२९ फागुन २०८२, शुक्रबार

सहकारी दिवसमा नेफ्स्कूनले भन्यो- ‘सहकारी क्षेत्र विश्वसनीय सहकार्यको थलो बन्नेछ’

२०८१ चैत १९, मङ्गलबार
सहकारी दिवसमा नेफ्स्कूनले भन्यो- ‘सहकारी क्षेत्र विश्वसनीय सहकार्यको थलो बन्नेछ’

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्र आम जनमानसमा एक विश्वसनीय सहकार्यको थलो बन्ने बताएको छ ।

राष्ट्रिय सहकारी दिवसले सहकारी क्षेत्र आम जनमानसमा एक विश्वसनीय सहकार्यको थलो बन्ने र विशेष गरी सदस्यहरूले राखेको बचतको सुरक्षाको प्रत्याभूति रहने साथै महाअभियानमा लागेका बृहत सदस्यहरूको जीवनस्तर परिवर्तन हुने विश्वासका साथ शुभकामना व्यक्त गरेको छ ।

संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुभकामना वक्तव्य जारी गर्दै ‘मर्यादित सहकारीः समुन्नत समाज’ को मर्म अनुरुप सम्बद्ध सबैबाट यस क्षेत्रको दिगो विकासमा सक्रिय योगदानको पूर्ण अपेक्षा र विश्वास लिएको जनाएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेफ्स्कूनले स्थापनाकाल (२०४५ साल) देखि बचत ऋण सहकारीहरूको स्थापना, प्रबद्र्धन, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितता र सञ्जाल व्यवस्थापनमा विश्वका सफल अभ्यासहरूको आन्तरिकीकरण एवम् हस्तान्तरण गर्दै साकोस विकासमा निरन्तर प्रतिबद्धता सहित आफ्नो गन्तव्यमा लागिरहेको विश्वास दिलाउन चाहन्छु । संघले सदस्य संघ संस्थाहरूको वित्तीय सुरक्षा तथा स्तरीयता कायम राख्न २०५५ सालदेखि संस्थागत विकास, गुणस्तर सुनिश्चितता एवम् सञ्जालिकरणका लागि आवश्यक कार्यक्रमहरू विकास गरी कार्यान्वयन गरिरहेको छ । बचत तथा ऋण सहकारी संस्थाहरूलाई जोखिमबाट संरक्षण गर्न सहकारी ऐन, २०७४ को दफा १०३ बमोजिम २०७६ सालदेखि स्थिरीकरण कोष विधिवत रुपमा शुरुवात भई निरन्तर विकासको चरणमा रहेको छ । स्थानीय तहसँगको समन्वयमा आधारशिला कार्यक्रम कार्यान्वयनमा रहेको छ । संघले आफ्नो छैटौं रणनीतिक योजनाको केन्द्र बनाएको साकोसहरूमा प्राविधिकीकरण र प्रविधि मार्फत दिगो साकोस व्यवस्थापनको सञ्जालको परिकल्पनालाई साकार पार्न चालिएका कदमहरुले नतिजा प्राप्त गर्न थालेको अवस्था छ ।’

त्यसैगरी बचत तथा ऋण सहकारी क्षेत्रको विकासमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको विषयले नयाँ आयाम लिनेछ भन्नेमा अभियान विश्वस्त रहेको समेत जनाएको छ ।

अभिलेख

लोकप्रिय