१९ भदौ २०८३, शुक्रबार

सिवाईसी साकोसद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता एवं सहकारी शिक्षा

२०८२ जेठ ६, मङ्गलबार
सिवाईसी साकोसद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता एवं सहकारी शिक्षा

म्याग्दी : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सोमबार बेनी सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

“सबै जुटौं, सदस्य भेटौं” भन्ने नाराका साथ संस्थाले सञ्चालन गरिरहेको २१ दिने अभियान अन्तर्गतको सो कार्यक्रममा कक्षा १० मा अध्ययनरत करिब १०० जना विद्यार्थीहरूको सक्रिय सहभागिता थियो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बचतको महत्व, खर्च व्यवस्थापन, र दीर्घकालीन वित्तीय योजना निर्माणबारे व्याख्या गर्दै वित्तीय साक्षरताले विद्यार्थीहरूको जीवनशैली, सोच र भविष्यप्रतिको दृष्टिकोणमा ल्याउने सकारात्मक परिवर्तनबारे प्रकाश पारेका थिए।

शर्माले शिक्षासँगै आर्थिक अनुशासन पनि युवावर्गमा आवश्यक रहेको बताउदै बचतबो शक्तिको बारेमा बुझ्न सकेमा हामी कोही पनि गरिव हुनु नपर्ने धारणा व्यक्त गरेका थिए। त्यस्तै, सिवाईसी नेपालका कार्यक्रम अधिकृत समुन घर्ति क्षेत्रीले वित्तीय लक्ष्य निर्धारण, पारिवारिक बजेट निर्माण, र व्यवहारिक वित्त व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए।

वि.सं. २०११ सालमा स्थापना भएको बेनी सामुदायिक माध्यमिक विद्यालय म्याग्दी जिल्लाको अग्रणी शिक्षण संस्था हो, जहाँ हाल १,३०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । स्थानीय समुदाय, अभिभावक तथा शिक्षा प्रेमीहरूमाझ यो विद्यालयले विशेष स्थान बनाएको छ ।

बालबालिका तथा किशोरकिशोरीहरूलाई प्रारम्भिक अवस्थामा नै आर्थिक शिक्षा दिई उनीहरू भविष्यमा आत्मनिर्भर र जिम्मेवार नागरिक बन्न सकून् भन्ने अपेक्षाका साथ संस्थाले यस अभियानमा विद्यालयमा वित्तीय साक्षरतालाई प्रमुख प्राथामिकतामा राखेको छ ।

कार्यक्रम बेनी सदस्य सेवाकेन्द्रका संयोजक भिमवहादुर श्रेष्ठको अध्यक्षता र सचिव माधव आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय