१७ भदौ २०८३, बुधबार

सहकारीलाई सक्न वा कस्न खोज्नेहरुले संविधानको सम्मान गर्न सक्दैनन्: बडाल

२०८२ वैशाख १३, शनिवार
सहकारीलाई सक्न वा कस्न खोज्नेहरुले संविधानको सम्मान गर्न सक्दैनन्: बडाल

काठमाडौं : सहकारीलाई सक्न वा कस्न खोज्नेहरुले संविधानको सम्मान गर्न नसक्ने राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशब बडालले बताउनु भएको छ ।

संविधानसभा सदस्य समेत रहनुभएका बडालले संविधानले सहकारीको अपरिहार्यता सम्बोधन गरेको सम्बन्धमा यसलाई ठेगान लगाउँछु भन्नेहरुले संविधानको मर्म नबुझेको बडालले तर्क गर्नुभयो । त्यसैकारण सहकारीलाई सवल, सक्षम, प्रभावकारी र गतिशील बनाउनुको विकल्प नभएको उहाँले प्रस्ट पार्नुभयो ।

सहकारीहरुलाई ठेगान लगाउनुपर्छ, अब सहकारीलाई कस्नुपर्छ भन्नेहरुले सहकारीको मर्म र भावना नबुझेको बडालको भनाइ थियो । केही साइनबोर्ड मात्रका सहकारीले इमानदार सहकारीहरुलाई अफ्ठेरो परेको बताउनुभएको छ । उहाँले बाहिर प्रचार गरिएजस्तो सहकारी सकिएको वा सबै सर्वनाश भएको भन्ने आरोप गलत भएको समेत स्पष्ट पार्नुभयो ।

कैलालीको धनगढी स्थित नवजीवन सहकारी संस्थाले आज काठमाडौंमा आयोजना गरेको ‘सहकारी मर्म र चुनौती विषयक विचार गोष्ठी तथा अन्तरक्रिया’ कार्यक्रममा बडालले भन्नुभयो, ‘समस्या छ सहकारीमा । तर १ प्रतिशत भन्दा कम सहकारीमा मात्र ।’

बडालले सर्वनाश भयो अब सहकारीहरुलाई ठेगान लाउनुपर्छ भनेर केही थरि मानिसहरु पाखुरा सुर्केर घुमिरहेको पनि बताउनुभयो । ‘सहकारीलाई ठेगान लाउनुपर्छ भनेर एकथरी मानिसहरु पाखुरा सुर्किरहेका छन्, केही मानिसहरु यसलाई अझै कस्नुपर्छ भनेर पनि लागिरहेका छन् ।’

सहकारी क्षेत्रलाई सबल बनाउन राज्यको भूमिका, सहयोग र लगानी अत्यन्त धेरै आवश्यक पर्ने उहाँले बताउनुभयो । तर, यसतर्फ राज्यको ध्यान नगएको उहाँले बताउनुभयो । अहिले मुलुकको कुल गार्हस्थ उत्पादनमा सहकारीको योगदान करिब ५ प्रतिशत रहेको भन्दै बडालले केही साइनबोर्ड मात्रका सहकारीले इमानदार सहकारीहरुलाई अफ्ठेरो परेको बताउनुभयो ।

उहाँले सहकारीहरु सानो मात्र नहुने तर्क पनि प्रस्तुत गर्नुभयो । बडालले स्पष्ट पार्नुभयो, ‘सहकारीहरु साना पनि हुन्छन्, ठूला पनि हुन्छन्, एकदम ठूला पनि हुन्छन्, अर्ब र खर्ब डलरसम्मको कारोबार गर्ने पनि हुन्छन् । मुख्य कुरो सहकारीहरु सिद्धान्तमा चलेका छन् कि छैनन् भन्ने हो ।’

अभिलेख

लोकप्रिय