नेपालगन्ज सहकारी कन्क्लेभ: सहकारीको अवस्था, चुनौती र सम्भावनाका बिषयमा गहन छलफल

नेपालगन्ज : ६८औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा नेपालगन्जमा पहिलो पटक कालपृष्ठ दैनिकले आयोजना गरेको सहकारी कन्क्लेभ–२०८१ सम्पन्न भएको छ ।
सहकारीका समस्या तथा सम्भावना, नेतृत्व विकासमा सहकारीको भूमिकामा छलफल गरिएको कन्क्लेभमा सहकारी क्षेत्रका विज्ञहरुले आ–आफना अनुभव सुनाउँदै सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने बारेमा राय प्रस्तुत गरेका थिए ।
।
नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले पछिल्लो समय सहकारीका सवालमा देशमा नकारात्मक कुराहरु मात्रै गर्ने गरिएकाले नकारात्मकता पक्षलाई हटाउँदै यसका सकारात्मक कुरामा ध्यान दिनु पर्ने बताए।
उनले सहकारीले बाहिर देखिएको समस्याभन्दा त्यसको सयौं गुणा समुदायको लागि राम्रो कार्य गरिरहेको विष्टले बताए। देशको तीन खम्बे अर्थनीतिका रुपमा रहेका सहकारी ग्रामीण भेगका जनताको जीवनस्तर उकास्न स्थापना भएको भन्दै आम नागरिकमा विविध कारणले बितृष्ण पैदा गरेको सहकारीको योगदानलाई बिर्सर्ने प्रयास भएको बताए।
उनले भने, ‘एउटा बिग्रदैमा सबै खराब भयो भन्ने हुँदैन । मिडियाले राम्रा कुरालाई बाहिर ल्याउनुपर्छ । मिडियाले सहकारीका राम्रा पक्षलाई उजागर गर्नुपर्छ । यसभित्रका समस्यासँगै राम्रा कुरा पनि बाहिर आउनुपर्छ ।’ उनले पहिला पटक मिडियाले सहकारीका बिषयमा कार्यक्रम आयोजना गरिएकोमा शुभकामना व्यक्त गरेका थिए।
उद्घाटन शत्र लगत्तै कन्क्लेभ अन्तर्गत भएको पहिलो सत्रमा सहकारीको अवस्था, चुनौती र सम्भावनाका बिषयमा गहन छलफल गरिएको थियो । कालपृष्ठ दैनिकका संस्थापक हेमन्त कर्मचार्यको अध्यक्षतामा भएको पहिलो सत्रमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महेन्द्र बहुमुखी क्याम्पस अर्थशास्त्र विभागका उप-प्राध्यापक अर्थविज्ञ डा. राजेश केशर खनाल, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी र अष्टम साना किसान सहकारी लिमिटेड बाँकेका मुख्य प्रबन्धक हरिस केसी मुख्य वक्ताका रुपमा रहेका थिए ।
पहिलो सत्रलाई पत्रकार तथा साहित्यकार विपी अस्तुले सहजीकरण गरेका थिए । सो क्रममा सहकारीका क्षेत्रमा सरकारले केही आवश्यक कुराहरु परिमार्जन गर्न जरुरी रहेको अधिकारीले बताए। उनले देशमा सहकारी सबै डुब्यो भन्ने अफवाह भएजस्तो अवस्था नरहेकोमा जोड दिँदै केही खराब भए भन्दैमा सबै खराब नै हुन्छन् भन्ने कुरा सत्य नभएको बताए ।
‘औंलामा गन्न सकिने संख्यामा सहकारीहरुमा समस्या देखिएको छ,’ अधिकारीले भने, ‘जहाँ अनुचित कार्य हुन्छ । जहाँ व्यवस्थापन समितिले के गर्यो भन्ने कुरा अरुलाई थाहा हुँदैन र जहाँ सहकारीले जे पनि गर्न सक्ने सोंच हुन्छ । त्यस्ता सहकारी एकदिन डुब्ने निश्चित नै हुन्छ ।’
उनले त्यस्ताबाहेक समुदायमा भिजेका, समुदायमा रहेका सामान्य व्यक्तिहरुसँग सम्बन्ध जोडेका सहकारीले समुदायको हितमा निरन्तर कार्य गरिरहेको पनि बताए ।
यस्तै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीका नियमभित्र रहेर संचालन हुनुपर्ने भनेकै सहकारी नै हुने भएकाले त्यसरी संचालन हुन सकेमात्र सहकारी सहकारी हुन सक्ने बताए। उनले सहकारी स्वःनियममा चल्नुपर्ने भन्दै त्यसबाहेकका अवस्था देखिँदा राज्यले लगाम पनि लगाउन आवश्यक रहेको धारणा राखेका थिए ।
‘साँच्चिकै सहकारी भएकोमा राजनीति नभएको देखिन्छ । केही सहकारीमा राजनीति देखिन्छ,’ अध्यक्ष सुवेदीले भने, ‘सहकारीमा राजनीति हुनु हुँदैन, दलका मान्छे सहकारीमा आएको खण्डमा दलको जुत्ता बाहिर राखेर भित्र ल्याउनसकेमात्र सहकारी सहकारीजस्तै संचालन हुन सक्छ अन्यथा राजनीतिकरणले बिग्रन्छ ।’
अर्थविज्ञ डा. खनालले तल्लो वर्गलाई माथिसम्म ल्याउने सहकारी स्थापना हुन नसकेको धारणा राखेका थिए । उनले नीति निर्माणमा पनि समस्या रहेको बताए। भोटको राजनीतिमा गएर सहकारी क्षेत्रमा समस्या देखिएको उनले बताए। यस्तै अष्टमका मुख्य प्रबन्धक केसीले सहकारी पनि देशको अर्थनीतिको खम्बा भएकाले ऋण लिएकाहरुसँग असुल गर्नको लागि प्रहरी र प्रशासनले ध्यान दिनुपर्ने बताए।
कन्क्लेवको दोस्रो सत्रमा नेतृत्व विकासमा सहकारीको भुमिका विषययमा छलफल गरिएको थियो । यस सत्रमा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रेम शाह मुख्य वक्ताका रुपमा रहेका थिए । सो सत्रलाई पत्रकार दिप्ती भंट्टले सहजीकरण गरेकि थिईन ।
नेतृत्व विकासमा सहकारीले धेरै राम्रो भूमिका निर्वाह गरेकोमा वक्ताहरुले जोड दिए। सहकारीले सामान्य भन्दा सामान्य व्यक्तिहरुसँग सम्बन्ध बनाउने भएको हुँदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरैको नेतृत्व विकासमा प्रभावकारी भूमिका निर्वाह गरेको लुम्बिनी प्रदेश सभा सदस्य काफ्लेले बताए । उनले आफू पनि सहकारीको विभिन्न पदहरुको जिम्मेवारी निर्वाह गरेर यहाँसम्मको यात्रा तय भएको बताउँदै जिम्मेवारीमा पुग्दा नेतृत्व विकासमा धेरैभन्दा धेरै सिकाई हुने धारणा राखे । उनले आफु सांसदसम्मको पदमा पुग्नु सहकारीको जिम्मेवारीले सहज बनाएको बताए।
नेपालगन्ज उद्योग वणिज्य संघका अध्यक्ष धामीले सहकारीले राम्रो काम गरिरहेको भन्दै उनले आफू सहकारीमै आवद्ध भएर आफनो नेतृत्व विकास बृद्धि भएको बताए । उनले आफ्नो यात्राबारे सुनाउँदै भएका सहकारीको अवस्थाको मुल्याँकन गर्दै मर्ज गर्नुपर्ने बताए । उनले यसरी मर्ज गरेर सहकारीलाई अगाडी बढाउँदा जग बलियो निर्माण भएर संचालनमा सहजता ल्याउने बताए।
यस्तै बचत तथा ऋण सहकारी संघ बाँके अध्यक्ष शाहले अब संचालकलाई मात्र नभएर प्रत्येक सदस्यहरुलाई सहकारी शिक्षा दिनुपर्ने बताए । उनले सदस्यहरुलाई सहकारी शिक्षा दिएर अगाडी बढ्दा सहकारीमा डामाडेल हुनसक्ने अवस्था सृजना नआउने बताए । ‘सहकारीमा समस्या आउनुको प्रमुख कारण के हो भन्दा सहकारी शिक्षा नदिइनु नै हो,’ अध्यक्ष शाहले भने।
दोस्रो सत्रलाई नेपालगन्ज उप-महानगरपालिका निवर्तमान नगर उप-प्रमुख उमा थापा मगरले समापन गरेकी थिईन। कन्क्लेभको दौरान बाँकेमा उत्कृष्ट कार्यगरिरहेका तिन वटा सहकारीले आफनो क्रियाकलापको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए। साकार कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक भरत बहादुर खत्री, गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक टिकाराम चौधरी र शुद्ध गोरस दुग्ध उत्पादक सहकारी संस्थाको मुख्य व्यवस्थापक दुर्गा कुमारी बुढाले सहकरी स्थापनादेखि हालसम्मको सफलताका बारेमा जानकारी गराएका थिए।
कार्यक्रमको सुरुआतमा कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले सहकारी कन्क्लेभ- २०८१ को बारेमा बताउँदै नेपालमा सहकारीको महत्वको बारेमा चर्चा गरेका थिए । नेपालमा भएका ३१ हजार भन्दा बढी सहकारीले १ लाख भन्दा बढी युवालाई प्रत्यक्ष रुपमा रोजगारी दिइहेको बताउँदै युवाहरुको सहभागितामा सहकारीले देशको आर्थिक उन्नतीमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने सम्पादक खत्रीले बताए।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार