अभियान र सरकारले संयुक्त रुपमा मनायो अन्तर्राष्ट्रिय सहकारी दिवस, यी हुन् पुरस्कृत संस्था र व्यक्ति
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । ‘सहकारीः सुन्दर विश्व निर्माणमा समावेशी र दिगो समाधानतर्फको यात्रा’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा विभिन्न सहकारी संस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लि., बरहथवा–१५, सर्लाहीका अध्यक्ष गोविन्द्र प्रसाद उप्रेतीलाई प्रदान गरिएको छ । उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले नगद ५० हजार रुपैयाँसहित सम्मान गरेका थिए।
त्यस्तै सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रका सम्पादक माधव खड्कालाई र उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार जिल्ला सहकारी संघ, रुपन्देहीका व्यवस्थापक लक्ष्मी ज्ञवालीलाई प्रदान गरिएको थियो । दुवै पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

केन्द्रीय सहकारी संघतर्फबाट नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत गरिएको थियो । जिल्ला तहमा भने दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त गरेको छ ।
त्यस्तै सातै प्रदेशका प्रारम्भिक सहकारी संस्था पनि पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुनेमा कोशीबाट मेची कृषक बहुमुखी सहकारी संस्था, झापा, मधेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि., धनुषा, बागमतीबाट सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौती, काभ्रे, गण्डकीबाट ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था, स्याङ्जा, लुम्बिनीबाट इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था, रुपन्देही, कर्णालीबाट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जुम्ला र सुदूरपश्चिमबाट जीवनज्याति बचत तथा ऋण सहकारी संस्था, बैतडी रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ र हेफर इन्टरनेशनलले तयार पारेको सहकारीसम्बन्धी अध्ययन रिपोर्ट सार्वजनिक गरिएको थियो । सहकारी क्षेत्रका महिला नेतृत्वकर्ताहरू निर्मला दंगाल, दिलमाया सारु र निलम विकले आफ्नो संघर्षका कथा प्रस्तुत गरे। सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले मुख्य कार्यपत्र प्रस्तुत गरेका थिए ।
मन्त्री बलराम अधिकारीले सहकारीमैत्री ऐन संशोधनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै, सहकार्य र एकताको आवश्यकता औंल्याए। महासंघकी अध्यक्ष ओमदेवी मल्लले अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विविध कार्यक्रमसहित मनाइएको जानकारी गराए ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासंघका सल्लाहकारहरू केशव बडाल, दिपकप्रकाश बाँस्कोटा, खगराज अधिकारी, डा. उषा झा, लिलामणि पोखरेल, नेफस्कूनका अध्यक्ष चन्द ढकाल, हेफर इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा. तिर्थराज रेग्मी लगायतको उपस्थिति थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार