१० असार २०८३, बुधबार

नेफ्स्कूनले ल्यायो नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान), सबै सहकारीलाई अनिवार्य

२०८२ भदौ १, आईतवार
नेफ्स्कूनले ल्यायो नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान), सबै सहकारीलाई अनिवार्य

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) सार्वजनिक गरेको छ ।

संघले आबद्ध सदस्य संघ/संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न ‘स्क्यान’ सार्वजनिक गरिएको नेफ्स्कूनले जनाएको छ ।

‘स्क्यान’ स्तरीकरण कार्यक्रम एक्सेस, प्रोवेसन तथा कर्बसको सिकाईका आधारमा थप परिमार्जन सहितको कार्यक्रम रहेको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले जानकारी दिए । ‘स्क्यान’ गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वनियमन र नियामकीय सक्षमता विकासको एकिकृत स्वरुप रहेको उनले स्पष्ट पारे ।

नियमित निरीक्षण तथा अनुगमन गरी देखिएको जोखिम व्यवस्थापन गर्न सदस्यहरुको लागत सहभागितामा यो कार्यक्रम सञ्चालन हुने सापकोटाले बताए । कार्यक्रममा संघमा आबद्ध सबै सदस्यहरुलाई सहभागि गराउने योजना नेफ्स्कूनको छ ।

संघमा आवद्ध सदस्यहरुलाई सुरक्षित र स्वस्थ बनाउनु ‘स्क्यान’को विशिष्ट उद्देश्य रहेको सीईओ सापकोटाले बताए । संस्थाले पेश गरेको विवरणहरुको आधारमा सामान्य, जोखिम उन्मुख, शंकास्पद र घातक गरी चार स्तर निर्धारण गरी जोखिम स्तरको प्रमाण पत्र नेफ्स्कूनले उपलब्ध गराउने छ ।

स्क्यान कार्यक्रममा सहभागिता किन ?
परिवर्तित कानूनी वातावरणमा अनुकुलन गरी संस्थागत विकास सुनिश्चित गर्न, नियमित जोखिम सुपरिवेक्षण गराई जोखिम व्यवस्थापन सक्षमता विकास गर्न, गुणस्तर सुनिस्चितताका कार्यक्रमहरु मार्फत ब्राण्ड प्राप्त गर्न, योजनाबद्ध रुपमा संस्था सञ्चालनको सुनिश्चित गर्न, सहकारीमैत्री व्यवस्थापन सुनिश्चित गर्न, स्थिरीकरण कोषमार्फत जोखिम व्यवस्थापन सुनिश्चित गर्न, क्यूरीमा- ३६० कार्यशाला मार्फत क्षेत्रगत जोखिम न्यूनीकरण गर्न, प्रबिधिमा आधारित जोखिम सुपरिवेक्षणको अभ्यास गर्न, र संस्था सञ्चालनमा स्तरीयता कायम गर्न सहकारीहरु स्क्यान कार्यक्रममा सहभागिता जनाउनु पर्ने नेफ्स्कूनले जनाएको छ ।

सहभागिता कसरी हुने ?
नेफ्स्कूनले सबै सदस्यहरुलाई अनिवार्य गरेको छ । कार्यक्रममा सहभागि हुन सहकारीहरुले नेफ्स्कूनसँग बमोजिम सम्झौता गर्नुपर्ने हुन्छ । सहकारीको वासलातको आकारको आधारमा संघले तोके बमोजिमको लागत योगदान गर्नुपर्दछ । नेफ्स्कूनको एमआईएस प्रणालीमा विवरणहरु अद्याबधिक गरी सदस्य सुपरिवेक्षण ईकाइमार्फत आबद्ध हुन सकिने सापकोटाले बताए ।

अभिलेख

लोकप्रिय