‘केही व्यक्ति र प्रवृत्तिका कारण समग्र अभियान कदापि प्रताडित हुनुहुँदैन’

एउटै अभियान एउटै आवाजः सुरक्षित साकोस समुन्नत समाज भन्ने मूल मन्त्रसहित हामीले यो साधारण सभा शान्तिका अग्रदूत गौतमबुद्धको तपोभूमिमा आयोजना गरेका छौं । १६ वर्षपछि काठमाडौं उपत्यकाबाहिर साधारण सभा गर्ने जमर्को गर्दै हामीले यो शान्तिभूमिबाट र हाम्रा सदस्यहरुको सहभागितासाथ सहकारी अभियानभित्र एकता, सहिष्णुता, सद्भाव र सहकार्यको एकताबद्ध सन्देश विश्व सहकारी अभियानसम्म प्रवाह गर्ने उद्देश्यले साधारणसभा आयोजना गरेका हौं । हाम्रो एउटै अभियान र एउटै आवाज भनेको सबै साकोसहरुलाई सुरक्षित र दिगो बनाउँदै समाजलाई समुन्न्त बनाउने नै हो । यो सहकारी अभियाको साझा प्रण पनि हो ।
करिब ७० वर्ष लामो इतिहास बोकेको सहकारी अभियानले अहिले ठूला चुनौतीहरु सामना गरिरहेको छ । सहकारीको मूल्य, मान्यता, सिद्धान्तसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरुलाई आत्मसात गर्दै सदस्य केन्द्रीत सामाजिक उद्यमका रुपमा अघि बढाइनुपर्नेमा सहकारीका नाममा केही छद्मभेषीहरुका गैरसहकारी क्रियाकलापन, व्यक्तिगत प्रलोभन, सैद्धान्तिक र नीतिगत स्खलनका कारण समुदायमा आधारित सदस्य केन्द्रीत सहकारीहरु पनि प्रभावित र प्रताडित भएका छन् । यौ साझा चिन्ताको विषय हो ।
स्वायत्तता र स्वतन्त्राको सैद्धान्तिक जगमा उभिनुपर्नेमा केही सहकारीहरुमा आन्तरिक सुशासन र नियन्त्रण प्रणाली कमजोर देखिएका कारण समग्र सहकारी अभियानमा यसको बाछिटा परेको छ । खाइनखाइ सुरक्षित भविष्यको लागि सदस्यहरुले गरेको बचत र उनीहरुको विश्वासमाथि खेलवाड गर्ने काम भएको छ । यो अक्षम्य अपराध हो । नेफ्स्कून यस किसिमको कार्यको भत्र्सना गर्दै गलत गर्नेहरुलाई कारवाही र सही काम गर्नेलाई सकारात्मक पृष्ठपोषणको सबैबाट अपेक्षा गर्दछ । त्यसैकारण पनि हामीले यो सभाबाट एउटै आवाज एउटै अभियानको सन्देश प्रवाह गर्नुपर्ने गुरुत्तर दायित्व छ ।
मुलुकका लागि सहकारी अभियानको अपरिहार्यता र अभियानले खेलेको भूमिका कोहीकसैबाट छिपेको छैन र मैले आज यहाँ यसको चर्चा गरिरहनुपर्छ भन्ने लाग्दैन । त्यसैले, केही व्यक्ति र प्रवृत्तिका कारण समग्र सहकारी अभियान कदापि प्रताडित हुनुहुँदैन ।
राज्यका कानूनहरुलाई सहकारीका सदस्यमैत्री बनाउँदै उनीहरुको वृहत्तर हितका खातिर काम गर्ने अनुकूलन वातावरण निर्माणका लागि सरकार र सरोकारवालाहरुसँगको बहसपैरवीलाई भोलिका दिनमा थप सघन बनाउने प्रतिबद्धता सञ्चालक समितिको तर्फबाट यहाँ व्यक्त गर्न चाहन्छु । सरकार र सहकारी अभियानको साझा चासो र चिन्तन भनेको यसमा प्रत्यक्ष आवद्ध ७३ लाख बढी सदस्यहरुको सामाजिक, आर्थिक लगायत बहुआयामिक विकास नै हो ।
