२१ भदौ २०८३, आईतवार

सामुदायिक साकोसका भावी सञ्चालकलाई नेतृत्व विकास तालिम

२०८१ भदौ ४, मङ्गलबार
सामुदायिक साकोसका भावी सञ्चालकलाई नेतृत्व विकास तालिम

पनौती (काभ्रे) : सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको नेतृत्वमा आउन चाहने शेयर सदस्यहरुलाई लक्षित तालिम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षतामा आयोजित कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सुर्य मानन्धरले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव मुकुन्द शर्माले गरेका थिए। कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवं संस्थाका सल्लाहकार उदयराम कायस्थ, जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक एवं संस्थाका सल्लाहकार शम्भुलाल श्रेष्ठ, सल्लाहकार राजकुमार हुमागाई र नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले राखेका थिए ।


मन्तब्यको क्रममा पनौनी नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले संस्थाको आगामी नेतृत्व चयन गर्दा संस्थाको हालको स्तरलाई मनन गरी कम्तिमा यही स्तर कायम गर्न सक्ने गरी आफ्नो विचार र क्षमताको विकास गर्नुपर्ने बताए । संस्थाको निरन्तर दिगो विकासको लागि प्रतिबद्ध रहि सहकारी एवं संस्थाको प्रावधान सम्बन्धमा पूर्ण जानकार भई संस्थागत गोपनियता र ऐक्यबद्धता प्रति कटिबद्ध रहनुपर्ने बताए।

 

नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले नेफ्स्कुनको सदस्य संस्था मध्ये तेस्रो ठूलो सहकारी संस्थाको भावि नेतृत्वका लागि आवश्यक क्षमता मध्ये निर्णय लिने सक्ने, ब्यवस्थापनको सल्लाहकारको भुमिका निभाउन सक्ने क्षमता, विश्वासको पात्र, संस्थाको प्रतिनिधित्व गर्दै विभिन्न निकायहरुमा सहभागी हुनसक्ने क्षमता नेतृत्वमा हुनुपर्ने बताए । `संस्थाको आगामी नेतृत्व यही हलमा उपस्थित ६२ जना मध्येबाट नै चयन हुने हो । त्यसैले यो तालिमले सहभागीहरुमा उल्लेखित क्षमता विकासका लागि महत्वपूर्ण भूमिका निभाउनेमा विश्वास छ´, सापकोटाले भने ।

संस्थाका अध्यक्ष प्रकाश बन्जाराले संस्थाको विनियममा भएको प्रावधान अनुरुप संस्थाको नेतृत्वमा आउन चाहने सदस्यहरुलाई तालिममा सहभागी हुन आव्हान गरी यो तालिमको आयोजना गरिएकोले ६२ जनाबाट संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको छनौट हुने बताए ।

संस्था हालसम्म निरन्तर संस्थागत विकाससँग सँगै आन्तरिक सुशासन प्रति प्रतिबद्ध रही हालको टिमले सञ्चालन गरेको थियो र भविष्यमा थप उर्जावान समितिबाट संस्थाको शाख उचोँ राख्न सक्ने र सकारात्मक पहिचान बनाउन सक्ने गरी संस्था सञ्चालन हुने कुरामा दृढ विश्वास भएको बताए ।

तालिममा सहजीकरण नेफ्स्कुनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले गरेका थिए भने संस्थाको परिचय, वस्तु तथा सेवा लगायत संस्थाले सञ्चालन गरिरहेका कार्यक्रमहरु, संस्थाको विनियम तथा नीतिहरुमा भएका मुख्य ब्यवस्थाहरुको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी गराएका थिए।

अभिलेख

लोकप्रिय