२३ असार २०८२, सोमबार

नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !

२०८२ वैशाख १५, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !

प्रारम्भिक संस्था मात्र होइन आफूले नेतृत्व गरेको विषयगत केन्द्रीय संघसमेत बलियो बनाएका कारण राष्ट्रिय सहकारी महासंघ नेपालका उपाध्यक्ष खेम बहादुर पाठक नेतृत्व आदर्श पात्र बन्नुपर्छ भन्नेमा विशेष जोड दिन्छन् । जग बलियो हुँदामात्र घर बलियो हुन्छ भन्दै उनी कमसल धरातलमा शक्ति र स्रोतको दुरुपयोग गर्दै सहकारी अभियानतिर लहसिएकाहरुप्रति बारम्बार कडा कटाक्ष गर्छन् । सहकारीखबरको यो अन्तर्वार्तामा पनि उनी काजी श्रेष्ठसँग उही ‘सिग्नेचर स्टाइल’मै प्रस्तुत भएका छन्:

सहकारी जागरण अभियान के हो ? यसको सान्दर्भिकता र आवश्यकता किन पर्यो ?
अधिकांश सहकारीहरु सिद्धान्त, मूल्य मान्यता अनुसार सञ्चालन हुन सकेका छैनन् । विद्यमान ऐन, नियमावली, निर्देशिकाहरु पालनाका लागि सञ्चालक, लेखा सुपरीवेक्षण समिति र कर्मचारीहरुमा प्रयाप्त क्षमता छैन । नेपाल कृषि सहकारी केन्द्रीय संघको नेटवर्क भित्र रहेका सहकारीका नेतृत्वलाई सिद्धान्त, मूल्य मान्यता, ऐन कानूनहरु परिपालनका लागि अभियान चलाए पनि मुलुकभर रहेका सम्पूर्ण प्रकृतिका सहकारीहरुमा यस्तो गर्नुपर्ने देखिन्छ । हामी अभियन्ता, सरकारले सहकारी बिग्रेका कुरा गरिरहेका छौं । तर, सहकारी किन बिग्रियो भनेर गहिराइमा पुगेर कसैले पनि अध्ययन गरेका छैनौं । सहकारी बिग्रिनुको मुख्य कारण जम्मा भएको बचत केही व्यक्तिले चलाए । सहकारी चलाउने भनेका सञ्चालक, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापन (कर्मचारी) हुन् । यी तीन पक्ष बलियो, मजबुद र क्रियाशील नभइ सहकारी कुनै पनि हालतमा अघि बढ्न सक्दैन । अध्यक्ष, व्यवस्थापक र केही व्यक्तिले जिम्मा लिएर सञ्चालन गरेका कारण सहकारी कमजोर भएको हो ।

सहकारी सदस्यको हो । सदस्यकै लागि खोलिएको हो । सदस्यकै सेवाका लागि सहकारी सञ्चालन गरिएको हो । जसले सेवा लिने हो, उसैले माया गर्ने र सहकारीप्रति आस्था जगाउने काम सहकारीले गरेनन् । सदस्यहरुले यो संस्था मेरो हो भन्ने भावना विकास नगरेसम्म सहकारी कुनै पनि हालतमा अघि बढ्न सक्दैन । सदस्यमा नै मेरो हो भन्ने भावना नआएसम्म अरुले चलाएर मात्र सहकारी चल्दैन । सहकारी जोगाउने, बचाउने र बिगार्ने हात सदस्यकै हुन्छ । सदस्यलाई क्रियाशील बनाउने, पढाउने, सचेत गराउने, शिक्षा दिने, व्यावसायिक बनाउने, आत्मनिर्भर बनाउने काम सञ्चालक, कर्मचारी र लेखा सुपरीवेक्षण समितिले गर्ने हो । तीन वटै निकाय सदस्यमा पुग्न सकेको देखिँदैन । जब सदस्यहरुमा यि तीनवटै निकाय पुग्न सक्दैन अनि कसरी सहकारी अघि बढ्न सक्छ ? सोही कारण सहकारी बिग्रिएका हुन् । समस्याको यी कारण बुझेर आफ्नो आफ्नो नेटवर्क भित्रका संस्थालाई बलियो बनाउन विषयगत केन्द्रीय, प्रदेश र जिल्ला संघहरु लाग्नु पर्छ ।

यो विषयमा राष्ट्रिय सहकारी महासंघमा पटक पटक कुरा उठाएको छु । अन्य संघहरुमा पनि मेरो कुरा यही हुन्थ्यो । केही अभियन्ताहरु म मात्रै हुँ भन्नाले धेरै ठाउँमा समस्या आयो । जे जे भए पनि अब चुप लागेर बस्नुभन्दा पनि कृषि केन्द्रीय संघ मातहतका सहकारीबाट जागरण अभियान सुरु गरेका हौं । हामीले निरन्तर प्रशिक्षण, निरिक्षण र अनुगमन गर्दै आएका थियौं । तर, यस पटक अध्यक्ष, प्रबन्धक मात्रै भन्दा पनि सिंगो सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीहरुलाई यो अभियानमा समेटेका छौं । जिल्ला जिल्लामा यो अभियान चलाएका छौं । ७७ वटै जिल्लामा हामी पुग्ने छौं । ठूला जिल्लामा दुई तीन वटा समूह बनाउने र थोरै संस्था भएका जिल्लामा एउटा कार्यक्रम गर्ने गरी अघि बढेका छौं ।

कतिपय सहकारीका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरु आफ्नो काम, कर्तव्य र अधिकारको विषय जानकार नभएको पायौं । यो अभियानले जागरण ल्याएको छ । यही अभियानका कारण व्यवस्थापनलाई कसरी चुस्त र दुरुस्त राख्ने तथा सुशासन, पारदर्शिताका परिधिहरुबारे समेत सहभागीहरुले जानकारी पाएको प्रतिक्रिया पाएका छौं ।

जागरण अभियानले के नतिजा ल्याउला वा परिवर्तन के गर्ला भन्ने अपेक्षा गरिएको छ ?
पहिलो कुरा त नेतृत्व विकास हुन्छ । सदस्य कहाँ पुगेपछि त्यहाँबाट ज्ञान प्राप्त गर्छ । सदस्यलाई सहकारीबारे ज्ञान दिएपछि सदस्यहरुले नै सहकारी बचाउँछन् । सहकारी केही होइन, सहकारीमा पैसा राख्न हुँदैन, सहकारीमा पैसा सुरक्षित हुँदैन भनेर सहकारी प्रतिको अविश्वास जगाउने काम भएको छ । यी कुराहरुलाई चिर्ने काम यो अभियानले गर्दछ ।

सहकारी बिग्रनुको कारण व्यवस्थापन र नेतृत्वले चलाउन नजानेर, सदस्यलाई जिम्मेवार नबनाउँदा हो रहेछ । वास्तवमा सहकारी खराब होइन, सहकारी राम्रो हो, चलाउनेले राम्रोसँग नचलाएर बिग्रिएको रहेछ, दायित्व सदस्यको रहेको नेतृत्व गर्ने सञ्चालक समिति, लेखा समिति र व्यवस्थापन (कर्मचारी) रहेछ, यी निकायले आफ्नो आफ्नो जिम्मेवारी पुरा नगर्दा बिग्रिएको रहेछ भन्ने बुझ्दछन् । हामी सबैजना लाग्यौं भने सहकारीलार्ई सही ढंगले सञ्चालन गर्न सक्ने रहेछौं भन्ने विश्वास जागृत हुन्छ । सहकारी सञ्चालन हुने कारण विश्वास हो । त्यस यो अभियान विश्वास जगाउने अभियान हो । विश्वास जगाउँदा संस्था बलियो हुन्छ । संस्था बलियो हुँदा सदस्यमात्रै नभएर मुलुकलाई पनि फाइदा पुग्छ ।

कतिपय कृषि सहकारीहरुले पनि उद्देश्य अनुरुप काम नगरेको भन्ने छ नि ? नाम कृषि सहकारी तथा केवल वा अधिक रुपमा बचत ऋणको काम मात्र गर्ने पनि छन् नि ? त्यस्ता सहकारीहरु पनि समस्यामा परेका छन् नि ?
हाम्रा नेटवर्क भित्र सबैभन्दा बढी उठाइएको विषय नै यही हो । जुन उद्देश्य राखेर सहकारी खोलिएको हो, सोही अनुसार काम हुनुपर्छ । नेपालमा सहकारी बिग्रनुको कारण पनि यो प्रमुख हो । सहकारी पेशा व्यवसायका आधारमा सञ्चालन हुन जरुरी छ । जसले जुन पेशा र व्यवसाय गर्छ सोही पेशालाई जोडेर सहकारी सञ्चालन गर्नुपर्छ । तर, नेपालको सन्दर्भमा हावा र हल्लाको भारमा, भावनामा बगेर सहकारी सुरु ग¥यौं । जसको कारणले यो अवस्था सृजना भयो । जसको असर कृषि सहकारीहरुमा पनि परेको छ । नाम कृषि, काम पैसा किनबेच गर्ने । कृषिका कामहरु अनगिन्ती छन् । ति कामलाई टेकेर संस्था सञ्चालन गर्नुपर्नेमा कतिपय ठाउँमा त्यो काम हुन सकेको छैन ।

