३० वैशाख २०८२, मङ्गलबार

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीले १७औं साधारण सभा सम्पन्न

२०८१ मंसिर २, आईतवार
चाइना ट्रेड बहुउद्देश्यीय सहकारीले १७औं साधारण सभा सम्पन्न

काठमाडौं : चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।

साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष दुर्गा बहादुर श्रेष्ठ, सहकारी विज्ञ कुवेर निरौला, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का सञ्चालक हेम बहादुर कार्की, जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका अध्यक्ष दिपक बिक्रम थापा, राष्ट्रिय सहकारी बैंक न्यूरोड शाखा प्रमुख रमा घिमिरे, राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख केदार नाथ उप्रेती लगायतको आतिथ्यता थियो ।

साधारण सभाले अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको वार्षिक प्रगती प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्ष कृष्ण बहादुर गुभालुले प्रस्तुत गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र अनुमानित आय व्यय विवरण लगायत १५ वटा एजेण्डा पारित गरेको छ ।

प्रतिवेदन पेश गर्दै अध्यष श्रेष्ठले १६औं वार्षिक साधारण सभाबाट सर्वसम्मत रुपमा निर्वाचित संस्थाको वर्तमान सञ्चालक समितिले आफ्नो वुद्धि, विवेक, क्षमता र अनुभवले भ्याएसम्म संस्थाको हित र उन्नतिका लागि मन, वचन र कर्मले सक्दो कार्य गर्दै आएको बताए ।

सदस्यहरुको श्रम, पुँजी र सीपलाई अधिकतम परिचालन गरी आफ्ना सदस्यहरुको आवश्यकता र आकांक्षालाई परिपूर्ति गर्नु नै यस संस्थाको मुख्य लक्ष्य रहेको उनले बताए । संस्थाको कार्य क्षेत्र भित्र रहेका र खासगरी चीनसँगको व्यापार व्यवसायमा सम्लग्न व्यवसायी र अन्य क्षेत्रसँग सम्वद्ध व्यक्तित्वहरुलाई समेत संस्थामा बढीभन्दा बढी आवद्धता गराई सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा सहयोग पु¥याउने उद्देश्य यस संस्थाले लिएको उनको भनाई थियो ।

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाहरुलाई निक्षेपकर्तालाई प्रदान गर्ने गरेको उच्च ब्याजदर, व्यवसाय र उद्यमशिलताको लागि व्यवसायिक क्षेत्रमा देखिएको कमजोर उत्साह र मनोबल, सहकारी संस्थाहरुले विविध कारणले संस्थाको व्यवसाय वृद्धिको लागि गत आ.व. २०८०/०८१ प्रतिकुल समय रहेको उनको ठम्याई छ ।

आयातमा निर्भर नेपाली अर्थतन्त्र, देशको विद्यमान राजनैतिक परिस्थिति, बैंक तथा वित्तीय संस्थासम्मको सर्वसाधारणको पहुँच, वित्तीय क्षेत्रमा करीब ३ वर्षदेखि देखिएको ब्याजदरको अस्वभाविक उतार चढाव, बढ्दो वित्तीय लागत र ब्याजदर, सहकारी संस्थाहरुको व्यापक रुपमा संख्यात्मक वृद्धि र वित्तीय बजारमा बढिरहेको प्रतिस्पर्धात्मक स्थितिमा यस संस्थालाई सफलतापूर्वक उभ्याउन, स्वदेश र विदेशमा संस्थाको अलग्गै पहिचान बनाउँदै एउटा उत्कृष्ट सहकारी संस्थाको रुपमा आम सहकारी बृतमा चिनाउन वर्तमान सञ्चालक समिति लागि परेको उनले बताए ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा संस्थाको सेयर पुँजी ७ करोड ९५ लाख रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा ३ करोड ९३ लाख रुपैयाँ, बचत तथा निक्षेप ५२ करोड १६ लाख र कुल वासलात ८८ करोड २३ लाख रुपैयाँ रहेको छ ।

साधारण सभामा उत्कृष्ठ सदस्य र जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

अभिलेख

लोकप्रिय