यसतर्फ सहकारी अभियान र यसमा आवद्ध हामी सबैले गम्भीर भएर सोच्नुपर्दछ र सोही अनुरुप रणनीति र कार्यक्रहरु तय गरिनुपर्दछ भन्ने लाग्दछ । आजको यो भव्य उपस्थितिले सहकारी अभियानमाथिको आस्था, अपेक्षा र विश्वास पुनस्र्थापित गरेको महशूस गरेका छौं । सहकारी अभियानमाथिको सदस्यहरुको विश्वास पुनजागृत गरेको विश्वास गरेका छौं ।
नेफ्स्कून नेपालको सहकारी अभियानको सबैभन्दा बलियो परिचायक हो भन्दा अत्युक्ति नहोला । सहकारी अभियानलाई सदस्यहरुको समृद्धिको अभियान बनाउने हाम्रो मुख्य उद्देश्य हो । सहकारी अभियानका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तसँगै बचत तथा ऋण सहकारी सञ्चालनका विशिष्ट सैद्धान्तिक धरातलमा उभिएर सदस्य संघ संस्थाहरुमार्फत व्यक्तिगत सदस्यहरुको जीवन रुपान्तरण हाम्रो ध्येय हो ।
यो साधारणसभा हाम्रा सदस्य संघ संस्थाहरुको सभा हो । सदस्यहरुको सर्वोच्चतालाई आधिकारिता, वैधता र प्रामाणिकता दिने मुख्य सभा हो । हाम्रा प्रमुख अतिथि, बिशिष्ट अतिथि एवम् अतिथिहरुको हौसला, सदस्यहरुको मार्गदर्शन, अग्रजहरुको सल्लाह सुझाव र सञ्चारमाध्यमको खबरदारीपूर्ण समर्थनले हामी आगामी दिनमा थप सशक्त बन्दै सहकारीमार्फत समाजवादको संविधानको परिकल्पनालाई साकार पार्न दत्तचित्त भई लाग्ने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छौं ।
हामी केवल सदस्यहरुका प्रतिनिधि हौं । नेफ्स्कूनको ३२औं वार्षिक साधारणसभाबाट सदस्यहरुले विश्वास गरेर सुम्पेको जिम्मेवारीलाई हामीले इमानदारी र निष्ठापूर्वक निर्वाह गरेका छौं । हामीले संघको ओजस्वी लिगेसीलाई कायम राख्न कर्तव्यनिष्ठ भई काम गरेका छौं भन्ने विश्वास छ । अन्तिम मूल्यांकनकर्ता त तपाईहरु सदस्यहरु नै हुनुहुन्छ ।
अबको १० दिनपछि अंग्रेजी नयाँ वर्ष २०२५ सुरु हुँदैछ । सन् २०२५ लाई संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउने तयारी विश्व सहकारी अभियानले गरेको छ जसको औपचारिक घोषणा अन्तर्राष्ट्रिय सहकारी महासंघले हालै भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको ग्लोबल कोअपरेटिभ कन्फ्रेन्शको क्रममा गरिएको थियो । विश्व सहकारी अभियानसँगै एकाकार हुँदै सहकारीमार्फत पिधँमा परेका र पिछडिएका वर्ग र समुदायहरुको सर्वाङ्गीण विकास सम्भव छ भन्ने सन्देश प्रवाह गर्ने उक्त अवसरलाई नेपालको सहकारी अभियानले पनि भरपूर प्रयोग गर्ने वातावरण निर्माणमा यो सभा सहयोगी हुने विश्वास पनि लिएका छौं । यस्तै, आन्तरिक पर्यटन प्रवर्धनमा सहकारी क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गर्न सक्छ भन्ने सन्देश पनि यो सभाले प्रवाह गर्ने हामीलाई विश्वास छ ।
यो सर्वोच्च सभाको उद्देश्य, गरिमा र महत्तालाई कुनै कमी हुन नदिई यी विषयहरुमा पनि यो सभा अविष्मरणीय बन्नेछ भन्ने हामीलाई लागेको छ । सहकारीका सबै सदस्यहरु सहभागी भई संस्थाका हरेक महत्वपूर्ण विषयहरुमा विमर्श गर्ने, दूरदर्शी अनि दूरगामी निर्णयहरु गर्ने र संस्थालाई सदस्यहरुको जीवनपद्धतिको महत्वपूर्ण पाटो बनाउन सधै झैं नेफ्स्कूनको यो साधारण सभा पनि सफल हुने विश्वास हामीले लिएका छौं । मुलुकको बचत तथा ऋण सहकारी अभियानलाई थप मर्यादित, सुशासित, पारदर्शी बनाउने काममा यहाँहरुको साथ, सहयोग र सद्भावपूर्ण सहकार्यको अपेक्षा हामी गर्दछौं । अभियानमाथि अनावश्यक प्रहार पनि भैरहेको अवस्थामा मुलुकभरका सदस्यहरुलाई सकारात्मक सन्देश प्रवाह गर्ने गरी हामी साझा संकल्प प्रस्तावहरु जारी गर्न सफल हुनेछौं भन्ने विश्वास हामीले लिएका छौं ।
निर्वाचनबाहेकको साधारणसभा प्रायः एक दिन गर्ने गरिएपनि यो वर्ष हामीले सहकारी अभियानलाई नै असर पार्ने र यसमार्फत खासगरी पिछडिएका वर्ग र समुदायको जीवनस्तर परिवर्तनमा भएका कामहरु, समाज रुपान्तरणका उदाहरणीय कार्यलाई नै छायाँमा पार्ने गरी भएका गतिविधिहरु विरुद्ध बुटवलबाट एकता, परिवर्तन, सुशासन, पारदर्शीता र इमानदारीको बिगुल फुक्ने गरी सबैको जमघटको अवसरलाई सदुपयोग गरी पहिलो दिन प्रमुख अतिथि, बिशिष्ट अतिथि तथा अतिथिहरुबाट मार्गदर्शन प्राप्त गर्ने, स्वअनुसाशनका सम्बन्धमा आवश्यक सिकाइहरुबाट आत्मप्रेरित गर्ने र र दोस्रो दिन सदस्यहरुको निर्णायक भूमिकाको उच्च कदर गर्दै हाम्रो गतिविधिहरुको अनुमोदन गर्दै आगामी मार्गचित्र स्पष्ट पार्ने उद्देश्यले दुई दिन कार्यक्रम राखेको यो सभासमक्ष अवगत गराउन चाहन्छु ।
अन्त्यमा, १६ वर्षपछि नेफ्स्कूनको वार्षिक साधारणसभा काठमाडौं उपत्यका बाहिर आयोजना गरेका छौं । नेफ्स्कून सञ्चालक समितिले मेरै संयोजकत्वमा ७ सदस्यीय ३३औं वार्षिक साधारणसभा तयारी व्यवस्थापन उपसमिति गठन गरेको थियो । म यो अवसर प्रदान गर्ने सञ्चालक समितिलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । व्यवस्थापन उपसमितिमा रही अहोरात्र खटेर आज यो साधारण सभा सफल बनाउन सहयोग गर्नुहुने सञ्चालक समितिका साथीहरु तथा सबै आदरणीय व्यक्तित्वहरुलाई जति धन्यवाद दिएपनि कमै हुन्छ । त्यसैगरी, स्र्माट व्यवस्थापनका लागि संघको व्यवस्थापनलाई पनि म धन्यवाद दिन चाहन्छु ।
सरकार र सहकारी अभियानको साझा प्रयासबाट मात्र यस क्षेत्रको विकास सम्भव छ भन्ने कुरा पुनः जोड दिँदै बिदा हुन्छु । धन्यवाद ।
(३३औं वार्षिक साधारणको उद्घाटन सत्रमा वरिष्ठ उपाध्यक्ष अधिकारीले राखेका मन्तव्य)
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार