७ वैशाख २०८२, आईतवार

प्रकाशकीय : सहकारीखबर १३औँ वर्षमा प्रवेश

२०८१ चैत २०, बुधबार
प्रकाशकीय : सहकारीखबर १३औँ वर्षमा प्रवेश

२०६९ चैत्र २० गतेदेखि प्रकाशन आरम्भ भएकोे ‘पहिलो सहकारी डिजिटल पत्रिका’ सहकारीखबर १३ औँ वर्षमा प्रवेश गरेको छ । यो खुसीको अवसरमा हाम्रा पाठकसँगै सूचना तथा विज्ञापनदाता एवम् शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

यो अनवरत साथ, सहयोग र सहकार्यबिना आजसम्मको यात्रा पक्कै सम्भव हुने थिएन । सहकारी क्षेत्रमा निष्पक्ष र व्यावसायिक पत्रकारिताको थालनीलाई मूलतः पाठकहरूले गर्नुभएको विश्वास हाम्रो वैभव हो भन्ने ठानेका छौँ ।

‘सहकारी क्षेत्र पनि समाचारको बेग्लै बिट बन्न सक्छ र ?’ भन्ने समयमा यही क्षेत्रलाई बिट मात्रै होइन, सर्वस्व ठानेर पत्रकारिताको क्षेत्रमा ‘डिजिटल डाइभ’ गर्ने हिम्मत हामीले १३ वर्षअघि गरेका थियौँ । त्यो साहस आज हाम्रो शक्ति बनिसकेको छ, सामथ्र्य बनेको छ । राम्रो काम गर्ने भित्री मनको ठहरलाई सानातिना प्रतिकूलताहरू गत्यावरोध नहुने मानक आज सहकारीखबरले स्थापित गर्न सकेको छ ।

सहकारी क्षेत्र अब समाज र समुदायसँगै न्यूज रुमहरूमा पनि सुनिने वातावरण निर्माणमा सानै भए पनि सहकारीखबरले योगदान गर्ने अवसर पाएको छ । त्यसका लागि फेरि पनि सबैप्रति आभार व्यक्त गर्न चाहन्छौँ ।

सहकारीखबरले सहकारी क्षेत्रका गतिविधिहरूको आवश्यक प्रचारप्रसार र कमीकमजोरीको समयमै समीक्षासहित आलोचनात्मक चेत राखेर सन्तुलित र न्यायपूर्ण रुपमा काम गर्दै आएको छ । संविधानले पनि चिनेको यस क्षेत्रमा देखिएका विकृति-विसंगतिको चिरफार, नीतिगत कमजोरी र सुधारका लागि खबरदारीसँगै सफलता, राज्यलाई गरेको योगदान लगायत विषय हामीले उठाउँदै आएका छौँ । हाम्रो प्रकाशनको प्रमुख उद्देश्य पनि यही हो ।

यद्यपि, आजसम्म प्राप्त सफलतालाई थप मजबुत र विश्वासिलो बनाइरहनु चुनौतीपूर्ण छ । अर्थतन्त्र संकुचित भएको र विज्ञापन बजार पनि साँघुरिएको समयमा प्रकाशन कठिन भए पनि हाम्रो दायित्वबाट बिमुख नुहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ । पत्रकारिताको कर्तव्य र धर्मबाट कति पनि बिमुख नभई खोज, अनुसन्धान र विश्लेषणलाई अझ बलियो बनाउँदै सत्यहरू उद्घाटन गर्न जुट्ने छौँ ।

१२औँ वार्षिकोत्सवको अवसरमा पाठकहरूलाई सत्य सुसूचित गराउने प्रमुख कामबाट कहिल्यै बिमुख हुने छैनौँ । अबको सहकारीखबरको पत्रकारिता हिजोको आफ्नै पत्रकारिताभन्दा निश्चय नै बलियो, सन्तुलित र विश्वासिलो बन्ने आधार हामी पस्कनेछौँ ।

१२औँ वार्षिकोत्सवका अवसरमा पाठकहरूको बदलिँदो रुचि, अपेक्षा र भरोसालाई थप उचाइमा पु¥याउने प्रण व्यक्त गर्दछौँ । ६८औँ राष्ट्रिय सहकारी दिवस, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ तथा नयाँ वर्ष २०८२को हार्दिक मंगलमय शुभकामना !

काजी श्रेष्ठ
प्रकाशक/सम्पादक

अभिलेख

लोकप्रिय