२० भदौ २०८३, शनिवार

चापापानी सिद्धार्थ साकोसको १५औं साधारण सभा सम्पन्न, सदस्यलाई १३.५ प्रतिशत लाभांश

२०८१ असोज २१, सोमबार
चापापानी सिद्धार्थ साकोसको १५औं साधारण सभा सम्पन्न, सदस्यलाई १३.५ प्रतिशत लाभांश

कास्की : पोखरा महानगरपालिका वडा नं १२ पुरानोधारा स्थित चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको अवसरमा गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिक रुपमा नियाल्न सेयर सदस्यलाई अनुरोध गरे ।

वाग्लेले सहकारीको वारेमा बजारमा जे जस्ता हल्ला आए पनि चापापानी सहकारीको वित्तीय अवस्था हेर्दा राम्रो रहेको बताए । पोखरा महानगरपालिका वडा २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नु पर्नेमा जोड दिए ।

चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष नरेश बहादुर कार्कीले कास्कीमा औलामा गनिने सहकारीहरु मध्य चिनिने संस्था भएकाले सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनु पर्ने बताए । कार्कीले सहकारीलाई आगामी दिनमा खराब ऋणलाई कानुनी उपचार गरी उठाउन लाग्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष दिपक कार्कीले सहकारी स्थानीय समुदायमा आधारित रहेकोले शेयरधनीको बचत पूर्ण सुरक्षित भएकोले कारोवारमा ढुक्क हुन अनुरोध गरे । हरेक कार्यक्रम शेयर सदस्यहरुमा केन्द्रित रही सामाजिक उत्तरदायित्वमा पनि अगाडि बढिरहेको अध्यक्ष कार्कीले बताए ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सदस्यलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । कार्यक्रममा सयपत्री बचत तथ ऋण सहकारी लि.का अध्यक्ष टिका बहादुर कार्की, पुरानोधारा सहकारीका अध्यक्ष कृष्ण कोइराला, संस्थाका सल्लाहकार डा.अनिल सुवेदी लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

साधारण सभामा असल बचतकर्ता टिका जित गुरुङ र असल कारोबारी प्रेम लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी शेयर सदस्यका छोरा छोरीहरुवाट एसईई, प्लस टु मा, स्नात्तक, स्नात्तकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने छोराछोरीहरुलाई पनि सम्मान गरिएको थियो ।

साधारण सभाले विभिन्न प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ।

अभिलेख

लोकप्रिय