सहकारीमा नेतृत्व गर्नेहरुले उद्देश्य अनुसार काम गर्नुपर्छ । कृषिमा लगानी गर्नुपर्छ । किसानलाई कुन समस्या छ, त्यो समस्या समाधान हुने गरी लाग्नुपर्छ । सोही अनुसार कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । कृषि केन्द्रीय संघले पनि देशव्यापी रुपमा यो अभियान चलाएको छ । सरकारले मुख्य कारोबारको विषय ल्याएको छ । मुख्य कारोबारको विषयमा पनि देशभरका नेतृत्वलाई पढायौं । प्रेसर पनि क्रिएट गरेका छौं । अब उत्पादनमा लगानी गर्ने, उत्पादित सामग्रीलाई संकलन गरी विक्रि वितरण गर्नुपर्छ । सदस्यहरुबाट उत्पादित सामग्रीलाई बिचौलीया कहाँ बजार खोज्दै हिड्ने वातावरण बनाउँदा सहकारीको औचित्य हुँदैन । विशेष गरी पछिल्लो समयमा एउटा एउटा भएपनि पसलहरु खोल्ने, संकलन केन्द्रहरु, प्रशोधन केन्द्र बनाउने काम भएको छ । साना किसान कृषि सहकारीहरु यसतर्फ क्रियाशिल भएका छन् । नाम कृषि राखेर पैसा किनबेच मात्रै गर्ने सहकारीहरु हाम्रो नेटवर्कबाट बाहिर पठाएका छौं ।

हाम्रो सञ्जाल भित्रका कृषि वा साना किसान कृषि सहकारीलाई उद्देश्य अनुसारको काम नगर्ने हो भने बचत तथा ऋण तिर जानुस् भनेर प्रष्ट भनेका छौं । उद्देश्य अनुसारको काम नभएको पक्कै हो । हामी पनि खुशी छैनौं । कसरी उद्देश्य अनुसारको काम गराउने भनेर चिन्तित छौं । उद्देश्य अनुसारको काम नगर्ने सहकारी अब टिक्न सक्दैन, टिकाउन पनि सकिदैन ।

हाम्रा कृषि र दुग्ध सहकारीहरु कहिले इफ्को र अमुल बन्छन् होला ?
इफ्को र अमुलको धेरै ठूलो कहानी छ । वर्षमा तीन/चार पटक नेपालका किसानहरु इफ्कोमा सात दिनसम्म पढाउँदै पनि आएका छौं । साना किसान कृषि सहकारी महारानीझोडाले फूलपुर इफ्कोको सोही मोडलमा काम गरेको पनि छ, राम्रो पनि भएको छ । अन्य सहकारीमा उक्त मोडेल लैजाने भनिरहेका छौं । तर, इफ्को र अमुल विश्वकै उदाहरणीय सहकारी भित्र पर्दछन् । इफ्को र अमुल अहिलेको अवस्थामा ल्याउन सरकारको ठूलो लगानी छ । ६५ प्रतिशतसम्म सरकारको लगानी छ । सरकारले ठूलो मात्रामा अनुदान, प्रविधि दिएको छ । तर, हाम्रोमा किसानलाई समयमै मल समेत दिन सकेको छैन । बजार बिचौलियाको कब्जामा छ । बजारमा किसान र सहकारीका सदस्यलाई छिर्न दिएको छैन । नेपालमा सरकारले नीति समेत राम्रो दिन सकेको छैन । सरकारले सर्पोट ग¥यो भने हाम्रो परिवेश अनुसारको ‘ए’ वान सहकारी बनाउन सक्छौं ।

सहकारी क्षेत्र सुशासित र मर्यादित कहिले बन्छ होला ? यो प्रश्न किन पनि सोधिएको हो भने धेरै वर्षका सहकारी दिवसका नारामा सुशासित सहकारी मर्यादित सहकारी पारदर्शी र इमान्दारी जस्ता शब्द पर्छन् तर काम सोचेअनुरुप हुँदैनन नि ?
सहकारीमा ठूलो सञ्जाल जोडिएको छ, उक्त सञ्जालबाट धेरै फाइदा लिने गरी अघि बढ्नुपर्छ भन्ने कुरा राज्य सञ्चालकको दिमागमा छिर्नुपर्छ । सबैभन्दा धेरै जनतालाई सहभागिता गराएर मुलुकलाई समृद्ध बनाउनु पर्ने हो । सहकारीका यति धेरै नेटवर्कलाई राज्यले क्यास गर्न सकेको छैन । सहकारी अभियन्ताहरुनै सहकारी बारे क्लियर छैनन् । प्रारम्भिक सहकारीलाई सफल र सक्षम बनाउने नेतृत्वमात्रै प्रमोशन हुँदै अभियानका माथिल्लो निकायमा आउनुपर्छ ।

तर, यहाँ सिधै टप लेबलमा जाने, नेतृत्व कब्जा गर्ने परिपाटी छ । त्यस्ता व्यक्तिलाई संस्था कसरी चलाउने भन्ने कुराको ज्ञान छैन । त्यस्ता व्यक्ति नेतृत्वमा आउँदा समस्या भएको छ । जिल्ला, प्रदेश, केन्द्रीय र महासंघमा आएका नेतृत्वमा धेरै हेरेको छु । अनि नारा जेजे राखेपनि नारा अनुसारको काम प्रारम्भिक सहकारीबाट उठाउनु पर्छ । माथि माथि पदमा दौडिएर हुँदैन । नेतृत्वमा बस्नेले प्रारम्भिक संस्था कस्तो चलाएको छ त ? नारा पुरा गर्न त सदस्यहरुनै लाग्नु पर्छ नि ? सदस्यहरु लाग्ने गरी कार्यक्रमहरु चल्न सकेका छन् की छैनन् त ? फिल्डमा सदस्यलाई सेवा कसले दिन्छ महासंघले ? सदस्यको जीवन परिवर्तन गराउने, आर्थिक सुशासनमा ल्याउन, सम्भ समाज बनाउने, सांस्कृतिक परिवर्तन ल्याउने, समुन्नत समाज बनाउने भूमिका त प्रारम्भिक सहकारीको हुन्छ । प्रारम्भिक सहकारी कसरी अघि बढ्दा सेवामा विविधिकरण गर्न सकिन्छ भन्ने कुरा दिमागमा भित्र नभएको मान्छे नेतृत्वमा आउँदा के हुन्छ ? समस्या आउँछ ।

यसमा मेरो फरक मत छ । तल्लो तहबाट सदस्यहरुलाई नै जगाउनु पर्छ । सदस्यलाई सेवा दिने संस्थालाई नै बनियो बनाउन पर्छ । बलिया संस्थाबाट बनेको संघहरु बलिया हुन्छन् । बलियो संघ नभई नेतृत्वहरु दौडिएर मात्रै हुन्छ ? संस्था कमजोर छ, बलियो संस्थाले जिल्ला संघ बलियो बनाउन सकेको छैन । बलियो जिल्ला संघ नभई प्रदेश, केन्द्रीय संघ महासंघ बनाएका छौं । अनि कजोर महासंघले के निर्देशन दिने ? उसले केही दिन पनि सक्दैन । उसबाट केही आशा र भरोशा पनि हुँदैन ।

यो नारा जेजे राखे पनि केही हुँदैन । पहिला हामी ठिक हुनुपर्यो । पहिला हामी र हाम्रा सञ्जाललाई बलियो बनाउन जरुरी छ । हाम्रा सञ्जाल बलिया हुँदा मात्रै सरकारलाई दबाब दिन सकिन्छ । अहिले महासंघले अभियान सञ्चालन गर्ने हो भने कति जना मानिस सडकमा आउँछन् त ? किनभने महासंघको अनुहार कस्तो छ ? तल्लो तहसम्म कस्तो काम गरेको छ त्यसमा भर पर्छ ।

यी नारालाई पुरा गर्ने हो भने हामी सिर्जनशील भएर लाग्नुपर्छ । हावादारी तबरले लागेर पुरा हुँदैन । थीमलाई पुरा गर्न सबै लाग्नुपर्छ । महासंघ तल्लो तहसम्म जानुपर्छ । जिल्ला संघहरु बन्द छन्, घाटामा छन्, कोल्याप्स हुने अवस्थामा छन् । चुनावका बेलामा मात्रै भोटको रुपमा ल्याएका छौं । चुनावपछि ति संघहरुमा फर्किर हेरेका छैनौं । अनि कसलाई लिएर महासंघले थीम पुरा गर्ने ? गफ गरेर थीम पुरा हुँदैन ।

अब हुँदैन भनेर पनि उद्देश्य राख्नु त पर्यो । कार्यक्रम, प्लान बनाउनुप¥यो । अहिले हामी जुन रबैयाबाट चलेका छौं त्यसबाट थीम पुरा गर्न कठिन हुन्छ । कुरा मिठा मिठा ल्याउने र त्यस अनुसारको प्रतिफल नआउँला मान्छेले पत्याउँछन् त ? हरेक वर्ष समीक्षा गरिरहेका हुन्छन् नि । अनि प्रतिफल नआएपनि मान्छेले हावादारी भन्दैनन् ? म महासंघमा पनि कम बोल्छु । जति कुरा गरेको हुन्छु तर्कपूर्ण गरेको हुन्छु ।

अभिलेख

लोकप्रिय