१८ भदौ २०८३, बिहिबार

बखान भर्सेज वादे

२०८२ वैशाख ४, बिहिबार
बखान भर्सेज वादे

अहिले सहकारी अभियानमा विस्तारै छेडिएको बहस- ‘मुलुकको पहिलो सहकारी चितवनको बखान ऋण सहकारी समिति हो कि काभ्रेको ल्याण्ड एण्ड मोर्टगेज सहकारी ?’ भन्ने हो । ‘नेपालको सहकारीका जन्मदाता, संस्थापक वा प्रणेता जे भने पनि तनहुँको पुलिमराङका बखानसिंह गुरुङ कि काभ्रेको बनेपाका राजदास बादे श्रेष्ठ ?’ भन्ने हो । बखान भर्सेज वादेको यो बहसलाई ‘प्रोक्जिमीटी थ्योरी’ को आधारमा काभ्रे जिल्ला सहकारी संघले एक कदम अघि बढाएको छ ।

संघले २०८१ माघ १० गते बिहीबार बनेपामा एक कार्यक्रम गरेर संसदीय छानबिन समितिले काभ्रेपलाञ्चोक जिल्लामा २००० सालमा सहकारी खोलिएको भन्ने सरकारी दस्तावेजलाई कार्यान्वनमा ल्याउन जिल्लास्थित सहकारीसँग सम्वन्धित सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएको थियो ।

अध्यक्ष अमन पोटेको अध्यक्षतामा भएको छलफलमा वरिष्ठ साहित्यकार एवम् इतिहासविद मोहन दुवाल, सहकारी अभियन्ता दीपकप्रसाद पौडेल, जिल्ला सहकारी संघका पूर्वअध्यक्ष विनोद पराजुली, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, जिल्ला सहकारी संघका पदाधिकारीहरू, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्षद्वय निर्मला श्रेष्ठ, सागर कपाली, सहकारी अभियन्ता मुकुन्द दाहाल तथा विभिन्न सहकारीका संचालकको सहभागिता थियो । सहभागीहरूले सरकारले निर्णय गरेको उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा ल्याउन लबिङ गर्न अनुरोध गरेका थिए ।

त्यस्तै बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ‘नेपालमा सहकारीको प्रादुर्भाव र काभ्रेपलाञ्चोक जिल्ला’ विषयक अन्तरक्रिया कार्यक्रम २०८१ चैत्र १९ गते आयोजना गरेको छ । संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपालको पहिलो सहकारी संस्था बनेपामा स्थापना भएको बताएका थिए ।

संस्थाका अध्यक्ष शान्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक तथा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक केशव थापाले सो विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न समयमा प्रकाशन भएका पुस्तक, सरकारी कागजात, स्थानीय जानकार र कतिपय सहकारी अभियन्ताले नेपालमा पहिलो पटक सहकारी संस्था बनेपामा नै स्थापना भएको पुष्टी गर्ने उल्लेख गरेका थिए।

वि.स. २००० सालमा नै बनेपाका समाजसेवी एवं प्रतिष्ठित व्यक्ति स्व. राजदास बादे श्रेष्ठको अगुवाईमा मे.ज. विजय शम्सेर जबरा र भिम बहादुर पाण्डेको सहयोगमा पूर्व १ नम्बर काभ्रेका कृषकहरुको जमीन साहुको बन्धकीबाट निखनी उनीहरुको अवस्था सुधार ल्याउन र कृषि उत्पादनमा वृद्धि गर्न बनेपामा ‘ल्याण्ड मोटगेज बैंक तथा को-अपरेटिभ सोसाइटी’ स्थापना भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।

सहकारीसम्बन्धी अध्ययन समितिले ‘त्यस बखतको नेपाल पुस्तक’ को भाग २ मा (१९८६–१९९७) सालभाग ३ (१९९७–२००२ साल) मा काभ्रेपलाञ्चोकमा तत्कालीन सरकारले को–अपरेटिभ संस्था खोलेको उल्लेख गरेको छ । बनेपामा ती संस्थाहरू खोल्न पर्ने अनेकमध्ये ठोस कारण थियो–बनेपाका अतिलोकप्रिय राजदास बादे श्रेष्ठको सहयोगमा बनेपामा ऋषिदेखि कुटिर उद्योगको केन्द्र, यातायातको सुविधा, पूर्वपहाडको ढोका जस्तो र बनेपालीहरूको औधोगिक मनोवृत्ति । राजदास बादे श्रेष्ठ बनेपामा लोकिप्रिय नेता र समाजसेवी मात्रै थिएनन् । लायन्ड भोर्गेज बैंक र को–अपरेटिभ सोसाइटीबाट त्यहाँका दुःखी जनताले उठाउन सक्ने फाइदा पनि उनले राम्रो मर्म बुझेका थिए ।

नेपालको सहकारीका जानकारहरू शंकरराज जोशी, गोपीनाथ मैनालीदेखि विभिन्न व्यक्तिहरूले केही वर्षयता प्रधानाङ्गको पुस्तकको हवाला दिँदै नेपालको पहिलो सहकारी बखान नभएको तर्क घुमाउरो रुपमा प्रस्तुत गरेका छन् । संघीय प्रतिनिधिसभाका सांसद सूर्यबहादुर थापा क्षत्रीको संयोजकत्वमा गठित सहकारीसम्बन्धी संसदीय छानबिन समितिले पनि आफ्नो प्रतिवेदनमा वादे र बनेपाली सहकारीको चर्चा गरेको छ ।

पूर्वसचिव गोपी मैनाली भन्छन्, ‘इतिहासलाई तोडमोड गर्न हुँदैन । बखानभन्दा पहिले नै बनेपामा ल्याण्ड एण्ड मोर्टगेज कोअपरेटिभ सोसाइटी खुलेको थियो । यो विषयमा मैले संसदीय छानबिन समितिमा कुरा राखेको छु । अध्ययन, अनुसन्धान र खोजले बनेपाको सहकारी इतिहास बखानभन्दा पहिले भेटिन्टछ । प्रमाणहरू छन् । यसमा थप खोजसहित नेपालको सहकारी इतिहासको त्यो महत्वपूर्ण घटनाक्रमलाई सच्याउँदै सही दस्तावेजीकरण गरिनुपर्छ ।’

अब नेपालको सहकारी अभियानको सुरुवात वि.सं. २०१३ साल कि वि.सं. २००० साल ? भन्ने चर्चा चुलिँदै गएको छ । यसले गर्दा सहकारी दिवसको हालको प्रासङ्गिकतामा प्रश्नचिन्ह खडा भएको छ ।

अर्कोतर्फ, प्रत्येक सहकारी दिवसले शारदानगरको बखान सहकारी र उनै बखान सिंहको नाममा बनाउन सुरु गरिएको बखान संग्रहालयको कहिल्यै सम्पन्न नहुने निर्माण कार्यको दुरावस्था सम्झना गराउँछ । यसमा अभियान र सरकारको ध्यान पुग्न नसकेको चितवनका पाका अभियन्ता नारायण कोइराला गुनासो गर्छन् ।

अभिलेख

लोकप्रिय