९ भदौ २०८३, मङ्गलबार

हाम्रो बचतको स्थापना दिवसमा विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री

२०८१ फागुन १३, मङ्गलबार
हाम्रो बचतको स्थापना दिवसमा विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री

ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्थाले २७ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामग्री
हस्तान्तरण गरेको छ।

संस्थाले मंगलबार एक कार्यक्रमको बीच गोदावरी नगरपालिका वडा नं. १ स्थित दमाइटार आधाभूत विद्यालयमा अध्ययनरत ८० जना छात्र छात्राहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

वडाअध्यक्ष श्रीराज थापाको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष श्यामकृष्ण घिमिरे लगायत पदाधिकारी तथा उच्च व्यवस्थापन सहितको सहभागितामा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

२७औं वर्षमा हाम्रो साकोस, सदस्यको समृद्धिसँगै दिगो सहकारी निमार्ण गर्ने लक्ष्य

हाम्रो बचत तथा ऋण सहकारी संस्था स्थापनाको २७औं वर्षमा प्रवेश गरेको छ ।

२०५५ सालमा ललितपुर जिल्लाको विकट ग्रामीण भेगबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्ने समुदायका २९ जनाले दर्ता गरी संस्थाले ४९ जनाबाट कारोबार शुरु गरेको थियो।

स्थापना दिवसका अवसरमा एक प्रतिवद्धता जारी गर्दै संस्थाले आपसी सहयोग, सदभाव र सामुहिक हितका लागि सहकारी भन्ने संकल्पका साथ स्थापना भएको संस्थाले  सदस्यहरुको निरन्तर विश्वास सहयोग र रचनात्मक सल्लाहका साथ सहकारीहरुमाझ राम्रो पहिचान बनाउन सफल भएको जनाएको छ।

स्थापना दिवसको अवसरमा संस्थाले प्रतिवद्धता जारी गर्दै भनेको छ, ‘महाभूकम्पमा र कोभिड १९ महामारीको समयमा सदस्यहरुलाई घरघरमा गएर वित्तीय सेवा प्रदान गरेर होस या विश्वव्यापी आर्थिक मन्दी र वित्तीय क्षेत्रमा तरलताको संकुचन परेको अवस्थामा वित्तीय सन्तुलन कायम गरि सदस्यलाई नियमित वित्तीय सेवा प्रदान गर्दै २६औं वर्ष सम्ममा थुप्रै आरोह अवरोहको सामना गर्दै संस्थाले आफ्ना सदस्य, समुदाय तथा सरोकारवाला निकायहरु प्रतिको उत्तरदायित्व निर्वाह गरी नियमित सेवा प्रदान गरि रहेको छ।’

संस्थाले सदस्यहरुमा बचत सम्बन्धि सचेतना जगाई बचतलाई बानीको रुपमा विकास गर्दै पूँजी निर्माण गर्ने र संकलित पूँजीलाई उत्पादनशील र उद्यमशील क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।

संस्थाले सदस्यहरु तथा समुदायमा वित्तीय सचेतना फैलाउने, सामुदायिक उत्तरदायित्वका कार्यक्रमहरु, वित्तीय अनुशासन पालना गर्ने सदस्ययलाई गर्भदेखि स्वर्ग सम्मका कार्यक्रममार्फत विभिन्न अवस्थामा समाजिक सुरक्षाका कार्यहरु गर्ने, सामुदायिक सचेतना तथा सामाजिक विकासमा सहकार्य गर्ने, समयानुकुल प्रविधिमा आधारित अत्याधुनिक सेवा सहित सुमदाय र सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षरुमा कार्य गर्दै आएको संस्थाले जनाएको छ।

दीगो वित्तीय सेवा र वित्तीय सक्षमताका लागि संस्थागत सुशासनलाई मुख्य प्राथमिकतामा राखेर कार्य गर्दै आएको संस्थाले २०८१ साल पौष मसान्तसम्म ७ हजार ३०० जना सदस्य बाट १३ करोड ७९ लाख रुपैया शेयर पूँजी संकलन गरी १५ करोड ५ लाख संस्थागत पूँजी कायम गर्न सफल भएको छ ।

त्यसैगरी सोही अवधिसम्म १ अर्ब ३० करोड ८८ लाख बचत संकलन, १ अर्ब २५ करोड ९० लाख ऋण लगानी गरी संस्थाले कुल सम्पती १ अर्ब ७३ करोड २६ लाख पुर्‍याएको छ । संस्थामा ऋणी सदस्यको संख्या २००० रहेको छ भने तरलता प्रतिशत २०.९६ प्रतिशत रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए ।

दिवसको अवसरमा संस्थाका अध्यक्ष श्यामकृष्ण घिमिरेले संस्थागत विकासमा नीति विधि, पद्धति र प्रविधिको अवलम्बन गरि आगामी दिनमा संस्थागत सुशासन कायम गर्दै प्रभावकारी सदस्य सेवामा लाग्ने र सेवाहरु विस्तार गर्ने प्रतिवद्धता जनाएका छन्। सदस्यहरुको समृद्धिका लागि कार्य गर्दै दिगो सहकारी निमार्ण गर्ने लक्ष्यसहित आगामी यात्रामा लाग्नुका साथै सदस्यप्रति जवाफदेही र उत्तरदायी भएर कार्य गर्न प्रतिवद्ध रहेको उनले जनाएका छन् । दिवसकै अवसरमा संस्थाले शनिबार रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ।

अभिलेख

लोकप्रिय