७ वैशाख २०८२, आईतवार

सामुदायिक साकोसलाई सहकारी महासंघको उत्कृष्ट पुरस्कार

२०८१ चैत २२, शुक्रबार
सामुदायिक साकोसलाई सहकारी महासंघको उत्कृष्ट पुरस्कार

पनौती : काभ्रेपलाञ्चोकको पनौती–४, स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट घोषित भएको छ।

राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारमा यस वर्ष बागमती प्रदेशबाट सामुदायिक साकोस उत्कृष्ट बनेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह कार्यक्रममा उत्कृष्ट घोषणा गरिएको थियो । महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक डी।बी। बस्नेतले पुरस्कृत हुने सहकारी तथा व्यक्तिको नाम घोषणा गरेको थियो ।

राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसमा पुरस्कार घोषणा गरी अन्तर्राष्ट्रिय सहकारी वर्षमा पुरस्कार प्रदान गर्ने गर्दछ ।

२०५१ साल माघ १४ गते स्थापना भएको संस्थाले यस अघि २०६५ सालमा राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०६८ सालमा नेफ्स्कुनबाट उत्कृष्ट सहकारी संस्था र उत्कृष्ट ब्यवस्थापक पुरस्कार पाएको थियो।

त्यस्तै २०७३ सालमा राष्ट्रिय सहकारी बैंकबाट प्रदेशको उत्कृष्ठ संस्था, २०७५ सालमा नेफ्स्कुनबाट उत्कृष्ठ व्यवस्थापक, २०७६ सालमा बागमती प्रदेश सरकारबाट प्रदेशको उत्कृष्ठ संस्था, २०७८ सालमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्थाबाट उत्कृष्ट संस्था, २०८० सालमा जिल्ला सहकारी संघ, काभ्रे र पनौतीबाट उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भइसकेको छ।

एशियाली ऋण महासंघबाट सञ्चालित अन्तर्राष्ट्रिय स्तरको एक्सेस कार्यक्रममा आबद्ध भई सन् २०१२ देखि २०२२ सम्म निरन्तर एशियाली स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल यस संस्थामा हाल ६० हजार ६ सय ६२ जना शेयर सदस्यहरु आबद्ध छन्।

संस्थामा ६ अर्ब २२ करोड रुपैयाँ बराबरको कुल पुँजी रहेको छ। सदस्यहरुको शेयर पुँजी ५२ करोड ४ लाख, जगेडा कोष ४२ करोड ९७ लाख रहेको छ भने सदस्यहरुबाट ४ अर्ब ५२ करोड निक्षेप संकलन गरी सदस्यहरुलाई नै ४ अर्ब ४५ करोड ऋण लगानी गरेको छ।

१ सय ३४ जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिएको संस्थाले १८ वटा सेवाकेन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय