताए । उनले अभियानभित्र विषयगत संघहरु कान्छो भएको भन्दै माथिल्ला निकायले आफुहरुको आवाजलाई नसुनेको गुनासो गरे ।
सहकारी क्षेत्रमा जति कार्यदल बनेपनि समस्या समाधान किन गर्न नसकेको भन्दै उनले प्रश्न गरे । संस्था सञ्चालन गर्दाका चुनौतीको विषयमा अभियान्ताको ध्यान नपुगेको र व्यक्ति विशेषले राज्यलाई बिफ्रिङ गर्दा समस्या समाधान नभएको उनको दाबी छ । संघले सदस्य संस्थाहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको भन्दै उनले कतिपय संस्थालाई वित्तीय, कतिपयलाई नीतिगत र व्यवहारिक सहायता पुर्याएको उनको भनाई छ । सहकारीका समस्यामा बारेमा राष्ट्र बैंक र प्राधिकरणलाई समेत लिखित सुझाव दिएको भन्दै अध्यक्ष बजगाईंले सहकारीमैत्री वातावरण निर्माण गर्न माग गरे ।

संघ वित्तीय पारदर्शिता कायम गर्दै अगाडि बढेको भन्दै उनले संस्थाहरुलाई सहयोग गर्न छाता कार्यक्रम बनाएर अघि बढ्ने बताए । ललितपुरमा रहेका धेरै बचत ता ऋण सहकारी संस्थामा समस्या रहेको भन्दै उनले कतिपय संस्थामा ऋण असुली, कतिपय नीति विधिमा सञ्चालन नहुँदा र केहिमा सञ्चालकले बदमासी गरेको जनाए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थापक अध्यक्ष जोशीले नेपाल बैंकबाट अवकाश पाएपछि सहकारी क्षेत्रमा लागेको बताइन् । उनले सुरुमा सहकारीको बारेमा टिभीमा मात्र सुनेको र सहकारीका बारेमा सामान्य ज्ञान समेत नरहेको अनुभव सुनाइन् । सहकारी प्रशिक्षण केन्द्रमा तालिम लिएपछि मात्र सहकारीका बारेमा बुझ्ने अवसर मिलेको उनले उल्लेख गरिन् । नेपालमा आफुले नै पहिलो महिला बचत तथा ऋण सहकारी संस्था खोलेको भन्दै उनले सुरुका दिनमा सहकारी बारेमा बुझाउन विभिन्न जिल्लाहरुमा समेत गएको सुनाइन् । सहकारीहरुको केन्द्रीय संघ र राष्ट्रिय सहकारी महासंघ समेत स्थापना भएको अवस्थामा जिल्लामा संघहरु नभएको भन्दै २०५० सालमा पहिलो पटक बचत संघ स्थापना गरेको बताइन् ।

संघ स्थापना गर्नको लागि संस्था संस्थामा गएर सदस्य बन्न आग्रह गरेपनि कतिपय संस्थाले वेवास्ता गरेको उनले सुनाइन् । साझा अन्तर्गतका ५ वटा संस्थाले एकै पटक सदस्य बनिदिएपछि संघ खोल्न बल पुगेको उनको भनाई छ । आफ्नै लगानी र मेहनतबाट स्थापना भएको संघको उचाईलाई बढाएर लैजान उनले आग्रह गरिन् । सहकारीले न्युन आएका भएका, विपन्न र पिछडिएको महिला तथा समुहलाई माथि उठाउनुपर्नेमा उनको जोड छ । सहकारीमा लागेर नेता बन्ने नभई सहकारीकर्मीकै रुपमा रहेर सदस्यको समृद्धिमा काम गर्नुपर्ने उनको भनाई छ ।
पछिल्लो समय सहकारी संस्थाहरुले सदस्यहरुको बचत दुरुपयोग गरेको भन्दै ती संस्थाका सञ्चालकलाई कानुनी कारवाही गरी पीडित बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेमा उनको जोड छ । आर्थिक सामाजिक उत्थानको लागि सहकारी भने पनि अहिले सहकारीमा राजनीति छिरेको र सहकारी सिद्धान्त भन्दा बाहिर गएको उनको बुझाई छ । सहकारीले सदस्यहरुमा सीप विकास गरी आयआर्जनमा लगाउन सके उनीहरुको जीवनस्तर परिवर्तन गर्न सकिने उनको भनाई छ । ठुलो संघर्षले संघ स्थापना गरेको भन्दै उनले वित्तीय पारदर्शिता कायम गर्दै सदस्य संस्थाहरुको हितमा लगाउन आग्रह गरिन् । असल मनाशय राखेर संघको नेतृत्वमा आउन र सहकारीलाई सहकारीकै सिद्धान्तमा सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।
त्यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै निवर्तमान अध्यक्ष रामशरण घिमिरेले सहकारी अभियानमा ठुलो चुनौती रहेको र सुझबुझमा साथ चुनौतीलाई पार गर्न अभियानमा ऐक्यवद्धता आवश्यक रहेको बताए । उनले पछिल्लो समय राष्ट्र बैंक र सहकारी प्राधिकरणले जारी गरेको मापदण्ड र निर्देशनले सहकारी संघ/संस्थालाई अप्ठ्यारो पारेको भन्दै त्यसको विरुद्ध सबै एक भएर लड्नुपर्नेमा जोड दिए ।

सहकारीका समस्या समाधानमा केन्द्रीय संघ र महासंघको भूमिका कमजोर देखिएको भन्दै जिल्ला तहका संघहरुले समेत दवाव दिनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा संघका व्यवस्थापक सन्तोष बजगाईंले संघले गर्दै आएको वित्तीय सेवा र प्राविधिक सेवाका बारेमा प्रस्तुतीकरण गरेका थिए । व्यवस्थापक बजगाईंले संघका हालसम्म ४ सय ८२ संस्था आवद्ध भएको बताए ।

जिल्ला बचत संघहरुमध्ये ललितपुरले सबैभन्दा बढी ऋण लगानी गरेको छ । ७ करोड २० लाख सेयर पुँजी रहेको बचतसंघसँग विभिन्न कोषहरुमा १८ करोड रुपैयाँ रहेको छ ।

संघले १ अर्ब ४३ करोड निक्षेप संकलन गरेको छ भने ९९ करोड ८२ लाख लगानी गरेको छ । संघका सचिव श्यामकृष्ण महर्जनले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार