२१ भदौ २०८३, आईतवार

चन्द्रागिरि साकोसको २३औं साधारण सभा: आकार वृद्धि भन्दा पनि वित्तीय अनुपातलाई सन्तुलित बनाउने लक्ष्य

२०८१ मंसिर १८, मङ्गलबार
चन्द्रागिरि साकोसको २३औं साधारण सभा: आकार वृद्धि भन्दा पनि वित्तीय अनुपातलाई सन्तुलित बनाउने लक्ष्य

काठमाडौं : थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संंस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

३ वटा विभिन्न एकाइ सभा र एक निर्णय प्रमाणित गर्ने सभासहित साधारण सभा सम्पन्न भएको हो । पहिलो एकाइ सभा लाजिम्पाट काठमाडौंमा, दोश्रो एकाइ सभा महालक्ष्मीस्थान ललितपुरमा र तेश्रो एकाइ सभा शहिद स्मृति प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) थानकोटमा आयोजना भएको थियो ।

तीन एकाइ सभाबाट मनोनित प्रतिनिधिहरु सम्मिलित निर्णय प्रमाणित गर्ने सभा मंगलबार थानकोट काठमाडौंमा आयोजना भएको हो ।

सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका २०७६ अनुसार सबै एकाइ सभाहरुमा समान कार्यसूचीहरु माथि छलफल तथा निर्णयहरु गर्दै एकाइ सभाहरु सम्पन्न भएका थिए भने एकाइ सभाहरुले एकाइ सभाको निर्णय प्रमाणित गर्ने प्रतिनिधि र एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण गर्ने सभाको प्रतिनिधिहरु मनोनय गरेको थियो ।

संस्थामा कायम रहेको १९,७५६ जना सदस्यहरु मध्ये एकाइ १ सभामा २,०९१ जना मध्ये १,०६६ जना, एकाइ २ सभामा २,१५३ जनामध्ये १,०९८ जना र एकाइ ३ सभामा १५,५१२ जना मध्ये १०,४९३ जना सदस्यहरु सहित जम्मा १२,६५७ जना सदस्यहरु यस २३ औं वार्षिक साधारण सभामा सहभागी भएका थिए ।

साधारण सभाले शिवशंकर मानन्धरको अध्यक्षतामा ३३ प्रतिशत महिला र ३३ प्रतिशत युवा सदस्यहरुको सुनिश्चितता सँगै १३ सदस्यीय नयाँ सञ्चालक समिति र भानु प्रकाश ढकालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको निर्वाचन समेत सम्पन्न गरेको छ ।

एकाइ सभाहरुमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल एकाइ ३ को प्रमुख अतिथि, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन एकाइ २ को प्रमुख अतिथि र काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को अध्यक्ष दिपक पनेरु एकाइ १ को प्रमुख अतिथि रहेका थिए भने चन्द्रागिरि नगरपालिकाको उपप्रमुख बसन्ती श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुख अनिता लामा एकाइ ३ र एकाइ १ सभाको विशिष्ट अतिथि रहेका थिए ।

साधारण सभाले विभिन्न १४ वटा प्रस्तावहरु पारित गरेको छ । जसमा अध्यक्ष योगेन्द्रकुमार कुँवरले प्रस्तुत गरेको आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालले प्रस्तुत गरेको आ.व. २०८०/८१ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले पेश गरेको आ.व. २०८१/८२ को अनुमानित बजेट तथा वार्षिक कार्यक्रम, पि बिनय एण्ड एसोसिएट्सले पेश गरेको आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन लगायतका विषयहरु रहेका छन् ।

संस्थामा हाल सदस्य २१,१९६ जना, शेयर पुँजी २१ करोड २७ लाख, संस्थागत पुँजी ११ करोड ४३ लाख, बचत २ अर्ब ९१ करोड, ऋण लगानी २ अर्ब ३८ करोड १७ लाख रहेको छ भने संस्थाको कुल सम्पत्ति ३ अर्ब ५५ करोड ३२ लाख रहेको छ ।

आगामी वर्ष संस्थाले आकारमा बृद्धि गर्ने भन्दा पनि वित्तीय अनुपातहरुलाई सन्तुलित बनाउले लक्ष्य लिएको छ । संस्थाले आ.व. २०८१/८२ मा सदस्य संख्या २२,५०० र कुल सम्पत्ति ३ अर्ब ८९ करोड ५२ लाख पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै सदस्यता बृद्धि, सुरक्षित वित्तीय अवस्था, जोखिम व्यवस्थापन, वित्तीय समावेशीकरण, डिजिटल रुपान्तरण, सदस्य सन्तुष्टी, सामाजिक उत्तरदायित्व र नियामकीय अनुपालन र सुशासन संरक्षण गर्ने कार्यलाई आफनो प्राथमिकतामा राखेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए ।

आम जनमानसमा सहकारी प्रतिको बदलिँदो छवीले गर्दा सहकारीको साख जोगाउनु पर्ने चुनौतीहरुको बीचमा संस्थाले सहकारीका असल अभ्यासहरुलाई उजागर गर्ने, कार्यक्षेत्र भित्रको समस्या उन्मुख कम्तिमा १ वटा सहकारी संस्थालाई व्यवस्थापन सहयोग उपलब्ध गराउने र थप २ वटा सहकारी संस्थाहरुसँग एकीकरण गर्ने निर्णयहरु सहित यस २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अभिलेख

लोकप्रिय