२२ कात्तिक २०८३, आईतवार

मोनोपोली ढंगले चलेका कारण सहकारीमा समस्या आयो: मन्त्री अधिकारी

२०८१ चैत १८, सोमबार
मोनोपोली ढंगले चलेका कारण सहकारीमा समस्या आयो: मन्त्री अधिकारी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधि र पद्धतिको आधारमा नभई मोनोपोली ढंगले चलेका कारण सहकारीमा समस्या आएको बताएका छन् ।

सोही कारण गम्भीर भएर सहकारीहरुलाई विधिसम्मत् सञ्चालन गर्ने वातावरण तयारीमा सरकार लागेको दाबी उनले गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आइतबार आयोजना गरेको ‘नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले भने, ‘अहिले २२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेका छौं, अब कसरी सहकारीलाई विधिसम्मत रुपले सञ्चालन गर्ने भन्नेमा हाम्रो ध्यान छ । सहकारी राम्रा छन्, केही सहकारीले गलत गरेको आधारमा सहकारी गलत छन् भन्ने भाष्य उत्पन्न गरिएको छ, यसको अन्त्य गर्नुपर्छ, त्यसका लागि तपाई हामी जागरुक हुन जरुरी छ । अब हामीले गाउँ गाउँमा सहकारी सफल रुपमा सञ्चालन भइरहेका छन् भन्ने उदाहरण देखाएर औचित्य पुष्टि गर्नुपर्ने छ ।’

मन्त्री अधिकारीले सहकारी अध्यादेश ल्याउने क्रममा सामान्य कमजोरी भएको तर त्यसलाई तत्काल सुधार गरेर अगाडि बढेको पनि बताए । उनले भने, ‘कमजोरी भएका तत्काल अनुभूति भयो र सुधारको प्रक्रियामा लाग्यौं, अझै पनि सुधार गर्नुपर्ने पक्षहरु छन् भने अभियानको राय सहित अगाडि बढ्न सकिन्छ । आवश्यकता परेको खण्डमा पुरै ऐन नै संशोधन गरेर जानपर्ने पनि हुन सक्छ । हामी सबैलाई महशुस भएको खण्डमा ऐन परिवर्तन गर्न नसकिने पनि होइन । अहिले अप्ठ्यारो परेका कुराहरुलाई फुकाएर काम गर्दै जाऔं ।’

उनले चैत्र २० गते ६८औं राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा सहभागिताका लागि पनि सबैलाई आग्रह गरे ।

अभिलेख

लोकप्रिय