साकोस अभियानलाई थप मर्यादित र व्यवस्थित गर्न बुद्धभूमिबाट चार बुँदे संकल्प प्रस्ताव पारित
रुपन्देही (बुटवल) : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारणसभा लुम्बिनी प्रदेशको बुटवलमा शनिवार सम्पन्न भएको छ ।
सभाले साकोस अभियानलाई थप मर्यादित र व्यवस्थित गर्न ४ बुँदे साझा संकल्प प्रस्ताव समेत पारित गरेको छ । १६ वर्षपछि काठमाडौं उपत्यका बाहिर आयोजना गरिएको नेफ्स्कूनको वार्षिक साधारणसभा बहुसरोकारवालाहरुको समेत सहभागितामा साकोस अभियानलाई नयाँ उर्जा र दिशा दिने संकल्प गर्दै बुद्धभूमिमा सम्पन्न भएको हो ।
सभालाई अन्तिम निर्णयकर्ताहरुबाट संघका गतिविधि, रणनीति र क्रियाकलापहरु, आय, व्यय र प्रगति प्रतिवेदनहरु तथा प्रस्तावित कार्यक्रमहरु पारित गराउने मात्र नभई साकोस अभियानका असल अभ्यासहरु, चुनौतीहरु र सम्भावनाहरुबारे विज्ञ सहजीकरणमार्फत भावी रणनीतिक मार्गचित्र कोर्ने महत्वपूर्ण काम समेत दुई दिने सभाले गरेको छ । दुई दिने सभाको निचोड ४ बुँदे साझा संकल्पमार्फत अभिव्यक्त भएको छ ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित सभाको दोस्रो दिन सभाले संघको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित नीति तथा कार्यक्रम उपर सदस्यहरुको उत्साहपूर्ण एवम् सक्रिय सहभागितामा सघन छलफलसहित पारित गरेको छ । यसैगरी संघको गत आर्थिक वर्षको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि पनि यथेष्ट छलफलसहित पारित गरेको छ ।
सिङ्गो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सहभागी सभामा संघका महासचिव घनश्याम अधिकारीले महासचिवको प्रतिवेदन, कोषाध्यक्ष दिपक थापाले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराजज्योति पौडेलले लेसुसको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरुमाथि उत्साहपूर्वक सक्रिय सहभागी सदस्य संघ संस्थाका प्रतिनिधिहरुले सान्दर्भिक, मार्मिक र रचनात्मक राय, सल्लाह सुझाव प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथिका जिज्ञासाहरुको सम्बोधन महासचिव, कोषाध्यक्षले गरेका थिए।
प्रतिवेदन उपर छलफलमा सहभागी सदस्यहरुले वित्तीय सुशासनलाई केन्द्रमा राखेर सदस्य केन्द्रीत भई काम गर्न समितिलाई सुझाएको छ । भाखा नाघेको ऋण असुलीलाई तीब्रता, सञ्चालन खर्चमा सुधार, दूर दराजका सहकारीहरुको क्षमता अभिवृद्धिलाई प्राथमिकता, वित्तीय साक्षरताका कार्यक्रम सञ्चालनलाई व्यापकता, सफ्टवेयरका समस्याहरुको दिगो समाधान, स्थिरीकरण कोषको प्रभावकारी काउन्सीलिङ, प्रोफिट भन्दा सर्भिस मोटिभमा जोड, प्रारम्भिक संस्थाहरुको शसक्तीकरण रणनीति, सञ्जाल साझेदारीको प्रभावकारिता अभिवृद्धि, छुट्टै बचत ऋण सहकारी ऐन, कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायाधिकरण लगायत साकोस अभियानका मुद्दाहरुमा सघन बहसपैरवी, विकास साझेदार निकायहरुको खोजी तथा समन्वयमार्फत दूरदराजका सदस्य संघ संस्थाहरुको क्षमता विकास आदिकुरामा सुझाव राखेका थिए।
प्रत्युत्तरमा संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनको गरिमामय लिगेसी कमजोर बनाउने गरी कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले इमानदारीपूर्ण मिहिनेत नतिजामा परिणत हुनुपर्ने धारणा सिङ्गो सञ्चालक समितिको रहेको भन्दै ‘इररलेस’ काम गरेको प्रतिवद्धता जाहेर गरे।
उनले स्थिरीकरण कोषको कार्यविधि संशोधनमार्फत जोखिम सुपरिवेक्षणको काम सुरु गरिएको बताए । ऋण असुलीमा निर्मम तरिकाले काम गरिएको भन्दै अझै निर्ममतापूर्वक जाने विश्वास दिलाए ।
सभामा सहभागी संघका सल्लाहकारहरुले समेत सुझाव र मार्गदर्शन राख्दै अभियान एक ढिक्का भएर सहकारीप्रतिको छवि सुधारमा जुट्नुपर्ने बताए।
सभा विर्सजन गर्दै संघकी उपाध्यक्ष शान्ती अधिकारीले ३३औं वार्षिक साधारणसभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । केही आशंका र संशयबीच साधारणसभा उल्लेख्य सहभागितामा सम्पन्न भएकोमा उनले प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ उर्जा र जोशका साथ सहकारी अभियानको श्रीवृद्धिमा लाग्न आग्रह गरिन् ।
‘यो उपस्थिति साँच्चिकै गौरवमय भयो, बन्द सत्रको सहभागिता पनि उल्लेख्य रह्यो । लुम्बिनी प्रदेशमा आयोजना भएको यो सभालाई भव्यरुपमा सफल बनाउन सहयोग गर्ने खासगरी यो प्रदेशको सिङ्गो सहकारी अभियान, स्थानीय सरकारहरु तथा सरोकारवालाहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु’, उनले भनिन् ।
सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने स्थानीय तह, विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।
सभाको उद्घाटन हिजो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका थिए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार