१७ जेठ २०८३, आईतवार

म्याग्दी सहकारीको १७औं वार्षिक साधारण सभा सम्पन्न

२०८१ पुष ११, बिहिबार
म्याग्दी सहकारीको १७औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : गोंगबु स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष थदेवी पुनको अध्यक्षता एवं संस्थाका संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

१८ वर्ष अघि स्थापित म्याग्देलीहरुको पहिलो वित्तीय संस्था म्याग्दी सहकारीले स्थापनाको औचित्य पुष्टि गरेको गर्बुजाले बताए । ‘हाल विभिन्न सहकारीहरुमा बचत फिर्ता र कर्जा असुलीको समस्या छ । यस्तो अवस्थामा पनि म्याग्दी सहकारी सहज र सुरक्षितरुपमा सञ्चालन भएको पाउँदा खुशी र गौरब लागेको छ’, उनले भने, ‘वित्तीय प्रणाली अनुसार संस्था सञ्चालन गर्नुहुने सञ्चालक समिति, सल्लाहकार समिति र व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु ।’

आफू म्याग्दी जिल्लाका प्रतिनिधि भएका नाताले जिल्लाको विकासका लागि सरकारबाट बजेट विनियोजन गर्न सक्दो योगदान गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले म्याग्दी सहकारी सबैलाई चिन्न पाउने वित्तीय चौतारी बनेको बताए । ‘यो सहकारी नभएको भए यतिका धेरै दाजुभाई तथा दिदिबहिनीहरुलाई चिन्ने अवसर मिल्न कठिन थियो’, उनले भने, ‘वित्तीय व्यवस्थापनमा हाम्रो टीमले राम्रोसँग काम गरेको छ । ढुक्क भएर कारोबार गर्न अनुरोध गर्दछु ।’

संस्थाका सहकारी परामर्शदाता तथा सहकारी अभियन्ता डिल्लीराम तिवारीले स्थापनाको १८ वर्षमा सदस्यहरुले देखाएको सक्रियता स्रहानिय रहेको बताए । ‘म्याग्देलीहरुको स्वाभिमान र सोझोपनले मेरो सम्बन्धले १८ वर्ष पुरा भएको भर्खरै जस्तो लाग्दैछ’, तिवारीले भने, ‘संस्थाले प्रस्तुत गरेको प्रतिवेदन वित्तीय मान र सिद्धान्त अनुसार रहेकाले संस्थाको वित्तीय अवस्था सुरक्षित छ ।’

त्यस्तै धौलागिरी सहकारी समुहका संयोजक यामबहादुर श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक लि. गोंगबु शाखाका प्रबन्धक विष्णु गिरीले अहिलेको चुनौतिपूर्ण अवस्थामा पनि म्याग्दी सहकारीको वित्तीय अवस्था राम्रो हुनु सहकारी क्षेत्रका लागि पनि स्वागत योग्य भएको बताए।

कार्यक्रममा बचत तथा ऋणमा उत्कृष्ट योगदान दिने सदस्यहरु मिरु गुरुङ्ग, कर्णबहादुर घर्ति र लिलमाया छन्त्याललाई सम्मान गरिएको थियो । त्यस्तै एक लाख भन्दा बढिको शेयर खरिद गर्नु भएका नयाँ सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा म्याग्देली नवप्रतिभावन तथा लोकप्रिय गायक प्रकाश दुतराजलाई छोटो समयमा लोकगीत क्षेत्रमा उदयीमान गायकको रुपमा स्थापित भएकोमा प्रतिभा सम्मान पत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा बरिष्ठ लोक गायक खड्ग गबुर्जा, प्रकाश दुतराज र राजन भुजेलले लोकगीत प्रस्तुत गरिएको थियो । साथमा अन्य बाल कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले तथा स्वागत भाषण उपाध्यक्ष धनलाल जैसीले गरेका थिए ।

साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेलले, वार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिकोतर्फबाट संयोजक चित्रबहादुर पुनले संछिप्त विवरण प्रस्तुत गरेका थिए ।

१७९३ जना सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा संस्थाको शेयर पुँजी ७ करोड ९२ लाख, कुल बचत ४३ करोड ३४ लाख, कर्जा लगानी ४२ करोड ५० गरेको छ । संस्थाले शेयर लाभांश वितरणका लागि ३८ लाख १३ हजार तथा पुँजीफिर्ता कोषमा १९ लाख ६८ हजार र जगेडा कोषमा २६ लाख २४ हजार रुपैयाँ बाँडफाँड गर्ने प्रस्तावलाई पारित गरेको छ ।

संस्थाको साधारण सभाले ओमदेवी मल्लको नेतृत्वमा निर्वाचित राष्ट्रिय सहकारी महासंघका पदाधिकारी तथा सदस्यहरु, चन्द्रप्रसाद ढकालको नेतृत्वमा निर्वाचित नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी (नेफ्स्कुन) का पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको थियो ।

अभिलेख

लोकप्रिय