संघर्षपछि सफलता चाख्दै सिमरा महिला साकोस
निलिसा वर्मा
बारा : सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना वि.सं. २०६३ साल चैत्र ११ गते भएको थियो । कानुनीरुपमा सहकारीको मान्यता प्राप्त गर्नुअघि करिब ६ वर्ष हिमचुली महिला समूहको नामले यस सहकारी संस्थाले सेवा प्रदान गर्दे आएको थियो ।
साविवको पिपरा सिमरा गाविसको नौ वटा वडाका केही स्थानीय अगुवा महिला मिलेर गाविस स्तरिय एउटा समिति गठन गरेका थिए । साविकको वडा नं ४ मा कार्यरत सामाजिक परिचालिका भिमा शर्माले सो समूहको नेतृत्व गरेकी थिईन् । २०५७ सालमा हिमचुली महिला समूहको स्थापना भएको थियो । त्यसपछि २०६३ सालमा उक्त महिला समूहलाई सहकारी संस्थामा रुपान्तरित गर्दै कानुनी रुपमा ‘सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ को रुपमा दर्ता गरिएको थियो । सहकारी दर्ता गर्ने समयमा नाम के राख्ने भनेर छलफल हुँदा आफ्नै ठाउँलाई प्रतिनिधित्व गर्ने नाम उपयुक्त रहेको निष्कर्ष निकाल्दै सिमरा महिला बचत तथा ऋण सहकारी संस्था नाम दिईयो ।
२९ जना शेयर सदस्यबाट सुरु भएको यस सहकारी संस्थामा अहिले एक हजार नौ सय ४२ जना शेयर सदस्य रहेका छन् । प्रति शेयर सदस्यले एक-एक हजार पूँजी लगानी गरी २९ हजारबाट यस सहकारी संस्थाको कारोबार आरम्भ भएको थियो । जुन आज विशाल बनेको छ ।
उन्नतीस हजारको पुँजीबाट सुरु भएको सहकारीले यतिबेला १७ करोडको कारोबार गर्छ । सहकारीको शेयर पूँजी मात्रै एक करोड ६० लाख ८७ हजार ६ सय छ । सहकारीले १२ करोड ६५ लाख ७१ हजार ऋण लगानी गरेको छ । सहकारीको दैनिक बचत संकलन एक लाखसम्म हुने गरेको र अहिलेसम्म संस्थामा ११ करोड ८२ लाख २२ हजार रुपैयाँ जम्मा भईसकेको छ ।

सहकारीको भवन
सञ्चालक समिति
संस्थाको हालसम्म ६ पटक सञ्चालक समिति परिवर्तन भईसकेको छ । जसमध्ये हालसम्म तीन जना संस्थाको अध्यक्ष पदमा रहेर नेतृत्व गरेका छन् । २०६३ देखि २०६६ सम्म पून्यवती कंडेलले नेतृत्व गरिन् । उनी संस्थाको संस्थापक अध्यक्ष हुन् । कंडेलपछि २०६६ सालमा अनिता लम्साल अधिकारीले संस्थाको नेतृत्व गरिन् । २०७८ सम्म १२ वर्ष संस्थाको नेतृत्व गरेकी उनले संस्थालाई स्थापित गर्न सफल भईन । चार कार्यकाल नेतृत्वमा रहेकी अनिताले संस्थालाई विस्तार गर्दै लगिन् । उनिपछि अहिले संस्थाको नेतृत्व मुना खरेलले गरिरहेकी छिन् ।
यस सहकारीमा ११ जनाको संचालक समिति छ । संस्थाले विभिन्न समिति पनि गठन गरेको छ । यस सहकारीमा तीन सदस्यीय लेखा समिति, तीन सदस्यीय ऋण समिति, तीन सदस्यीय शिक्षा समिति र वडा समिति रहेको छ ।

भवन र पूर्वाधार
सहकारीको पहिलो कार्यालय सिमरामा रहेको बिकासशिल युवा क्लबको भवनमा थियो । विकासशिल युवा क्लबसँग समन्वय गरी त्यही भवनमा सहकारीको पनि कार्यालय थपियो । केही वर्षपछि राम मन्दिरमा सारियो । त्यसपश्चात् संस्थाले आफ्नै भवन निर्माण गरेर सेवा प्रवाह गर्दै आएको छ । भवन बनाउन विभिन्न संघसंस्थाका साथै सामाजिक कार्यमा रुचि राखेका व्यक्तिको पनि सहयोग रहेको पूर्वअध्यक्ष लम्सालले जानकारी दिईन् । संस्थालाई महिला बिकासबाट पनि सहयोग प्राप्त भयो । संविधान सभाकी सदस्य मधु साही, पूर्व मधेस प्रदेशसभा सदस्य सिता गुरुङ, शोभा लामा, सुन्दर विश्वकर्माले पनि सहकारीको भवन निर्माणका निम्ति सहयोग गरेका थिए । स्थानीय तहबाट पनि सहयोग प्राप्त भयो । विभिन्न क्षेत्रको अनुदान र सहयोगपछि भवन निर्माण सम्पन्न भएको हो । सहकारीको आफ्नै दुई तले भवन छ । उक्त भवनमा सात जना कर्मचारी कार्यरत छन् ।
सामाजिक योगदान
यस सहकारीले विभिन्न सामाजिक क्षेत्रमा समेत योगदान दिँदै आएको छ । स्तन तथा पाठेघर समस्या सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्ने, पाठेघरको समस्याबाट पीडित रहेको र क्यान्सरको नजिक पुगिसकेका महिलाहरुको उपचारमा सहयोग गर्ने, महिला स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम, विद्यालयमा प्याड तथा टेबल कुर्सी, वितरण, च्याउ खेती, बाख्रापालन, क्रिस्टलका गहना तथा सामग्री बनाउने, मखमलको जुत्ता बनाउने लगायतका उत्पादनमुखी सिपमूलक तालिमको आयोजना गर्दै आएको छ । महिलालाई स्वरोजगार बनाउने, उत्पादन गरेको सामग्री बजारीकरण, रक्तदान, आत्मरक्षा तालिम, कोरोनाको समयमा प्रहरीलाई पौष्टिक आहार वितरण, अस्पतालमा ब्लान्केट वितरण जस्ता थुप्रै सामाजिक कार्यमा सहकारीले योगदान गरेको छ ।

बाटेको धुपबत्ती बनाउने तालिम
ऋणका प्रकार तथा ब्याजदर
सहकारीले १४ प्रतिशतदेखि १५.७५ प्रतिशत ब्याजदरमा विभिन्न ६ किसिमको कर्जा सेवा दिँदै आएको छ । सहकारीले अहिले वैदेशिक रोजगार कर्जा, स्वास्थ्य उपचार कर्जा, आकस्मिक कर्जा, कृषि कर्जा, घरायसी कर्जा, शैक्षिक कर्जा जस्ता शिर्षकहरुमा ऋण लगानी गर्दै आएको छ ।
बचत प्रकार तथा ब्याज
सहकारीले बचततर्फ ९ प्रतिशतदेखि देखि ११ प्रतिशतसम्म ब्याजदर कायम गरी तीर्थ, सुरक्षित भविष्य, मासिक, ऐच्छिक, क्रमिक, आवधिक, गहना र बाल बचत जस्ता बचत सेवा संचालन गरिरहेको छ ।
सहकारीको महिला सदस्यका लागि सुविधा
आफ्नो महिला सदस्यका लागि पनि सहकारीले विभिन्न शिर्षकका सेवा सुविधा उपलब्ध गराएको छ । महिला पोषण कार्यक्रम अन्तर्गत सहकारीका महिला सदस्यलाई सुत्केरीहुँदा एक हजार पाँच सय आर्थिक सहयोग र नवजात शिशुका लागि एक सय रुपैयाँको बाल बचत सञ्चालन गर्ने गरेको छ । महिला सदस्यको मृत्युहुँदा राहत कोषबाट पाँच हजार एक सय श्रीमानको मृत्यु १० हजार एक सय रकम उपलब्ध गराउँदै आएको छ ।

वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार