१३ माघ २०८१, आईतवार

नवजीवन सहकारीको एकाइगत साधारण सभा टीकापुरमा सम्पन्न

२०८१ मंसिर २१, शुक्रबार
नवजीवन सहकारीको एकाइगत साधारण सभा टीकापुरमा सम्पन्न

कैलाली (टीकापुर) : नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा टीकापुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव बहादुर बमको अध्यक्ष उवं सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीका प्रमुख आतिथ्यता थियो ।

सभालाई सम्वोधन गर्दै मन्त्री लक्ष्मणकिशोर चौधरीले केही व्यक्तिका कारण सहकारी देशव्यापी रुपमा बदनामी भैरहेको र राजनीतिक रुपमा निराकरण हुन नसक्दा समस्या बल्झिएको बताए । मन्त्री चौधरीले कैलाली जिल्लाको आर्थिक विकासमा नवजीवन सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै आफू निर्वाचन लड्दा सहकारीले ऋण दिएको र सफल भएको बताए ।

संस्थाका अध्यक्ष देवबहादुर बमले २०८१ असार मसान्तमा सहकारीको शेयर पूँजी ३० करोड ८० हजार, शेयर सदस्य ३४ हजार ३९५ पुगेको, जगेडा तथा कोषहरुमा ६२ करोड रुपैयाँ रहेको बताए ।

यस्तै २०८१ असार मसान्तमा ४ अर्ब ४ करोड रुपैयाँ लगानी, खुद मुनाफा १६ करोड ४१ लाख रहेको र भाका नाघेको ऋण ३ प्रतिशतमा सिमित रहेको बताए । सदस्यहरुलाई १३ प्रतिशतका दरले हुन आउने रकम करिब ४ करोड लाभांश वितरण गरिने जानकारी दिइएको छ । सहकारीले करिब ५० लाख रकम शेयर सदस्यहरुको हितमा सहयोग गरेको जानकारी दिइएको छ ।

सहकारीले सुदूरपश्चिम र लुम्विनी प्रदेशमा गरी १० वटा सेवा केन्द्र, लघुवित्त कार्यक्रम र कुटानी पिसानी गर्ने मिलसहितको कृषि उपआयोजना सञ्चालन गरिरहको छ । सहकारीको काठमाडौं र डडेलधुरामा शाखा खोल्ने अनुमति विभागबाट लिएको भएपनि ती क्षेत्रमा यस अघि सञ्चालित सहकारीले बचतकर्ताको ठूलो रकम हिनामिना गरी भागेकाले तत्काल शाखा खोल्ने काम स्थगित गरेको छ ।

बन्द सत्रमा शेयर सदस्यहरुले पदाधिकारी र कर्मचारीहरुको खर्च बढेको, लाभांश कम भएको गुनासो गरेका छन् । अध्यक्ष बमले २०७४ सालमा तय भएको पदाधिकारी भत्ता र कर्मचारी लगानी अनुसार कर्मचारी कम भएको जानकारी दिए ।

सभामा टीकापुर र जोशीपुर शाखाका असल ऋणी र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । सहकारीले असल ऋणीका रुपमा जानकी गाउँपालिका वडा नम्बर ३ का भर्जु कठरिया, टीकापुरका नरबहादुर बम, भजनीका टीकाराम चौधरी, जोशीपुरका फूलकुमारी थारुलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका सन्तान प्रतिक साउद र विश्वास ढुंगानालाई पनि सम्मान गरिएको छ ।

अभिलेख

लोकप्रिय