२१ भदौ २०८३, आईतवार

जेष्ट आइडियोलोजी सहकारीको १५ औं वार्षिक साधारण सम्पन्न

२०८१ असोज ५, शनिवार
जेष्ट आइडियोलोजी सहकारीको १५ औं वार्षिक साधारण सम्पन्न

काठमाडौं : खिचापोखरी, न्यूरोडमा मुख्य कार्यालय रहेका जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षता एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले संस्थाले सहकारी शिक्षा कार्यक्रममार्फत सदस्यहरुमा सहकारीप्रतिको महत्व र आवश्यकता बुझाई संस्थालाई वित्तीय रुपमा बलियो बनाउन लागि परेको कार्कीले बताए । सदस्यहरुको विश्वासका कारण आर्थिक मन्दी र विषम परिस्थितिमा पनि संस्थाको वित्तीय सुचाङ्क बलियो रहेको उनको भनाई छ ।

अर्थतन्त्रको एक खम्बा सहकारी भए पनि सो अनुसारको नीति नियमका साथै पुँजी र जनशक्तिको अभावले सहकारी क्षेत्रमा केही समस्या देखिएको बताए । ऐनमा भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधिकरण र बचत तथा कर्जा सुरक्षण कोष सञ्चालनममा ल्याउन सकेको भए सहकारी क्षेत्रका धेरै समस्या न्युनिकरण हुने उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि ढकालले सदस्यहरुले संस्थालाई सबल बनाउन नियमित रुपमा बचत गर्नुपर्ने बताए । संस्थालाई वित्तीय रुपमा बलियो बनाउन सदस्यहरुको सक्रिय सहभागिता आवश्यक पर्ने भन्दै ढकालले नियमित कारोबार गरी ऋण लिएर आर्थिक रुपमा सबल हुन उनको आग्रह छ ।

सहकारी सफल बनाउने वा नबनाउने भन्ने कुरामा सदस्यको हात रहेको भन्दै उनले व्यवस्थापन रहने साथीहरुले पनि वित्तीय पारदर्शी कायम गरी अगाडि बढ्न उनको सुझाव छ । संस्थागत नीति बनाएर संस्था सञ्चालन गर्नु पर्ने र नीति भन्दा बाहिर गएर संस्था सञ्चालन गर्दा समस्या आउने उनको भनाई छ । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानमा सरोकारवाला निकायबीच सामुहिक प्रयास आवश्यक रहेको उनले जनाए ।

संस्थामा ६ हजार २ सय ५३ जना सदस्य आवद्ध छन् ।

संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म शेयर पुँजी ९ करोड ९३ लाख, बचत संकलन १ अर्ब १६ करोड ३७ लाख, जगेडा तथा अन्य कोष २१ करोड २१ लाख र ऋण लगानी १ अर्ब ६७ करोड ५९ लाख गरेको छ । ५ करोड १४ लाख स्थिर सम्पत्ति रहेको संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड २९ लाख कुल कारोबार गरेको छ । संस्थाले गत आ.ब.मा १ करोड ७५ लाख कर अघिको नाफा आर्जन गरेको जनाएको छ । संस्थाले १ करोड ६६ लाख १७ हजार रुपैयाँ राजश्वमा योगदान गरेको छ ।

संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान मोबाईल बैकिङ्ग, ई–टेलर तथा मिसकल सेवाका साथै फन्ड ट्रान्सफर, क्यु आर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ ।

संस्थाले यस आर्थिक वर्षमा सदस्यसँग ‘जेष्ठ आइडियोलोजी साकोस’ कार्यक्रम सञ्चालन गरी सदस्यहरुमा संस्थाप्रति अपनत्वको भावना विकास गर्ने जनाएको छ । त्यसैगरी सदस्य राहत कोष सञ्चालन गर्ने, नियमित बचत गर्न सदस्यलाई अभिप्रेरित गर्ने र प्रविधिमैत्री सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने संस्थाको योजना रहेको छ ।

सभामा उत्कृष्ट कार्य गर्ने कर्मचारी, नियमित बचतकर्ता र असल ऋणीलाई समेत सम्मान गरिएको थियो ।

अभिलेख

लोकप्रिय