सहकारी अध्यादेशको विरोधका बुँदामा छलफल गर्न सरकार तयार छ: मन्त्री अधिकारी
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले नै सहकारी ऐन २०७४ अध्यादेशमार्फत संशोधन गरिएको बताएका छन्।
राष्ट्रिय सहकारी महासंघको ३२औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री अधिकारीले सहकारी अभियानले उठाएको विरोधका बुँदामा सरकार छलफल गर्न तयार रहेको बताए।
‘सहकारी क्षेत्रमा सुधार गर्ने अभिप्रायले अध्यादेश ल्याइएको हो । सहमति गरेर अघि बढ्दा केही कुराहरू सम्पूर्ण रूपमा मिल्न नसक्लान् तर आवश्यक परिमार्जन गर्न सकिन्छ’, मन्त्री अधिकारीले भने । सहकारीलाई कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोषसँग जोड्ने विषयसमेत अध्यादेशमा समेटिएको जानकारी गराउँदै यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
सहकारीका लागि कर्जा असुली न्यायाधिकरण छिट्टै गठन हुने जानकारी दिँदै मन्त्री अधिकारीले सहकारीको स्वायत्तता भनेको छाडा व्यवस्थापन नभएको र सबैले ऐन तथा कानुन पालना गर्नुपर्नेमा जोड दिए।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलले अध्यादेशलाई अभियानसँग छलफल गरेर सुधार गर्दै जाने बताए।
महासंघकी अध्यक्ष ओमदेवी मल्लले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै महासंघको अध्यादेशप्रति ध्यानआकर्षण भएको बताईन । उनले भनिन् ‘महासंघको बोर्ड बैठकले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ र अभियानको भावनालाई सम्बोधन गरिनेमा हामी आशावादी छौं ।’
पूर्व मन्त्री तथा महासंघका पूर्व अध्यक्ष केशव बडालले सहकारीमा बचतको सीमा तोक्नु गलत भएको भन्दै यसलाई परिमार्जन गर्न जोड दिए । उनले सहकारीको स्वायत्तता र स्वतन्त्रतालाई कमजोर पार्ने कुनै पनि कदमको समर्थन गर्न नसकिने बताए।
साधारण सभामा महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू दीपकप्रकाश बाँस्कोटा, खगराज अधिकारी, लिलामणि पोखरेल, उषा झा लगायतले सहकारीको स्वायत्तता बलियो बनाउनुपर्ने धारणा राखेका थिए।

‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन
राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन भएको छ।
राष्ट्रिय सहकारी महासंघको ३२औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, महासंघका पूर्व अध्यक्षद्वय केशव बडाल र दीपकप्रकाश बाँस्कोटाले पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक विमोचनका क्रममा पूर्व अध्यक्ष बडालले पुस्तक सहकारीकर्मीका लागि अत्यन्तै उपयोगी रहेको बताए।
महाप्रबन्धक सुब्बाले छोटो समयमै पुस्तक तयार गरिएको जानकारी गराउँदै सहकारी क्षेत्रमा आवश्यक थप सामग्री तयार पार्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘सहकारीमा सैद्धान्तिक विषयमा मात्र बहस हुने गरेको छ । व्यवहारिक पक्षमा बहसको अभाव भएकाले मैले यो पुस्तकमा व्यवहारिक पक्ष समेट्न प्रयास गरेकी छु’, महाप्रबन्धक सुब्बाले भनिन् ।
उनले भनिन्, ‘सैद्धान्तिक ज्ञान भन्दा व्यवहारिक ज्ञान महत्वपूर्ण हुन्छ भन्ने मेरोजीवनको महत्वपूर्ण सिकाई हो । यसर्थ हरेक शिर्षकमा सक्दो व्यवहारिक पक्षलाई जोड दिएको छु ।’
पुस्तकको मूल्य चार सय रुपैयाँ तोकिएको छ ।
सुब्बाको यो दोस्रो पुस्तक हो । यसअघि ‘सहकारीमा २५ वर्षः भोगाइ र अनुभव’ शीर्षकको पुस्तक प्रकाशित गरेकी थिईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार