१८ भदौ २०८३, बिहिबार

नवजीवन सहकारीले उत्पादन गरेको चामल बजारमा

२०८१ चैत ९, शनिवार
नवजीवन सहकारीले उत्पादन गरेको चामल बजारमा

धनगढी : नवजीवन सहकारी संस्थाले चाम उत्पादन गरी विक्रि वितरण सुरु गरेको छ ।

संस्थाले गोदावरी नगरपालिका-८, मजगाउँमा नवजीवन खाद्य उद्योग (राइस मिल) सञ्चालन गरी मसिनो र ग्रेडिङ चामल उत्पादन गरिरहेको छ ।

संस्थाका अध्यक्ष देव बहादुर बमले शेयर सदस्यहरूलाई कृषिसँग जोड्नका लागि चामल उत्पादन सुरु गरिएको बताए । राइस मिलमा हालसम्म १६ हजार २८ क्विन्टल धान खरिद गरेर एक हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको अध्यक्ष बमले बताए । सहकारीले ६ सय ५१ क्विन्टल २९ किलोग्राम चामल उत्पादन गरिसकेको छ । मिलले दैनिक चार सय क्विन्टल धान कुट्दै आएको उनको भनाई छ ।

संस्थाले २५ किलोग्राम मोटो चामलको एक हजार चार सय र मसिनो चामलको २ हजार २ सय मूल्य निर्धारण गरेको छ । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने सहकारीका अध्यक्ष बमले बताए ।

उत्पादित चामल नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरूबाट बिक्री वितरण गरिने अध्यक्ष बमले बताए ।

सहकारीले घर–घरमा नै चामल पुगाउने सुविधा समेत दिनेछ । सहकारीले मझगाउँमा कृषि उपआयोजनाका लागि एक बिघा १० कट्ठा जग्गा खरिद गरेको छ । सोही स्थानमा पाँच हजार टन क्षमताको गोदाम घर निर्माण गरिएको छ ।
संस्थामा आवद्ध ३६ हजार सदस्यसहित आम जनताले शुद्ध र अग्र्यानीक चामल खान पाउन भन्ने उद्देश्यले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको बमले बताए । साथै गहुँको पिठो, तेल र पानी उत्पादन गर्ने योजना समेत रहेको उनले सुनाए।

२०५० साल मङ्सिर ३० गते स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा छ । सहकारीमा ३१ करोड ३४ लाख शेयर पुँजी रहेको छ । संस्थाले पाँच अर्ब ७३ लाख ६४ हजार निक्षेप सङ्कलन गरी चार अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सहकारीले कृषि उपआयोजना अन्तर्गत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको हो । संस्थाको कुल सम्पत्ति ६ अर्ब ४७ करोड ९० लाख रहेको छ।

अभिलेख

लोकप्रिय