१० असार २०८३, बुधबार

सहकारीकर्मीलाई लुम्बिनी भ्रमणमा सहजता प्रदान गर्न कोषसँग आग्रह

२०८१ मंसिर ४, मङ्गलबार
सहकारीकर्मीलाई लुम्बिनी भ्रमणमा सहजता प्रदान गर्न कोषसँग आग्रह

काठमाडौं : सहकारीकर्मीहरुलाई लुम्बिनी भ्रमणमा सहजता प्रदान गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले लुम्बिनी विकास कोषलाई आग्रह गरेको छ।

आगामी पुस ५ र ६ गते रुपन्देहीमा नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभा हुँदैछ । उक्त साधारण सभामा सहभागिता जनाउन देशभरका साकोसकर्मी रुपन्देही पुग्नेछन् ।
३३औं वार्षिक साधारण सभा व्यवस्थापन उप-समितिले स्थानीय सरोकारवालाहरुसँग समन्वय, सद्भाव र सहकार्यका लागि भेटघाटलाई बढाउँदै लगेको छ ।

सोही क्रममा नेफ्स्कून सञ्चालक ज्ञानु पौड्यालले लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हार्क्याल लामा (खेन्पो छिमेद) र कोषाध्यक्ष ढुण्डीराज भट्टराईसँग भेट गरी लुम्बिनी भ्रमणमा सहजताका लागि आग्रह गरेका हुन् ।

भेटमा सञ्चालक पौड्यालले बुटवलमा हुने साधारण सभामा ७६ जिल्लाबाट ठूलो संख्यामा प्रतिनिधिहरु सहभागी हुने भएकाले आन्तरिक पर्यटनमा पनि प्रवर्धन हुने भन्दै यो अवसरमा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत आसपासका धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्वका स्थानहरु अवलोकनका लागि कोषमा उपलब्ध सवारी साधनहरु उपलब्ध गराउन तथा शान्ति दीपसम्म आवतजावतको अनुमति लगायतका सहयोग उपलब्ध गराउन आग्रह गरेकी हुन् ।

साथै नेफ्स्कूनले स्थानीय सरकार, व्यूरोक्रेसी, सहकारी अभियन्ता लगायत प्रत्यक्ष र परोक्ष सरोकारवालाहरुसँग भेट गरी साधारण सभाबारे जानकारीसहित सहयोग र समन्वयका लागि औपचारिक पत्रसहित आग्रह गरेको छ ।

अभिलेख

लोकप्रिय