१० असार २०८३, बुधबार

किसान साकोसको २९औं साधारण सभा एकाइ १ गैंडाकोट र एकाइ २ कावासोतीमा सम्पन्न

२०८१ कात्तिक २५, आईतवार
किसान साकोसको २९औं साधारण सभा एकाइ १ गैंडाकोट र एकाइ २ कावासोतीमा सम्पन्न

नवलपरासी : किसान बचत तथा ऋण सहकारी संस्थाको एकाईगत २९ औं साधारणसभा एकाइ १ को गैंडाकोट-४, एग्रोमार्ट परिसर र एकाइ २ को थारू राष्ट्रिय संग्राहलय परिसर, डण्डा बजार, कावासोती-१६ मा सम्पन्न भएको छ ।

किसान साकोसको विजयनगर, हिमचुली, मुकुन्दपुर, हर्कपुर, अमरापुरी, समृद्धि भरतपुर, सप्तरङ्गी, सौहार्द, सहज, सप्तगण्डकी र नारायणगढ सेवाकेन्द्रहरु अन्तर्गत एकाइ १ को साधारण सभा संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षता तथा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारीले गरेका थिए।

२९औं साधारण सभामा पूर्व अध्यक्ष तथा संचालक समिति सदस्य श्रीहरि चालिसेले स्वागत मन्तव्य व्यक्त गर्दै वर्तमान अवस्थाको विषम परिस्थितिका वाबजुद पनि किसान साकोसको सदस्य केन्द्रित सेवाहरुले सदस्यहरुको मन जितेको हुनाले ९० हजार सदस्यहरुले संस्थालाई अगाध माया र कारोबारद्वारा साथ दिई किसान साकोसलाई अडिग र भरपर्दो सहकारीको रुपमा उभ्याईदिनु भएकोमा धन्यबाद दिएका थिए।

संस्थाका सहसचिव दुर्गा चालिसे आर्थिक वर्ष २०८०/८१ को आर्थिक वर्षमा संस्थाको नीति तथा कार्यक्रमहरुको बारेमा सभामा जानकारी गराएका थिए ।

सभामा संस्थाका कोषाध्यक्ष राजेन्द्र गौतमले आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन एवं २०८१/८२ को प्रस्तावित लक्ष्य तथा बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा चालु आर्थिक वर्षको कुल सम्पती ३ अर्ब ८० करोड ६५ लाख ६८ हजार १ सय १७ रुपैयाँ रहेको व्यहोरा जानकारी गराउँदै संस्थाले गत आर्थिक वर्षको सेयर पुंजी ३४ करोड ७६ लाख १६ हजार ९ सयलाई बढाएर चालु आर्थिक वर्षमा ४० करोड ४६ लाख ३० हजार पुर्याउने लक्ष्य रहेको व्यहोरा र अन्य वित्तिय प्रतिवेदनका बारेमा जानकारी गराएका थिए।

एकाइ १ को २९औं साधारण सभामा लेखा र सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका सदस्य विष्णु प्रसाद सापकोटाले प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि मदनभक्त अधिकारीले सहकारी क्षेत्रमा किसानले राम्रो गरेको र सरकारी निकायहरुले सहकारी क्षेत्र र सदस्यलाई सहजता प्रदान गर्ने कार्य गरिरहेको बताए ।

साधारण सभामा संस्थाका अध्यक्ष भोजराज पौडेलले ‘किसानको शान एकीकृत सहकारी सेवाको अभियान’ भन्ने अभिप्रायका साथ स्थानिय स्तरमा रहेका २४ वटा सहकारी संस्थाहरुलाई एकीकरण गरी सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन संस्था सफल भएकोमा थप सहकारीहरुसँग एकीकरण छिट्टै गरिने बताए। किसान साकोसले ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ९० हजार सेयर सदस्यमार्फत करिब ४ अर्ब पूँजी परिचालन गर्न सफल भएको बताए।

किसान साकोसको जनमुखी, पञ्चदृष्टि, कावासोती, संबृद्धि, कुनाको, पञ्चवटी, अरुणखोला, दुमकीबास, सर्दी, भविष्य निर्माण, देवज्योति, पिठोली र विष्णुनगर सेवा केन्द्रहरुको थारु राष्ट्रिय संग्राहलय परिसर, डण्डा बजार, कावासोती-१६ आज भएको एकाई २ अन्तर्गतको २९औं साधारण सभामा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गरेका थिए भने र प्रमुख अतिथि विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरि रहेका थिए।

एकाइ २ को कार्यक्रममा स्वागत मन्तव्य संबृद्धि सेवा केन्द्रका संयोजक गोपाल श्रपालीले गरेका थिए भने संस्थाका सचिव सरस्वती कंडेलले प्रगति प्रतिवेदन र प्रस्तावित नीति बारे जानकारी गराएका थिए। लेखा विभाग प्रमुख अर्जुन पौडेलले आर्थिक प्रतिवेदन तथा प्रस्तावित लक्ष्य तथा बजेटबारे जानकारी दिए। लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाको लेखा सुपरिवेक्षण समिति सदस्य प्रकाश खनालले जानकारी गराएका थिए ।

प्रमुख अतिथि घनश्याम गिरिले सहकारी विषयक नकारात्मक हल्लाहरुका पछि नलागी, विषम परिस्थितीमा रहनुभएका सदस्यहरुले संस्थामा सम्पर्क गरि समाधान खोज्ने र किसान साकोस जस्तो संस्थाहरुले यस्ता अफ्वाहहरुलाई आफ्नो सेवाले चिर्ने काम गरेकोमा धन्यबाद दिए।

कार्यक्रममा संचालक समिति सदस्य रेशमलाल सापकोटाले साधारण सभामा सदस्यज्यूहरुको उल्लेखनिय सहभागिताको लागि धन्यबाद दिँदै आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन संस्थाको सचिव सरस्वती कंडेलले गरेकी थिइन ।

यसै कार्यक्रमका बीच संस्थाका सेवा केन्द्रका उत्कृष्ट कारोबार कर्ता, उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट महिला समुहलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो भने कर्मचारीहरु, बाल सदस्यहरु र महिला समूहहरुको सास्कृतिक प्रस्तुती रहेको थियो।

एकाइगत २९औ साधारणसभामा संचालक समिति सदस्यहरु, लेखा र सुपरिवेक्षण सिमित सदस्यहरु, पूर्व अध्यक्षहरु, सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक र सदस्यहरु, उपसमिति सदस्यहरु, नगर प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु, प्रमुख कार्यकारी अधिकृत, पूर्व प्रमुख कार्यकारी अधिकृत लगाएत कर्मचारीहरुको उपस्थिति थियो।

एकाइहरुको साधरण सभामा विविध प्रस्ताव उपर बृहत छलफल गरी उक्त प्रस्ताव सर्वसम्मत पारीत गर्दै, एकाइहरुको माइन्यूट प्रमाणीतका लागी प्रतिनिधि छनौट र मंसिर १ गते सम्पन्न हुने माइन्यूट प्रमाणीत कार्यक्रममा प्रतिनिधिको नामावली संकलन गर्दे, आज सम्पन्न गरेको एकाईहरुको २९औं साधारण सभाबाट प्रतिनिधीको रुपमा चयन भएका प्रतिनिधीहरुबाट यहि मंसिर १ गते साधारण सभा माईन्यूट प्रमाणित कार्यक्रम सम्पन्न गर्ने छ ।

अभिलेख

लोकप्रिय