१६ जेठ २०८३, शनिवार

उत्कृष्ट सहकारिता सहितको वित्तीय सेवा प्रवाह गर्न नेफ्स्कून प्रतिबद्ध छ

२०८१ पुष ५, शुक्रबार
उत्कृष्ट सहकारिता सहितको वित्तीय सेवा प्रवाह गर्न नेफ्स्कून प्रतिबद्ध छ

समिति
३२औं साधारण सभाले निर्वाचित गरेको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति अभियानको समुन्नतीका लागि निरन्तर सक्रिय छ । प्रचलित सहकारी ऐन, संघको विनियम तथा आन्तरिक कार्यबिधि बमोजिम बैठक तथा आवश्यक कार्य सम्पादन गरिएको छ ।

संघले सम्पादन गरेका कार्यहरुको विवरण महासचिवको प्रतिवेदन र परिचालन गरेको स्रोतको विवरण कोषाध्यक्षको प्रतिवेदनमा समाबेश गरिएको छ । सञ्चालक समितिले अभियानको प्रतिनिधित्व र जिम्मेवारी निरन्तर वहन गरी रहेको छ । सञ्चालक समिति सहकारी मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध छ ।

सिद्धान्त
सहकारी सिद्धान्तको परिपालना र सदस्यहरुमा प्रवर्धन र जागरण नेफ्स्कूनको प्रथम जिम्मेवारी हो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले जारी गरेको सात सिद्धान्त, विश्व ऋण परिषदले समयसापेक्ष जारी गरेको सदस्य सुरक्षाका सिद्धान्त, सुशासनको सिद्धान्त, स्वस्थ तथा सुरक्षाको सिद्धान्त र सञ्चालनका सिद्धान्तहरु हाम्रो साकोस अभियान परिपालनमा प्रतिबद्ध छ । यसको कार्यान्वयन नेफ्स्कूनले सिद्धान्त परिपालनाको अवस्था हाम्रा सञ्चालक समितिका सदस्यहरु आबद्ध संस्थाहरुमा सुपरिवेक्षण गरी प्रतिवेदन तयार गरेको छ ।

सुपरिवेक्षणका क्रममा देखिएका सुधारका क्षेत्रहरु औल्याई औपचारिक पत्राचार पनि गरिएको छ । साथै फेरि पनि सबै सदस्य सङ्घ संस्थाहरुलाई सहकारी सिद्धान्त परिपालनाका लागि सङ्घ हार्दिक अपिल गर्दछ । सहकारी सिद्धान्तका आधारमा सञ्चालन भएका संस्थाहरु थप सुरक्षित हुने विस्वास सङ्घको रहेको छ ।

सहकारी ऐन
नेफ्स्कून सहकारी ऐन परिपालनामा प्रतिबद्ध छ । सहकारी अभियानमा विगत बर्षभर भएका सबै औपचारी फोरम, अनौपचारिक छलफल तथा सम्वादहरुमा सङ्घले पहिलो प्राथमिकता सहकारी ऐन २०७४ को पूर्ण कार्यान्वयन हुनु पर्नेमा चर्चा चलाएको छ । करको दर मात्र होइन सहकारी ऐनका सबै व्यवस्था मुख्य कारोबारदेखि कर्जा सूचनासम्म समयमा नै कार्यान्वयनमा जानुपर्ने सङ्घको जिकिर छ । यहाँहरुको साथ र सहयोगमा सङ्घले यसका लागि निरन्तर अभियानको तर्फबाट पैरबी गरेको छ ।

सञ्जाल आबद्धता
नेपालको बचत तथा ऋण सहकारी अभियानलाई राष्ट्रिय सहकारी महासङ्घ, एशियाली ऋण महासङ्घ, विश्व ऋण परिषद् मात्र होइन सहकारीहरुको सर्वोच्च सञ्जाल अन्तर्राष्ट्रिय सहकारी महासङ्घको आबद्धतामा निरन्तर छ ।

सञ्जालका सबै तहमा प्रजातान्त्रिक नियन्त्रण प्रणाली स्थापित गराउन आवश्यक प्रयास गरिएको छ । यसै वर्ष २०२४ मा एशियाली ऋण महासङ्घको निर्वाचन सहितको साधारण सभाका नेफ्स्कूनको तर्फबाट बैकल्पिक सञ्चालकको रुपमा निर्वाचित भएको छ यो हाम्रो लागि गर्वको विषय हो ।

त्यस्तै राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समितिमा पनि सङ्घ निर्वाचित भएको छ । यसले अभियानमा सङ्घको नेतृत्वदायी भूमिका जिवन्त रहेको छ ।

सुपरिवेक्षण
सङ्घको इतिहासमा पहिलो पटक नेपाल राष्ट्र बैंक समेतको संलग्नतामा सहकारी विभागद्धारा अनुगमन/सुपरिवेक्षण भएको छ । यसबाट सङ्घले प्राबिधिक र नीतिगत रुपमा सुधार गर्नु पर्ने सुझाबहरु प्राप्त भएको छ र सबै सुझाबहरु सङ्घले चालु योजनामा समाबेश गरी कार्यान्वयनमा लगिएको छ । यसबाट सङ्घको वित्तीय स्वास्थ्यमा सुधार आउने निश्चित छ ।

चालु आ.ब मा सङ्घको राष्ट्रिय सहकारी महासङ्घवाट पनि अनुगमन सम्पन्न गरिएको छ । राष्ट्रिय सहकारी महासङ्घवाट सहकारीता प्रबर्धन र संरक्षणका लागि समेत सुझाबहरु प्राप्त भएका छन् । सबै सुपरिवेक्षणका सुझाबहरुलाई सङ्घले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजानेछ ।

स्थिरीकरण कोष
बचत तथा ऋण सहकारी संस्था सम्बन्धि स्थिरीकरण कोष स्थापन तथा सञ्चालन कार्यबिधि २०७६ पहिलो संशोधन भइ कार्यबिधिले तोकेका कार्यहरु गर्न आवश्यक बिधि, प्रक्रिया र ढाँचा स्वीकृत गर्ने अधिकार सञ्चालन समितिमा आएको छ ।

यसबाट दैनिक रुपमा आवश्यक ढाँचाहरु विकास गरी चालु आ.ब. बाट कोषका सेवाहरु सञ्चालन शुरु भएको छ । योग्यता पुगेको संस्थालाई कोषमा आबद्ध गराउन पहलका लागि अपिल पनि गर्न चाहन्छु ।

सञ्जालको योजना
सञ्चालक समितिले अविचलित साकोस सञ्जालमार्फत जनजीविका सुधारको ध्येय एवं स्वस्थ्य र सुरक्षित साकोसहरुको जवाफदेही एकिकृत सञ्जाल परिकल्पना राखी सङ्घको छैठौं आ.ब २०८१/०८२ देखि २०८४/०८५ सम्मको योजना स्वीकृत गरी कार्यान्वयनमा लगेको छ । चालु आ.ब.का नीति तथा कार्यक्रमहरु योजना कार्यान्वयनका लागि आवश्यक अवयवको रुपमा विकास गरिएको छ ।

सञ्जाल सहकार्य
सञ्चालक समितिले सञ्जाल सहकार्यलाई पहिलो प्राथमिकतामा राखेको छ । नेपालको प्रचलित सहकारी कानून बमोजिम गठन भई सक्रिय रहेका साकोस सञ्जालका सङ्घहरुसंग व्यावसायिक साझेदारीको सुदृढिकरण गरेको छ ।

अन्तरलगानी बाहेकका सबै सेवाहरुमा सहकार्यको अवधारणा कार्यान्वयन गरिएको छ । जिल्ला तह र प्रदेश तहको साकोस सञ्जाल सहकार्यलाई थप सुदृढ गरिनेछ ।

समितिहरुमा प्रतिवेदन
प्रतिनिधि सभा तथा नेपाल सरकारले गठन गरेका समिति तथा कार्यदलहरु एवं सरकारले आवश्यक ठानेका बिषयहरुमा सङ्घको अवस्था तथा धारणाको यथार्थ प्रतिवेदन माग भएकै समयमा पेश गरीएको छ ।
प्रतिवेदन वा निर्देशनमार्फत प्राप्त भएका सुझाबहरु अभियान संरक्षणका लागि अक्षरश कार्यान्वयन गरिनेछ ।

सरकार समन्वय
स्थानीय, प्रदेश तथा सङ्घीय सरकारसंगको समन्वयलाई निरन्तरता दिइएको छ । सङ्घको साधन, स्रोत तथा क्षमतामा आधारित भई औपचारिक वा अनौपचारिक रुपमा समन्वयलाई अघि बढाएको छ ।
सबै तहका सरकारहरुसंग सङ्घ सहकार्य तथा समन्वयमा अभियानको संरक्षण र प्रबद्र्धनका लागि सङ्घको सञ्चालक समितिलाई परिचालन गरिएकोछ ।

सञ्जालीकरण
बचत तथा ऋण सहकारी अभियानको दीगो र सुरक्षित गन्तव्यको रुपमा अभियानको सञ्जालिकरणलाई राखिएको छ । सेवाहरुको सञ्जीकरण तथा स्तरीकरणमार्फत सदस्यहरुको बचत सुरक्षा गर्न अभियान सक्षम रहने विश्वास लिइएको छ ।

सञ्जालको संकल्प
चालु आ.ब.का लागि एउटै अभियान, एउटै आवाजः सुरक्षित साकोस, समुन्नत समाजलाई सञ्चालक समितिले स्वीकृत गरेको छ । एकका लागि सबै सबैका लागि एकको भावनालाई कार्यान्वयन गर्न यही संकल्प कार्यान्वयनका लागि सक्रिय हुन सबैमा अपिल गर्न चाहन्छु ।

सहकार्य
सङ्घले बचत तथा ऋण सहकारी अभियान प्रबद्र्धनमा सक्रिय राष्ट्रिय तथा अन्तरष्ट्रिय सरोकारवाला सङ्घ/संस्थाहरुसँगको सहकार्यलाई निरन्तरता दिइएको छ ।

दीगो विकास लक्ष्य प्राप्तीमा योगदान गर्न र सामुदायिक तथा सञ्जालको क्षमता विकास हुने कार्यक्रमहरुमा सहकार्य भएको छ । यसरी सहकार्य हुनेमा विश्व ऋण परिषद, एशियाली ऋण महासङ्घ, अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग, जर्मन केन्द्रीय बचत बैंक, अफलातुन नेदरल्याण्डस् आदि रहेका छन् ।

कार्यालय भवन
सङ्घले निर्माण गरी रहेको केन्द्रीय कार्यालय रहने भवन साकोस भवनको रुपमा निर्माण भईरहेको छ । स्वीकृत ढाँचा र योजना बमोजिम भवन निर्माणको कार्य अघि बढि रहेको छ । चालु आ.ब. भित्र सङ्घका सेवाहरु आफ्नै भवनवाट प्रदान गरिनेछ ।

सिकाई आदान प्रदान
बचत तथा ऋण सहकारी अभियान प्रबद्र्धन तथा संरक्षणका लागि आवस्यक ज्ञान,सिप र क्षमता विकासका लागि सङ्घले राष्ट्रिय, अन्तराष्ट्रिय, भौतिक तथा अभौतिक सिकाईका अवसर सृजना र विस्तारका कार्यहरुलाईलाई निरन्तरता दिइएको छ । सञ्जाल भित्र र वाहिर पनि सिकाईको अवसर विस्तार गरिनेछ ।

साक्षरता प्रबद्र्धन
वित्तिय साक्षरत, वित्तीय शिक्षा, व्यवसायिक साक्षरता, व्यवसाय विकास सेवा जस्ता पक्षहरुको प्रबद्धन मार्फत सञ्जालको स्रोत उत्पादनमा जोड्ने प्रयास गरिएको छ । अभियानको स्रोत व्यक्तिगत सदस्यहरुको व्यवशाय विकास, बचत प्रवर्धन र उत्पादन बृद्धिका लागि लगाउन सङ्घ निरन्तर सक्रिय रहनेछ ।

साझा सवालहरु
बचत तथा ऋण सहकारी अभियानका सवालहरुको रुपमा अन्तराष्ट्रिय सहकारी महासङ्घ र दीगो विकास लक्ष्यलाई एजेण्डा अन एक्सनलाई स्वीकार गरी प्रवर्धन गरिएको छ ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष
संयुक्त राष्ट्र सङ्घको महासभा २०२४ वाट घोषित अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ का कार्यक्रमहरु सरकार र सञ्जालको सहकार्यमा कार्यान्वयन गरिनेछ ।

साकोस ऐन
बचत तथा ऋण सहकारी अभियान आजका दिनसम्म औपचारिक रुपमा वित्तीय क्षेत्र पनि हुन सकेको छैन । विश्वव्यापी रुपमा बचत तथा ऋण सहकारी क्षेत्र औपचारिक वित्तीय क्षेत्र हो । हामीले कार्यदल वा समिति आदिबाट पनि समाधान पाउन सकेनौं । अबको एउटै बाटो भनेको बचत तथा ऋण सहकारीहरुका लागि वित्तीय सहकारी ऐन का लागि पैरबी गरिएको थियो र गरिने छ ।

बचत तथा ऋण सहकारी अभियान अब नेपालीहरुको जीबन पद्धती बनिसकेको छ । समुदायको आधारभूत संस्था हो र औपचारिक वित्तीय क्षेत्र हो । हाम्रा सञ्जालका स्तरहरु बढ्न, सुशासनमा अडिग रहन र जिम्मेवार बन्न आवश्यक छ ।

स्थिरीककरण कोषमार्फत प्रभावकारी अनुगमन र स्वःनियमनमा राख्ने प्रक्रियाको थालनी भएको छ । निश्चय नै यसले सकारात्मक केही नतिजा ल्याउनेछ । सहकारी सम्बन्धमा संबिधानको भावना अनुसार सहकारी ऐन मात्र होइन अन्य प्रचलित ऐनहरुमा पनि सुधार हुन जरुरी छ । उत्कृष्ट सहकारीता सहितको वित्तीय सेवा प्रवाह गर्न अभियान प्रतिबद्ध छ । यसका लागि हामी निरन्तर सिक्ने सिकाउने छौं । विकास गर्ने छौं । समस्या र चुनौतीहरुको सामना गर्न ऐक्यवद्ध भएर लाग्नेछौं ।

(नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभामा अध्यक्ष ढकालले राखेको मन्तव्य)

अभिलेख

लोकप्रिय