२० भदौ २०८३, शनिवार

३२ वर्षमा मिलिजुली कालिञ्चोक साकोस, विभिन्न विद्यामा सदस्यलाई सम्मान

२०८१ भदौ ७, शुक्रबार
३२ वर्षमा मिलिजुली कालिञ्चोक साकोस, विभिन्न विद्यामा सदस्यलाई सम्मान

दोलखा : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी ३२ औं स्थापना दिवस मनाएको छ । संस्थाको मुख्य कार्यालय चरिकोटमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका महासचिव जिवसराज खड्काले केहि सहकारी सञ्चालकको कमजोरीका कारण सहकारी क्षेत्रप्रति नै प्रश्न उठ्ने वातावरण बनेको  बताए ।

उनलेभने“जुन सहकारी नीति, विधि र प्रविधिमा चलेको छ, त्यसमा समस्या छैन् । नीति र विधि बाहिर गएर चलेका केहि सहकारीको दोष सबैले भोग्नुपरेको छ ।” सहकारीका कमजोरीको बारेमा मात्र प्रचार भएको गुनासो गर्दै दोलखा जिल्ला सहकारी सङ्घका अध्यक्ष देवी प्रसाद शर्माले सहकारीका राम्रा कामको प्रचार गरेर मात्र कमजोरी औल्याईदिन मिडियाहरुलाई आग्रह  गरे ।

कार्यक्रममा दोलखा जिल्ला बचत सङ्घका अध्यक्ष भूमिराज खड्का, नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाका सभापति इश्वरी प्रसाद दाहाल, संस्थाका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ, सल्लाहकार समितिका संयोजक गोकर्ण प्रसाद पोखरेल, संस्थाका निवर्तमा अध्यक्ष नारायण बहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा वक्ताहरुले नीति, बिधि र प्रविधिलाई आत्मसाथ गर्दै सुशासनमा सञ्चालित सहकारी संस्थाहरु सबल रहेको बताए ।  आगामी दिनमा समेत ऐन, नियमावली, संस्थाको विनियम र विभिन्न कार्यविधिहरुलाई आत्मसाथ गर्दै शेयर सदस्यलाई  उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरे । सहकारी संस्थालाइ सुशासनमा सञ्चालन गर्नको लागि संघहरुले सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रममा सहभागि हुनुपर्ने तथा संस्थाको आकार नभई गुणस्तर विकास गर्नुपर्नेमा उनीहरुको जोड छ ।

त्यसैगरी मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमले नागरिक बचाउ अभियान भन्दै एक पक्षले सहकारीको ऋण नतिर्न उकास्ने र बचतकर्ताहरु बचत फिर्ता माग्न आउने गर्दा सहकारीहरु दोहोरो चपेटामा परेको  बताए । बचतकर्ता पनि नागरिक नै भएकोले शेयर सदस्य बचाउ अभियान थाल्नुपर्ने अध्यक्ष गौतमको भनाई छ ।

दिवसको अवसरमा संस्थाले रक्तदान तथा विभिन्न क्षेत्रबाट योगदान गरेर संस्थालाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा भिलेज खबर डटकमका सम्पादक तारा बहादुर महत, उत्कृष्ट कारोबारकर्ता दिपिका शिवाकोटी थापा, उत्कृष्ट बचतकर्ता रमेश शर्मा, उत्कृष्ट उद्यमी धन बहादुर श्रेष्ठ, उत्कृष्ट ऋणी बद्री श्रेष्ठ, जेष्ठ महिला शेयर सदस्य सरस्वती अधिकारी, जेष्ठ पुरुष शेयर सदस्य तिर्थ बहादुर थापा, असक्त शेयर सदस्य देबी बसेल रहेका छन् ।

त्यसैगरी उत्कृष्ट सदस्य रुपा श्रेष्ठ, पूर्व सञ्चालकहरु सरोज उप्रेति र स्वर्गीय बद्री बहादुर रिमाल, उत्कृष्ट कर्मचारी शिवजी पाठक र अधिक डिजिटल सेवा प्रयोगकर्ता उद्धब बहादुर सुवेदीलाई पनि नगदसहित सम्मानपत्रले सम्मान गरिएको छ । रक्तदान कार्यक्रमतर्फ संस्थाका कर्मचारी, शेयर सदस्य तथा बचतकर्ता, स्वयमसेवी रक्तदाता समाजका सदस्यहरु लगायत २१ पुरुष १४ महिला गरी ३५ जनाले रक्तदान गरेका छन् ।

२०५० साल भाद्र ७ गते स्थापना भई मंसिर ३ गते सहकारी विभागमा दर्ता भएको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थामा हाल २३ हजार ८ सय ६८ शेयर सदस्य, ८ हजार ३ सय ३६ बाल बचतकर्ता रहेका छन् । दोलखा, सिन्धुपाल्चोक र काठमाण्डौंका ११ ओटा सेवाकेन्द्रमार्फत सेवा दिँदै आएको संस्थाको करिब १ अर्ब २९ करोड बराबरको कारोबार रहेको प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी  दिए ।   संस्थामा २३ हजार ८६८ शेयर सदस्य र ८,३३६ बालबचतकर्ता रहेका छन् ।

अभिलेख

लोकप्रिय